पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस मोबाइल एप शुरु, सभ्यताको विकास हुने डिआईजी क्षेत्रीको विश्वाश

sabhyataa

 काठमाडौं। आजबाट महानगरीय पर्यटन सूचना केन्द्र ठमेल र टुरिष्ट पुलिस मोबाइल एप शुरु भएको छ  । पर्यटन विभाग भृकुटीमण्डपका महानिर्देशक ढुण्डीराज घिमिरेले महानगरीय पर्यटन सूचना केन्द्र, ठमेलको उद्‍घाटन गर्दै सो केन्द्र निर्माण हुनु प्रशंसनीय कार्य भएको वताए ।

 महानिर्देशक ढुण्डीराज घिमिरेले नेपाल प्रहरीले लागू गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम उपयोगी रहेको उल्लेख गरे ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले टुरिष्ट पुलिस मोबाइल एपको उदघाटन गर्दै जनचेतनाको स्तर औधी राम्रो भएको ठमेल क्षेत्रलाई अब प्रविधि मार्फत सुरक्षा प्रदान गरी उदाहरणीय कामको सुरुवात गर्नुपर्ने वताए । सर्वत्र प्रहरी नै उपस्थित भएर सेवा प्रदान गर्ने भन्दा पनि प्रविधिको प्रयोग गरेर सेवा दिन सके सभ्यताको विकास हुने उनले वताए ।

 साथै ठमेल क्षेत्रलाई पर्यटकमैत्री बनाउन प्रहरीकोतर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । 

सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष खेमराज तिवारी, ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोल र योंग माइन्ड नेपालका प्रबन्ध निर्देशक डा. अविजित गुप्ताले समेत उक्त सूचना केन्द्र र मोबाइल एपको महत्वबारे प्रकाश परेका थिए ।  

 कार्यक्रममा पर्यटक प्रहरी ईकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले सूचना केन्द्र र मोबाइल एप सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको टुरिष्ट पुलिस मोबाइल एप पर्यटन सम्बन्धी जानकारी एवं पर्यटकहरुको गुनासो तथा समस्यालाई सहज ढंगले सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको र उक्त एप एन्ड्रोएड मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने उक्त अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया

सम्बन्धित