राहत वितरण गर्दै प्रधानमन्त्री, पुनः बाढी आउन नदिने उपायको खोजीमा सक्रिय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेमा पुनः बाढी आउन नदिने उपायको खोजी सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् । बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई बिहीबार नगद सहयोग वितरण गर्दै भने, ‘यस क्षेत्रमा पुन: बाढी आउन निदेन उपायको खोजी सरकारले गर्नेछ ।'  प्रधानमन्त्री देउवाले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने बताउँदै दैवी विपत्तिका बेला सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्नेमा जोड दिए ।

 जिल्लाको सोही गाउँपालिकाको कमैया डाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई छ लाखको चेक हस्तान्तरण गरे ।

 सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई दुई लाख दिने निर्णय समेत गरेको छ । गत साउन २८ गते राति राप्ती नदीमा आएको बाढीका कारण सो गाउँपालिका-४ लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु दिदीबहिनीको मृत्यु भएको थियो । सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गरेका थिए । यसअघि नेपालगञ्ज राझास्थित नेपाली सेनाको चार नं बाहिनी अड्डामा प्रधानमन्त्री देउवालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागार्इं र नेपाली सेनाका पृतनापति कर्मेन्द्र लिम्बूले बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

  यसैगरी, प्रधानमन्त्री देउवाले बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई र स्थलगत अवलोकन पनि गरे । बाँके जिल्लाको कार्यक्रम सकेर प्रधानमन्त्री बर्दिया र कैलाली जिल्ला पनि पुगेका छन् । प्रधानमन्त्री देउवाले बर्दियाको भादापुलस्थित गोलपार्क र कैलाली जिल्लाको टीकापुर भजनी क्षेत्रका बाढीपीडितसँग भेटघाट गर्ने र राहत उपलब्ध गरा गराएका छन् । प्रधानमन्त्री देउवाले कैलालीको बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन् । त्यसक्रममा टिकापुरको पुरानो एयरपोर्टमा ओर्लिएर उनले राहत सामाग्री पनि हस्तान्तरण गरेका हुन् । झण्डै १० मिनेट बिताएका प्रधानमन्त्री देउवाले राहतको कुनै कमी हुन नदिने बताएका छन् । उनले बाढीबाट विस्थापित भएकाहरुलाई त्रिपाल हालेर बस्ने ठाउँ दिइने बताएका छन् । उनले बाढी पीडितको राहत र उद्दारमा सक्रिय सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित