एआइजी, डिआइजी र एसएसपीहरुको पदस्थापन : मेट्रो वानमा चन्द, सिआइबीमा कार्की

काठमाडौँ । गृह मन्त्रालयले हालै बढुवा भएका ११ एआइजी,  १५ डिआइजी र  २५ जना एसएसपीहरुको पदस्थापन गरेको छ । एआइजी बमबहादुर भण्डारीलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ भने सरकारले आइजीपी नियुक्त गरे पनि सर्वोच्चको आदेशबाट बदर भएका जयबहादुर चन्दलाई हाल भण्डारी प्रमुख रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको छ।

 सात एआइजीलाई सात प्रदेशमा प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ। प्रदेशमा पदस्थापन हुनेहरुमा पशुपति उपाध्याय प्रदेश नम्बर एकमा, विजयलाल कायस्थ प्रदेश नम्बर दुईमा, केशरीराज घिमिरे प्रदेश नम्बर तीनमा, कमलसिंह बम प्रदेश नम्बर चारमा, मिङमार लामा प्रदेश नम्बर पाँचमा, रणबहादुर चन्द प्रदेश नम्बर ६ मा र विजयकुमार भट्ट प्रदेश नम्बरमा ७ मा छन् ।

 एआइजी माधवप्रसाद जोशी हेडक्वार्टरको प्रशासन विभागमा लगिएको छ। डिआइजी नवराज सिलवालको सुरक्षा परिषदमा सरुवा गरिएको छ । त्यस्तै साउन ३२ गते बढुवा भएका १५ डिआइजीहरुको पनि  पदस्थापनभएको छ । एक नम्बरमा बढुवा भएका सर्वेन्द्र खनाल महानगरी ट्राफिक प्रहरी महाशाखामा, दोस्रो नम्बरमा रहेका रमेश खरेललाई हेडक्वार्टरको सुरक्षा सेवा निर्देशनालयमा राखिएको छ।  सिआइबीमा पुष्कर कार्की आएका छन्। छविलाल जोशीलाई महानगरीय प्रहरी परिसरबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान लगिएको छ भने ठूले राई लागू औषध नियन्त्रण ब्युरोमा आएका छन्।

 अन्य डिअाईजीहरुलाई प्रदेशमा खटाइएको छ । संघीय प्रहरी ऐन बिना   र तयारी नै नगरी प्रदेशमा एआईजी र डिआइजीलाई खटाइएको छ । जसले प्रहरीमा धेरै समस्या उत्पन्न हुने खतरा बढेको छ ।

अर्कोतिर एसएसपी रविन्द्रबहादुर धानुक काठमाडौँका नयाँ प्रहरी प्रमुख बनेका छन्।  गृहमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा दुवैका विश्वास पात्रसमेत हुन् धानुक।   महानगरीय अपराध महाशाखामा दिवेश लोहनीको पदस्थापन भएको छ। त्यस्तै ललितपुर प्रहरी प्रमुखमा गणेशबहादुर ऐरको पदस्थापन भएको छ। नयाँ दिल्लीस्थित राजदूतावासमा पुरुषोत्तम कँडेललाई पठाइएको छ। एसएसपी विश्वराज पोखरेलको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ।  प्रद्युम्न कार्कीको युक्ति तालिम महाविद्यालय नवलपरासी, हरि पालको संघीय प्रहरी कोशीमा पदस्थापन भएको छ। प्रकाशजंग कार्कीको कल्याण शाखा,इश्वरबाबु कार्कीको तालिम केन्द्र विराटनगरमा सरुवा भएको छ।

प्रतिक्रिया

सम्बन्धित