राजस्वमा अकूत सम्पत्तिवाला सहसचिवको नालीबेली, पनेरुलाई अख्तियारकै संरक्षण

kedar paneru and nirmal hari adhikari

 काठमाडौं । राजस्व समूहका कर संकलन गर्ने कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाइरहेको छ । तर, राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्ने सहसचिव केदारु पनेरुमाथि अख्तियारले छानबिन गरेको छैन ।

 अर्थ मन्त्रालयको राजस्व समूहमा बसेर भरत सुवेदीपछि सबैभन्दा बढी भ्रष्टाचार गर्ने केदार पनेरु हुन् । तर, अख्तियारले उनलाई छानबिनको दायरामा ल्याएको छैन । केदार पनेरु एयरपोर्ट भन्सार, राजस्व अनुसन्धान विभाग हुँदै रसुवा भन्सारको ३ बर्ष प्रमुख हुँदा उनले भन्सारछली गरी ब्यापारीबाट करोडौं रुपैयाँ आर्जन गरेका थिए ।

 एडिडासका जुत्तादेखि विभिन्न ब्रान्डेड सामान चीनबाट ल्याउने ब्यापारीले भन्सार प्रमुख पनेरुसँग सेटिङ गरी न्यून बिजकीकरण गरी सामान भित्र्याउने गरेका थिए । ब्रान्डेड सामान ल्याउने तर कम मूल्यको लेखेर भन्सार तिर्ने ब्यापारीहरुसँग पनेरुले एक ट्रक बराबर दसौं लाख घुस लिने गरेका थिए ।

 रसुवा भन्सारको प्रमुख हुँदा उनले नक्कली कस्मेटिकका कारोबारीहरुसँग सेटिङ गरी एक कन्टेनर बराबर ३० लाख रुपैयाँ घुस लिने गरेका थिए । चर्चित कस्मेटिक ब्रान्ड युनिलिभर, ल्याक्मे, निभिया जस्ता ब्रान्डका नक्कली सामान चीनमा उत्पादन गरी नेपालमा भित्रने गरेका थिए । युनिलिभरको कार्टुनमै चीनबाट नक्कली सामान भित्र्याउनेहरुको सेटिङ भन्सार प्रमुख पनेरुसँग थियो । मासिक १० अर्ब भन्दा बढी मूल्यको कष्मेटिक भित्रने गरेका थियो ।

 पनेरुले न्यून बिजकीकरण गर्नेदेखि नक्कली कष्मेटिकका सामानबाट करोडौं घुस असुली गरे । त्यतिले मात्र नपुगी उनले रसुवा भन्सार नजिक प्रहरीका लागि २ वटा छाप्रा बनाएर १ करोड २० लाखको बिल पेश गरी भ्रष्टाचार गरेका छन् । जम्मा ३१ लाख खर्च भएको टहराको बिल उनले १ करोड २० लाखको बनाएर ८९ लाख भ्रष्टाचार गरेका छन् ।

 रसुवा भन्सार कार्यालयको भवनको छानामा जस्ता हालेको ६८ लाख बिल भौचर पेश गरी भुक्तानी लिएका थिए । कार्यालयमा जस्ता हालेको २१ लाख खर्चमात्र खर्च भएको थियो । यसरी जस्ताको टहरा बनाउँदै उनले १ करोडभन्दा बढी भ्रष्टाचार गरेका छन् । पत्याउनै नसकिने रकम खर्च गरी टहरा बनाएको बारेमा महालेखा परीक्षकको कार्यालयको टोलीले गरेको लेखापरीक्षणमा बेरुजु निकाल्ने तयारी भएको थियो ।

 बेरुजु निकाल्ने भएको सूचना पाएपछि पनेरुले महालेखा परीक्षक टंकमणि शर्मालाई पनि भेटी चढाएर बेरुजु निकाल्नबाट रोकेको स्रोतले बताएको छ । राजस्व अनुसन्धान विभागदेखि रसुवा भन्सारको प्रमुख हुँदासम्म उनले आर्जन गरेको अकूत सम्पत्ति ससुराली खलकका विभिन्न ब्यक्तिका नाममा लुकाएका छन् ।

 केही मारवाडी ब्यापारीलाई पनि पनेरुले लगानी गरेका छन् । एयरपोर्ट भन्सारमा भन्सार अधिकृत हुँदा पनेरु तीनकुनेस्थित ससुरालीमै बस्थे । राजस्व अनुसन्धान विभागमा सरुवा भएपछि गाडी सुविधा पाए । त्यसपछि उनी नैकापबाटै कार्यालय आवतजावत गर्न थाले ।
राजस्व अनुसन्धान विभागको महानिर्देशक महेश दाहाल भए पनि डिफ्याक्टो महानिर्देशक उनै थिए । उनले नै सबै सेटिङ मिलाउने काम गर्दै आएका थिए । अख्तियारले ५ हजार घुस लिने कर्मचारीलाई पक्राउ गर्ने तर भ्रष्टाचार गरी ५० करोड आर्जन गर्ने पनेरुजस्तालाई छुन समेत सकेको छैन ।

 पनेरुले अख्तियारको सचिवको आडमा यति ठूलो भ्रष्टाचार गर्दै आइरहेको अख्तियार स्रोत बताउँछ । पनेरु नेपालको निजामती प्रशासनका अति भ्रष्ट सहसचिवमा अग्रपंक्तिमा पर्दछन् ।
भरत सुवेदीजस्तै उनले राजस्वमा बस्दा ५० लाख भन्दा तल घुस नै नलिने गरेको चर्चा अहिले पनि विभागमा हुने गरेको छ ।

 अख्तियारले राजस्व समूहका उपसचिव र अधिकृतलाई बयानमा बोलाएको चर्चा हुन्छ, तर राजस्व समूहमा बसी भ्रष्टाचारबाट अथाह सम्पत्ति कमाउने पनेरुजस्ता ह्वेल माछालाई भने बयानमा बोलाउन सकेको छैन । अर्थ मन्त्रालय स्रोतका अनुसार पनेरुको तुलनामा अरु उपसचिव र अधिकृतहरु झिंगे माछा हुन् ।

 राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गरेका सहसचिव निर्मलहरि अधिकारीमाथि भने अख्तियारले छानबिन गरिरहेको छ । तातोपानी भन्सारमा अधिकृतदेखि प्रमुख हुँदै राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका अर्थमन्त्रालयका सहसचिव निर्मलहरि अधिकारीले होमप्रसाद तिमिल्सिना उर्फ नवराजको नाममा ब्यापारीक फर्म खोलेर लगानी गरेका छन् । तिमल्सिना अधिकारी तातोपानी भन्सारको प्रमुख हुँँदासम्म उनका भान्से थिए ।

 तर, उनी तातोपानी भन्सारबाट सरुवा हुनेबेलामा फर्म दर्ता गरी सहसचिव अधिकारीको भ्रष्टाचारको सम्पत्ति लगानी गरी रसुवाका बीसौं करोडको कारोबार गर्ने ठूला ब्यापारीका रुपमा चिनिन्छन् । उनी हिमालय सीमापार ब्यापार संघको महासचिव जित्न सफल भइसकेका छन् ।

 त्यसो त अधिकारी राजस्व अनुसन्धान विभागमा हुँदा सेटिङमा परिचालन गरेका अनुसन्धान अधिकृत उद्धव राउतसँग मिलेर भक्तपुरमा २५ रोपनी जग्गा किनी त्यसमा कालीज पालन गर्दै आएका छन् । एक बर्षअघि राउतले राजीनामा दिएर भ्रष्टाचारको सम्पत्ति विभिन्न क्षेत्रमा लगानी गर्न ब्यस्त छन् ।

 सहसचिव अधिकारी र राउतका बिरुद्ध अकूत सम्पत्तिमा अख्तियारले छानबिन गरिरहेको छ । तर, पनेरु भने अख्तियार सचिवकै आडमा जोगिदै आएका छन् ।  अधिकारीलाई त पटक–पटक बयानमा बोलाई सम्पत्ति विवरण पनि भराइसकेको छ ।

 अधिकारीले तातोपानी भन्सारको अधिकृत हुँदै २०५६ मा एयरपोर्ट भन्सारका प्रमुख द्वारीकामान उपाध्यायसँग चावहिल गणेशस्थानमा ८० लाखमा घर जग्गा किनेका थिए । उपाध्याय अधिकारीलाई घरजग्गा बिक्री गरी सपरिवार अमेरिका पलायन भएका थिए ।

 ०५६ मा ८० लाख भनेको अहिलेको मूल्यमा हिसाब गर्दा दस करोडभन्दा बढी हुन्छ । खरिदार, नासु र अधिकृतलाई मात्र मुद्दा चलाएर उच्च प्रशासकहरुलाई उन्मुक्ति दिएकोबारेमा टिकाटिप्पणी हुन थालेपछि अख्तियारले अधिकारीजस्ता केही ठूला माछाका बारेमा गहन अनुसन्धान गरिरहेको छ । पनेरु र अधिकारीजस्ता ठूला माछालाई कारबाही गरे राजस्व प्रशासनमा एक किसिमको सुशासन कायम हुने अपेक्षा पनि गरिएको छ ।

 राजस्व समूहमा रहेर आकर्षक भन्सारमा बसी अकूत सम्पत्ति आर्जन गर्ने उपसचिवहरुमा सेवन्तक पोखरेल, भूपाल शाक्य, बोलराज आचार्य पनि हुन् । सेवन्तक पोखरेलले सम्पत्ति नगदमै राखेका छन् । कहिं लगानी गर्दा थाहा हुने भएपछि उनले नगदमै राखेको उनलाई चिन्नेहरु बताउँछन् ।

 विगतका अर्थसचिव शान्तराज सुवेदीलाई आर्थिक सहयोग गरी बीरगंज भन्सारको अधिकृत, पुनः ४ महिनामा पशुपतिनगर भन्सारको प्रमुख हुँदै उपसचिव बढुवापछि बीरगंज भन्सारको प्रमुख भए । ३ बर्ष बीरगञ्ज भन्सारमा बस्दा उनले रसुवा नाकाकै जस्तो अरबौंको नक्कली कष्मेटिक सेटिङ गरी नेपालमा ल्याउन सहयोग गरेका थिए । उनले अहिले हालका सचिव राजन खनाललाई पनि प्रभावमा पारी आकर्षक भन्सार ताकिरहेका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक)

प्रतिक्रिया

सम्बन्धित