दुई दिनदेखिको अविरल बर्षाका कारण जनजीवन प्रभावित, यस्तो छ देशभरको अवस्था

parkhal

  काठमाडौं । हिजोदेखिको अविरल वर्षाका कारण बाढिले बगाउँदा एक जनाको मृत्यु भएको छ भने देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध हुँदा कयौं यात्रुहरु विचल्लीमा परेका छन् ।

वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। गृह मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रका अनुसार चारवटा राजमार्ग अहिलेसम्म बन्द भएका छन्।

काभ्रेको रोशी गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको छ। गाउँपालिकाको वडा नम्बर ११ को कालढुङ्गामा र वडा नम्बर ७ मा रोशी खोलाको पुल नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

अविरल वर्षाका कारण राजधानीबाट काभ्रेको कोशीपारी जाने सवारी साधन नै छुटेनन् । जसका कारण एका विहानै सयौं यात्रु पुरानो बसपार्कमा अलपत्र परेका थिए ।

यस्तै बुटवलबाट पाल्पा जाने बाटो पनि बन्द भएको छ। लमजुङ हुँदै मनाङ जाने बाटो पनि वर्षापछिको पहिरोका कारण बन्द भएको छ।

गए रातिदेखि परेको बर्षाको कारण कैलाली भजनी नगरपालिका ५ मा रहेको कान्द्रा नदी बढ्न गई जोखिमको सम्भावना रहेकोले यस क्षेत्रमा बसोबास गर्ने १४ घर परिवारका ३५ जनालाई घरमा रहेको अति आवश्यक सामग्रीहरु सहित हुलाकी राजमार्गको सुरक्षित स्थानमा सारिएको छ।

त्यस्तै, बिराटनगर महानगरपालिका ८ स्थित सिंगिया खोलामा बाढी आई खोलाको डिलमा बसोबास गर्ने डुम समुदायको सुकुमबासी बस्तीमा घर आँगनमा पानी पसेको छ।

बुढीगंगा गाउँपालिका ७ डंग्राहा स्थित खदाम खोलाको किनारमा बसोबास गर्ने उराउ र सरदार समुहका १३ परिवारको घरमा पानी पसी बस्न नसक्ने भएकोले १३ घर परिवारका मानिसहरु नजिकै रहेको श्री प्रगतिशिल विद्यालयको पुरानो भवनमा गई बसेका छन्।

सुन्दरहरैचा नगरपालिका १ लक्ष्मीपुरस्थित दुईवटा घरको भुइँतलामा आकाशे पानी पसी बस्न नसक्ने भएकोले छिमेकीको घरमा बसेका छन्।

यता धनकुटामा पनि बर्षाको कारण पाख्रिबास नगरपालिका ७ मा पर्ने माङमाया खहरे खोल्सामा आएको बाढीले धनकुटा–भोजपुर सडक अबरुद्ध भएको छ।

बर्षाको कारण चौबिसे गाउँपालिका २ शुक्रवारे बस्ने ३५ वर्षीय दोर्ण तुम्साको पाली घर पहिरोले बगाउँदा करिब ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठीस्थित खाडो खोलामा बाढी आएर राजविराजबाट भारतको कुनौली जाने सडक खण्ड अवरोध भएको छ।

त्यसैगरी बर्षाको कारण कटारी नगरपालिका १४ स्थित भदौरे खोला, किण्डुक खोला र वनडाँडा खोलामा बाढी आएपछि घुर्मी–कटारी सडक खण्ड अबरोध भएको प्रहरीले जनाएको छ।

रौतामाई गाउँपालिका ५ अँधेरी खोलास्थित गाइघाट–खोटाङ भित्रि सडक खण्डमा पहिरो गएपछि बाटो अवरोध भएको छ।

वर्षाको कारण ललितपुरको महाँकाल गाउँपालिका ३ गोटीखेलस्थित खहरे खोलाले बाटो बगाउँदा मकवानपुर–ठिंगन–चापागाँउ (कान्ति लोकपथ)सडक खण्ड अवरोध भएको छ ।

बाग्मती गाउँपालिका ३ भट्टेडाँडा देविस्थान स्थित बा ४ ख ८६४ नम्बरको गाडी गुडिरहेको अवस्थामा माथिबाट ढुंगा खसी गाडीको पछाडि सवार ३५ वर्षीय दिपक घलेको टाउकोमा चोट लागी घाइते भएकोले स्थानीय स्वास्थ्य चौकी लगि उपचार भइरहेको छ।

duban

यता, बर्षाको कारण भोजपुर रामप्रसाद राई गाउँपालिका–७ बासिखोरा बस्ने ६६ वर्षीय जगतबहादुर राईको फुसको छानो भएको १ तले कच्ची घर अगाडिको पर्खाल भत्किँदा पिंढींमा सुतिरहेका जगतबहादुर राईको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

पाँचथरमा भने घर नै बगाएको छ । मिक्लाजुङ गाउँपालिका ७ लुवाङदिन बस्ने पदमबहादुर तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको १ तले २ कोठे कच्ची घर पहिरोले आधा भाग बगाएकोले निजको परिवारका ५ जना सदस्य आफ्नै गाइगोठमा बसेका छन्।

त्यसैगरी कालिकोटको राष्कोट नगरपालिका १ बस्ने गोरे भण्डारीको २ तले, ४ कोठे टीनले छाएको घरको आँगन भास्सिन गई घर अगाडिको तला माथिको दुईवटा कोठा भत्किएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका २१ लगनस्थित बिना शाक्यको ढुंगा माटोले बनेको कच्ची पुरानो घर भत्किएको छ। सो घरमा मान्छे बस्ने नगरेकोले जनधनको क्षति नभएको प्रहरीले जनाएको छ। यता, सिंहदरबारको पूर्वि गेट नजिक पर्खाल भत्किदा एक जना घाइते भएका छन् ।

रोशी गाउँपालिका ११ माम्त, कालढुंगा, पिप्ले र लाशकोटस्थित बिपी राजमार्गको ४ स्थानमा पहिरो गएपछि बाटो अवरोध भएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटस्थित जस्ता र फलामले बनेको प्रभाग नगरकोटको ट्रष्ट हावाहुरीले उडाएको साथै कार्यालय प्रयोजनको लागि रहेको कम्प्युटरमा क्षति पुगेको छ। कार्यालयको कागजपत्रहरू भिजेकोले सामान सोही प्रभागको अर्को भवनमा सारिएको प्रहरीले जनाएको छ।

त्यसैगरी अविरल वर्षाको कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले-लेगुवा-भोजपुर सडकमा यातायात अवरुद्ध भएको छ । धनकुटाको पाख्रिबासदेखि लेगुवा खण्डमा पर्ने माङ्माया खोलामा पुल भन्दा माथिबाट बाढी आएपछि यातायात अवरुद्ध भएको हो ।

धनकुटाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। पाख्रिबास नगरपालिका(५ स्थित डिकुरे क्षेत्रमा करिब ५ किलोमिटर सडकमा फसेका सवारीसाधन डोजरको सहायताले उद्धार गरिएको प्रहरीले जनाएको छ।

रामेछाप जिल्ला सदरमुकाम जोड्ने खुर्कोट मन्थली सडक खण्ड पहिरोले बिहानै देखि अवरुद्ध भएको छ । खुर्कोटको सुनकोशी पुल नजिक र मन्थली नगरपालिका ६ कुनौरीमा झरेको पहिरोले यातायात अवरुद्ध भएको छ ।

वर्षा र पहिरो झर्ने क्रम नरोकिएकोले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । त्यसैगरी मन्थली नगरपालिका वडा नम्बर ४ को पाण्डे टोलमा समेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण रौतहटको एक दर्जन बढी गाउँ डुबानमा परेको छ । चुरे क्षेत्रमाभारी वर्षाका कारण पछि पूर्वपश्चिम राजमार्गको लच्कामा पानी जमे पछि शुक्रबार बिहान देखी यातायात अवरुद्ध भएको छ ।

ठूला सवारीलाई समेत आवत जावतमा समस्या भएको छ । साना सबारीलाई प्रहरीले रोकेको छ । बिहान पश्चिम आउँदै गरेको जिप बगाउनबाट जोगीए पछि सानालाई रोकेको हो ।

अबिरल वर्षापछि आएको बाढीले मोरङका विभिन्न स्थामा क्षति पुर्‍याएको छ । बाढीमा बगेर एक युवक बेपत्ता भएका छन् । दाउरा खोज्न खोलामा गएकी एक महिलालाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरी बचाएका छन् ।

 रंगेलीमा गेउरिया खोलाले डाईभर्सन बगाएपछि सवारी आउजाउ बन्द भएको छ । मोटरसाइकलमा सवार एक युवक उक्त स्थानमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ । अन्दाजी ३० वर्षका उनको पहिचान खुलेको छैन । विराटनगर महानगरपालिका वडा १, २ मा सिंगिया खोला आसपासका जोखिममा परेका सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

चन्द्रपुर नगरपालीका २ स्थित लच्कामा पानी जमे पछि यातायात अवरुद्ध बनेको हो । बगाउने खतरा बढेपछि कार, जिप, मोटरसाइकल लगायतका साना सवारीलाई रोकेको ईलाका प्रहरीका डिएसपी कवित कटुवालले जनाए ।

यसैबीच मोरङको उर्लाबारी र दमकबीच बग्ने मावा खोलामा आएको बाढीमा बगेकी एक महिलालाई प्रहरीले उद्धार गरी बचाएको छ । बाढीमा बगेर आएको दाउरा खोज्ने क्रममा बगेकी स्थानीय ४६ वर्षीीया सुमित्रामाया कुमाललाई स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी बचाइएको प्रहरीले जनाएको छ ।

दुईतिर बाटो बन्द भएपछि उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुईदिनदेखि अलपत्र परेका छन् । मानेभन्ज्याङ गाउँपालिका(६ मा पर्ने भाडारे खोलाको बाढीले सयौं सवारी रोकिएका छन् ।

त्यसैगरी उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीको कारण काठमाडौं तर्फ आउने सवारी सबै घुर्मी बजारमै रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित