पत्रकार महासंघको महाधिवेशन सुरु, कसले मार्ला बाजी ?

काठमाडौं : पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु भएको छ । ‘व्यवसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनमा भाग लिनका लागि जिल्ला–जिल्लाबाट आएका पत्रकार अहिले महाधिवेशन स्थलमा प्रज्ञा प्रतिष्ठानमा भेला भएका छन् । महाधिवेशन ४ गतेदेखि ६ गतेसम्म चल्नेछ । करिब १० हजार पत्रकार आवद्ध रहेको महासंघको महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । यिनै प्रतिनिधिहरुले मतदान गरेर नयाँ नेतृत्व छान्ने छन् ।नयाँ नेतृत्वका लागि प्रत्येक ३ वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पहिलोपटक संघीय संरचनाअनुसार नेतृत्व चयन गर्न लागेको महासंले महाधिवेशनमार्फत अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । त्यसैगरी, सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसिएटमा समेत नयाँ नेतृत्व आउनेछ । नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य खडा भएका छन् भने एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ । प्रेस चौतारीलाई नयाँ शक्तिलगायत साना संगठनको समर्थन रहेको छ । यसैबीच अध्यक्षका प्रत्यासी तीनै जना उम्मेदवारले एउटै मन्चबाट आफ्नो उम्मेदवारीको औचित्यमाथि बहस गरेका थिए । अनलाइन पत्रकार संघले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्षका प्रत्यासीहरुले सदस्यता शुद्धीकरण, महासंघको निर्वाचन प्रणाली र एसोसिएट संस्थाहरुसँगको सम्बन्ध लगायतका विषयमा आआफ्नो धारणा सार्बजनिक गरेका हुन् ।अध्यक्षका प्रत्यासी तीर्थ कोइरालाले पत्रकारलाई पत्रकारिताबाटै जिविकोपार्जन हुन सक्ने वातावरण बनाए महासंघको सदस्यता शुद्धीकरण प्रभावकारी हुन सक्ने धारणा राखे । यसको लागि महासंघले पत्रकारको क्षमता बढाउन पहल गर्नुपर्ने कोइरालाको भनाइ छ ।

अर्का प्रत्यासी गोविन्द आचार्यले महासंघको सदस्य शुद्धीकरणको लागि प्रत्येक्ष निर्वाचन प्रणालीमा जानुपर्ने विकल्प सुझाए । महासंघको नयाँ सदस्यता दिदा वा पुरानो सदस्यता नविकरणको लागि सार्बजनिक सुनुवाइ गरेर सो ब्यक्ति अहिले पत्रकारितामा छ छैन भन्ने यकिन गर्ने अर्को विकल्पमा जान सकिने पनि उनको भनाइ छ । त्यसैगरी अध्यक्ष पदका अर्का प्रत्यासी उजिर मगरले महासंघमा आफू जानुको पहिलो उद्देश्य सदस्यता शुद्धीकरण नै भएपछि त्यही काम गर्न नसकिएको बताए । आफूले महासंघको महासचिबको रुपमा अन्य काममा सफलता पाए पनि सदस्यता शुद्धीकरणमा आफू २० प्रतिशत मात्रै सफल भएको मगरको भनाइ छ । निर्वाचनको बेलामा आएर सदस्यता शुद्धीकरणको कुरा उठाउनका लागि मात्रै उठाइएको मगरको भनाइ छ । त्यस्तै अध्यक्ष पदका तीनै जना प्रत्यासीले महासंघमा राजनीति हाबी भएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित