कुनै पनि हालतमा क्लिन फिड लागु हुन्छ : सञ्चारमन्त्री

gokul baskota

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् ।

चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सरकारका प्रवत्ता समेत रहेका मन्त्री बास्कोटाले आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने निर्णय मात्र भएको बताएका हुन् ।

उनले भने–‘आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’

कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले बालाजुमा चलचित्र विकास कम्पनीको नाममा रहेको २७ रोपनी जग्गाको बारेमा सोधीखोजी गरेका थिए ।

मन्त्री बास्कोटाले भने–‘बालाजुको जग्गा खोई ? जग्गा खानेलाई पानीमुनि गए पनि छाड्दिनँ । चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले दिएको जग्गा व्यक्तिले मोजमस्ती गरेर उडाउने, अनि मन्त्री बोल्दा तानाशाही भयो भन्न पाइन्छ ?’

त्यसैगरी मन्त्री बास्कोटाले विदेशी टेलिभिजन च्यानलहरुमा क्लिन फिड जसरी पनि लागू हुने दावी गरेका छन् । मन्त्री बास्कोटाले भने–‘यो कुरा मेरो दिमागमा पहिले नै आएको थियो । सरकार क्लिन फिडको विषयमा स्पष्ट छ । हामीसँग ब्याक गियर भन्ने नै छैन, क्लिन फिड जसरी पनि लागू हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित