कुनै पनि हालतमा सार्वजनिक जग्गा फिर्ता गराएर भू–माफियालाई कानुनी कठघरामा उभ्याइन्छ : सांसद बस्नेत

changunarayan

  भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता महेश बस्नेतले भक्तपुरमा भू–माफियाले अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमवार चाँगुनारायण नगरपालिकाको पाँचौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बस्नेतले भू–माफियालाई कानुनी दायरामा ल्याउन जनताको साथ र सहयोगको खाँचो रहेको पनि औंल्याए ।

पूर्व उद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले बोडेको कमलपोखरी तथा दक्षिण बाराहीको २२ रोपनी जग्गालाई जनता र न्यायालयकै सहयोगमा व्यक्तिको नामबाट सार्वजनिक नै बनाउन सफल भएको बताए ।

उनले भने–‘विगतमा राज्यको स्रोत साथनलाई दुरुपयोग गरी हनुमन्ते नदीको करिव ६४ रोपनी र मनोहरा नदीको करिव ५४ रोपनी जग्गा, स्वरस्वतीखेलको बसपार्क क्षेत्रको जग्गा व्यक्तिको नाममा गएको देखिएको छ । जसलाई इमान्दारीताका साथ फिर्ता गर्नुपर्छ । होइन भने राज्यले बल प्रयोग गरेर भएपनी सार्वजनिक बनाएरै छाड्छ ।’

भक्तपुरको विकास प्रचारमूखी नभई परिणाममुखी भएको पनि उनले बताए ।

उपत्यका विकास प्राधिकरणले भक्तपुरमा यस वर्ष ४१ करोड बजेट विनियोजन गरेको जानकारी गराउँदै सांसद बस्नेतले जसमध्ये ३० करोड नियमित बजेट र बाँकी ११ करोड काठमाडौँ तथा ललितपुरमा काम हुन नसकेको बजेट भक्तपुरमा आएको बताए ।

भक्तपुरमा भौतिक मन्त्रालयको तर्फकाट मात्र २९ वटा सडकहरु, सहरी विकास मन्त्रालयबाट १६ वटा सडकहरु रेडबुकमा पार्न सफल भएको पनि बताए ।

उनले भने–‘खानेपानीमा अघिल्लो वर्ष भक्तपुरमा ८ वटा योजनाहरु मात्र समावेश भएको थियो । यो वर्ष ६१ वटा योजनाहरु समावेश भएका छन् । जसमा चाँगुनारायण नगरपालिकामा मात्रै १७ वटा रहेका छन् ।’

मनोहरा खोलामा दुईवटा ठूला पुलहरु बन्ने प्रकृयामा रहेको जानकारी गराउँदै उनले पर्यटकीय क्षेत्र, पार्क, पोखरीलगायतका निर्माण गर्ने कार्यमा संघिय सरकारको तर्फबाट आवश्यक सहयोग तथा बजेटको व्यवस्थापन गर्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा चागुनारायण नगरपालिकाका प्रमुख शोमप्रसाद मिश्रले नगरपालिकाको बजेट प्रस्तुत गर्दै नगरपालिकाको भावि योजनाहरुका बारेमा पनि जानकारी गराएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित