सरकारका काम कारबाहीप्रति नेपालको यस्तो आक्रोश, सांसदहरु पनि रुष्ट

madhav ku nepal

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारबाही अलोकप्रिय बन्दै गएको बताएका छन्।

नेकपाका केही नेता तथा सांसदहरुले सरकार र पार्टीको आलोचना गरिरहेका बेला नेता नेपालले पनि सरकारको आलोचना गरेका हुन् । पूर्व सांसद मञ्च नेपालको १९ औं साधारण सभालाई मंगलबार काठमाडांैमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पूर्वाधारबिनाका योजना घोषणा, मनपरी नियुक्ति, अवकासलगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए ।

उनले भने–‘न्यूनतम पूर्वाधारबिनानै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या सिर्जना भएको हो । व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त होइन । परिवर्तनको आवश्यकता छ।’

उनले नेतृत्वले सधैँ विचारमा रहेको विविधतालाई सकारात्मकरूपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुन सक्नुपर्ने बताए।

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरूको सन्दर्भमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानिको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा राखे।

यता, नेकपाका सांसदले सरकार र पार्टीका काम प्रभावकारी रूपमा सञ्चालन नगरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् ।

नेतृत्व एकलौटी ढंगले चल्न खोजेको र पार्टीभित्र अन्तर्क्रिया नगरी मनलाग्दी काम गर्दै हिँडेको सांसदहरूको भनाइ थियो ।

सोमबार बोलाइएको संसदीय दलको बैठकमा अधिकांशले सरकारका कामप्रति असन्तुष्टि र पार्टीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए ।

सरकार र पार्टीको कार्यशैलीका कारण जनविश्वास घट्दै गएको भन्दै उनीहरूले बजेट छुट्याउने विषयमा मन्त्रीले एकलौटी गरेको पनि आरोप लगाए ।

स्थायी समिति सदस्यद्धय घनश्याम भुसाल र भीम रावलले सरकारले एकपछि अर्को गलत निर्णय गरिरहेको भन्दै आलोचना गरे का थिए ।

त्यसैगरी अर्का स्थायी समिति सदस्य जनार्दन शर्मा, सांसद रामकुमारी झाँक्री, खगराज अधिकारी, पदम गिरी, अन्जना विशंखेलगायतले सरकार र पार्टीको आलोचना गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित