विप्लवका नेतासँग नेकपाका नेताको गोप्य वार्ता

gunraj

 काठमाडौं । दुईतिहाइको वर्तमान सरकारले चाहेमा देशमा जनताले चाहेका सबै काम गर्न सक्छ । तर, प्रमुख विपक्षी दलसहित स–साना दलहरूलाई चिढ्याएर आफ्नो व्यक्तिगत कुरालाई पूरा गर्नेतर्फ सरकार लागिपरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाइसकेका छन् ।

 विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ गर्दै छाड्नकै लागि प्रतिबन्ध लगाइएको हो भने त्यसको कुनै अर्थ हुँदैन । पक्राउ परेका विप्लवका अधिकांश नेता तथा कार्यकर्ताहरूलाई अदालतले छाडिदिएको छ ।
सरकार र विप्लवबीच वार्ताको चर्चा चलिरहेको बेला पत्र विवादका कारण औपचारिक रुपमा छलफल अघि बढन सकेको छैन ।

 सुरक्षाका कारण देखाउँदै विप्लव समूहले सरकारले पत्र पठाएमा मात्रै निःशर्त वार्तामा बस्ने अडान राखेको छ । यता, सरकार भने आफ्नो सर्त मानेमात्रै पत्र पठाउने बताइरहेको छ । जसका कारण औपचारिक रुपमा वार्ता अघि बढ्न सकेको छैन । दुबै पक्षले अनौपचारिक छलफल र सम्वाद भने जारी नै राखेको दावी गर्दै आएका छन् ।
काठमाडौंमा रहेका विप्लवका नेता अनिल शर्मा विरहीले सरकारले पत्र नपठाएसम्म औपचारिक वार्तामा नबस्ने निर्णय पार्टीले गरेको जानकारी दिएका छन् ।

 उनले सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेलगायत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भने निरन्तर सम्पर्क भईरहेको जानकारी दिएका छन् । गत फागुन २९ मा बसेको मन्त्रिपरिषद बैठकले हत्या हिंसामा सामेल भएको भन्दै विप्लव नेतृत्वका राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । नख्खुस्थित एनसेल मुख्यालयमा आक्रमण तथा जनप्रतिनिधिमाथि धरपकड शुरू गरेको कारण देखाउँदै सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।

 प्रतिबन्धपछि सरकारले हेमन्तप्रकाश ओली, भरत बम, माइला लामालगायतलाई पक्राउ गरेको छ । असार ५ मा सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरी भीडन्तमा मृत्यु भएको थियो । गत असार २५ गते भोजपुरमा दोहोरो फायरिङका कारण एक प्रहरी र चन्दका एक कार्यकर्ताको समेत निधन भएको थियो ।

 गत जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा बम बनाउँदा–बनाउँदै भएको बिष्फोटमा ६ जनाको ज्यान गएको थियो । सरकार र चन्द समूहबीच पटक–पटक आमनेसामने भएपछि वार्ताका लागि चौतर्फी दबाब बढेको थियो ।
शर्माले गत पुसमा बसेको स्थायी समिति बैठकले सरकारले पत्र पठाएमा वार्ता गर्ने निर्णय गरेकाले सरकारी पत्र कुरिरहेको बताउने गरेका छन् । विप्लवको पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाए पनि प्रधानमन्त्री ओलीले विभिन्न सूत्रमार्फत् सम्वाद र छलफल अघि भने बढाएका छन् ।

 स्रोतका अनुसार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, शिक्षक नेता गुणराज लोहनीमार्फत् विप्लव समूहलाई वार्तामा ल्याउन पहल भइरहेको छ ।

 नेकपाका एक शीर्ष नेताले विप्लव समूहका प्रवक्ता खडगबहादुर विश्वकर्मासँग नगरकोट आसपासमा भेट गरेर छलफलमा आउन आग्रह गरेको स्रोत बताउँछ । सरकारको औपचारिक पत्र नआउँदासम्म पक्राउ गरेर थुनामा राख्न सक्ने भन्दै विप्लव समूहले आलटाल गरिरहेको बुझिएको छ । सरकारी वार्ता टोलीका संयोजक पाण्डेले पनि विप्लव समूहका केही शीर्ष नेतालाई भूमिगत रुपमा भेटिरहेका छन् । स्रोतका अनुसार अनिल शर्मासहित नख्खु थुनामा रहेका ओली र प्रवक्ता विश्वकर्मालाई पनि भेटेर उनले मूलधारको राजनीतिमा आउन आग्रह गरिरहेका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित