समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप नेपाल स्काउटसँग सँगसँगै अगाडि बढ्न सकिन्छ : आईजीपी खनाल

igp khanal_1

  काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने बताएका छन् ।

समुदाय–प्रहरी साझेदारी अन्तर्गत प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी र नेपाल स्काउटवीच अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी खनालले नेपाल प्रहरीले विगतमा गरेका विभिन्न समुदाय लक्षित कार्यक्रमहरु भन्दा अलि फरक रुपमा समुदाय–प्रहरी साझेदारीको अवधारणा अनुरुप १२ वटा प्राथमिकताका बुँदाहरु तय गरी कार्यक्रम सञ्चालन गरिएको पनि जानकारी गराए ।

आईजीपी खनालले सांगठनिक परिचय, विद्यमान चुनौतीहरू, संस्थागत सुधारका प्रयासहरू, समुदाय–प्रहरी साझेदारी, संस्थागत साझेदारीका सम्भाव्यताहरूलगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै आईजीपी खनालले भने–‘नेपाल सरकारले सुम्पेको जिम्मेवारी तथा दायित्व राष्ट्रको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्नेतर्फ नेपाल प्रहरीले लगावका साथ कार्य गरिरहेको छ ।’

उनले विभिन्न मन्त्रालय, विभाग, समाजिक संघसंस्था लगायतसँग पनि सहकार्य गर्दै जानुपर्ने आवश्यकता अनुरुप ठूलो समुदायलाई समेटेर जानका लागि समुदाय–प्रहरी साझेदारी अवधारण शुरु गरिएको पनि जानकारी गराए ।

राज्यको अग्रपंक्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षालगायत रहेको भन्दै आईजीपी खनालले भने–‘यसका साथै वन, राजश्व, वनयजन्तुको तस्करी रोक्ने एवं विपद् उद्दार देखि समाजमा आइपर्ने विभिन्न किसिमका अश्लिल गैरसामाजिक क्रियाकलाप नियन्त्रणमा समाजसँग मिलेर जानुपर्छ र जान्छौ ।’

आईजीपी खनालले भने–‘नेपाल प्रहरी हामी सबैको प्रहरी हो, यसले के गरिराखेको छ, आफ्नो दायित्व निर्वाह गरिरहेको छ कि छैन र गर्दाखेरि कस्तो किसिमले गरिरहेको छ । नेपाल प्रहरीलाई समुदायले कस्तो खालको सहयोग गर्दा अझ बढी समाज सुरक्षित हुन्छ, हामी सबैको दैनिक क्रियाकलाप राम्रोसँग चल्छ र राष्ट्र संवृद्धितर्फ अगाडि बढाउन सकिन्छ भन्ने विविध बिषय सो अवधारणामा समेटिएको छ ।’

sarbendra khanal

प्रहरीले सोही अवधारणा अन्तर्गत नेपाल स्काउट समिति गठन गरी विभिन्न बिषयमा साझेदारी गरी अगाडि बढ्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै आईजीपी खनालले नेपाल प्रहरी र स्काउटको संयुक्त साझेदारीमा विगतको भन्दा अझ बढी क्रियाशील भएर कार्य सम्पादन गर्ने उद्देश्य रहेको बताए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, नेपाल स्काउटका पूर्व आयुक्त, पदाधिकारी तथा प्रतिनिधिहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित