थापालाई हटाएर चन्दलाई अध्यक्ष बनाउन राप्रपाभित्र दवाव

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको आन्तरिक विवाद मिलाउनका लागि मध्यमार्गी नेताहरूले बीचको बाटो खोजेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक हेटौँडामा चलिरहेका बेला पार्टीलाई बचाउन नयाँ बिल्पका साथ अगाडि बढ्नु पर्ने सुझाव आएको हो । राप्रपाका केही युवा नेताहरूले राप्रपाको अध्यक्षमा लोकेन्द्रबहादुर चन्दलाई बनाएर पशुपति शम्शेर राणा समूहलाई पार्टीमा बस्ने वातावरण बनाउन सुझाव दिएका हुन् ।

नाम उल्लेख नगर्ने सर्तमा राप्रपाका एक युवा केन्द्रीय सदस्यले विभाजन भएर गएको राणा समूह फिर्ता आउँछ भने लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाएर अगाडि बढ्न पार्टी नेतृत्व तयार हुनुपर्ने बताए । ‘कमल थापाज्यूको नेतृत्व र कार्यशैलीको पार्टीमा धेरैलाई मन परेको छैन’, ती केन्द्रीय सदस्यले भने, ‘कुरा मिल्छ भने राणा समूहलाई मिलाउनका लागि चन्दज्यूलाई अध्यक्ष बनाउन मेरो प्रस्ताव छ ।’

तर, थापा समूह यो प्रस्ताव मान्न तयार छैन । राणा समूह पनि थापा समूहसँग तत्काल मिलेर जाने मनस्थितिमा छैन । वरिष्ठ नेता चन्द हेटौँडाको केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित छन् ।

विश्वबन्धु थापा, बालाराम घर्ती मगर, शरदसिंह भण्डारी जस्ता राप्रपाका प्रभावशाली नेताहरू पनि बीचको बाटो खोजेर जानपर्ने मध्यमार्गी बाटोमा रहेको बताउनेहरू पनि छन् । तर, अध्यक्ष थापाले मध्यमार्गी बाटो अपनाउने पक्षमा अनिच्छा जनाएको आरोप राणा समूहको छ । 

प्रतिक्रिया

सम्बन्धित