उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपति भण्डारीको आग्रह

biidhya bhandari

   काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गरेकी छन् । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्दै राष्ट्रपति भण्डारीले नेपाल राष्ट्र बैंकले जनताद्धारा संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकास र सुशासनमा थप योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरिन् ।

सरकारले अघि सारेका विकास र सुशासनका एजेन्डालाई नेपाल राष्ट्र बैंकले कार्यान्वयन गर्नुपर्ने बताएकी छन् । राष्ट्र बैंक स्वायत्त भए पनि सरकारले अघि सारेका विषयलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले बैंक तथा वित्तीय संस्थाले आमजनताबाट संकलन गरेको बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गरी मुलुकमा रहेको मानवीय साधन र प्राकृतिक स्रोतलाई व्यवसाय प्रवर्धन गर्न राष्ट्र बैंकको भूमिका उल्लेख्य हुने बताइन् ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई जनताप्रति उत्तरदायी बनाउने गरी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । देशको आर्थिक विकासका लागि कृषि, उर्जा र पर्यटन क्षेत्रमा लगानी बढाइएको पनि उनले बताए ।

बालुवाटारमा २ अर्ब ८ करोड रुपैयाँको लगानीमा राष्ट्र बैंकको नयाँ भवन बन्ने भएको हो । २०७२ सालको भूकम्पका कारण राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा क्षति पुगेको थियो ।
साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको त्यो भवन २०७८ साल भदौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यस भवनको निर्माण कम्पनी भने सिके समानान्तर जेभी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित