देउवाका दुश्मन आफ्नै गुटभित्र

sherbahadur deuba

 काठमाडौं । राष्ट्रिय जागरण अभियानले नेपाली कांग्रेसका कार्यकर्तामा उत्साह र उर्जा भरिएका बेला केन्द्रमा भने ठूला नेताहरूले फेरि भाँडभैलो मच्चाउन थालेका छन् ।

 कम्युनिस्ट सरकारको अधिनायकवादसँग लड्न एकजुट हुनुपर्ने भन्दै केही नेताहरू हावी हुन थालेका छन् । भावी महाधिवेशनमा आफ्नो व्यक्तिगत स्वार्थलाई लिएर नेताहरुले चिन्ता जनाउन थालेका छन् । यसरी चिन्ता जनाउनेमा पहिलो नम्बरमा डा.शेखर कोइराला छन् भने त्यसपछि कृष्णप्रसाद सिटौला र गगन थापाहरू रहेका छन् ।

 डा.शेखरले जागरण अभियानकै बेला महाधिवेशनको माग गरेका थिए । उनीमाथि पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध घृणा फैलाउने कार्य गरेको आरोप लागेको छ ।
नेता सिटौला र थापाहरूको समूहपनि देउवाको विरोध गर्नेमा परेको छ । सिटौला र थापाले सोमबार काठमाडौंमा भेला नै गरेर महाधिवेशनको माग गरे ।

 उनीहरू कांग्रेस नेतृत्वविरुद्ध घृणा फैलाएर आफ्नो पक्षमा माहोल बनाउने अभियानमा लागेका छन् । तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौलाले देउवाले पार्टी बिगारेको आरोप लगाउँदै आएका छन् । सिटौला मात्रै होइनन् गगन थापा पनि देउवालाई गाली गर्न पछाडि पर्दैनन् । उनीहरूले कांग्रेस विग्रिनुमा आफूहरूको पनि भूमिका छ भन्ने कुरा भुलेका छन् ।

 गुटको भेला गर्ने सिटौला समूहकै भोटले देउवाले १३औँ महधिवेशनमा सभापतिमा जित हासिल गरेका थिए । त्यस बेला व्यक्तिगत मागहरू पूरा भएपछि सिटौला समूहले देउवालाई सहयोग गरेको थियो । अब पनि सिटौला समूहले बार्गेनिङ शुरु गरेको छ । सिटौलाले गगन थापालाई १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनाउने संकेत गरेका छन् । सिटौला आफूलाई यस पटक सभापतिमा उम्मेदवार नबनाई प्रधानमन्त्री वा संसदिय दलको नेताका रुपमा प्रस्तुत गर्ने योजनामा छन् ।

 नेपाली कांग्रेसभित्र डा.शेखर कोइराला र गगन थापाभन्दा धेरै वरिष्ठ नेताहरू छन् । उनीहरूलाई ठाउँ नदिने हो भने कांग्रेसभित्र झन् तनावपूर्ण अवस्था आउने देखिन्छ । अहिलेदेखि नै आफू कुन पदमा सुरक्षित हुन्छु भनेर नेताहरू सलबलाउनु स्वभाविक भएपनि पार्टीलाई नै असर गर्ने गरेर अभियान चलाउनु भने राम्रो नभएको नेताहरूको भनाइ छ ।

 सभापति देउवालाई उनकी पत्नी आरजु राणा, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा.प्रकाश शरण महत, मीनबहादुर विश्वकर्मासहितको समूहले गलत सुझाव दिँदा समस्या हुँदै आएको छ । देउवाले पार्टीलाई मिलाउन खोजेपनि यो समूहले मिल्न दिँदैन ।

 पार्टीभित्र देउवालाई सबैभन्दा समस्या पार्नेमा सहमहामन्त्री डा.प्रकाशशरण महत नै छन् । डा.महतले नेता तथा कार्यकर्तासँग कसरी प्रस्तुत हुने भन्ने शैली नै छैन भनेर आलोचना हुने गरेको छ । सांसद भइसकेको व्यक्तिलाई समेत डा.महतले ‘तिमी’ भनेर सम्बोधन गर्ने गरेका छन् । उनले कांग्रेसका सिनियर नेताहरूलाई अपमान गर्ने गरी व्यवहार गर्दै आएको नेताहरूको भनाइ छ । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित