बुटिक एयरपोर्टको नाममा प्रतिस्पर्धा नै नगराई करोडौं खर्च , थुन्सेमा पराल र खेलौना झुन्ड्याएपछि बुटिक ?

butic airport

 काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको संरचनामा लैजान २३ करोड रुपैयाँ छुट्याएर धमाधम काम गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली कै चाहनामा भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी विमानस्थलाई आकर्षक र सुविधासम्पन्न बनाइ पर्यटकलाई आकर्षित गर्न बुटिकको अवधारणा ल्याइएको थियो ।

 बुटिक सम्बन्धि कार्यविधि बनाएर कार्यान्वयन पनि भइरहेको छ । विमानस्थललाई बुटिक एयरपोर्ट बनाउनका लागि झण्डै डेढ करोड रकम खर्च भइसकेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले नै सञ्चार माध्यममा बोलिरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारी निकट व्यापारी अनिल थमनलाई मूल्यको प्रतिष्पर्धा नै नगरी एकलौटी रुपमा काम गर्न दिएको छ ।

 विमानस्थलभित्रका भित्ताहरुमा बुटिक बनाउने भन्दै थुन्सेमा पराल, थान्का, मुकुट, गाग्री, मादललगायतका सामाग्रिहरु राखेर प्रदर्शनी हल जस्तो बनाइएको छ । यसका लागि मात्रै १ करोड २६ लाख रकम खर्च भइसकेको छ । जसका कारण विमानस्थलकै बेइज्जत भएको छ ।
प्रस्थान कक्षको अध्यागमन पश्चात सुरक्षा जाँचसँगै रहेको साँच्चिकै बुटिक झल्किएको भित्तालाई बारेर व्यापारीलाई पसल राख्न दिइएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थलजस्तो अति संवेदनशिल क्षेत्रको सिभिल इन्जिनियरिङ जस्तो महत्वपूर्ण विभागलाई प्रमुख विहिन बनाई सात तहका चन्द्रमणी सापकोटालाई लामो समयदेखि निमित्तको जिम्मेवारी दिएर राखेको छ ।

 भएका योग्य र दक्ष जनशक्तिलाई पाखा लगाई बुटिकसँग सम्बन्धित इन्जिनियरिङ विभागलाई निमित्तकै भरमा त्यसमाथि पनि जुनियर कर्मचारीलाई राखेर काम गराएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको बुटिक एयरपोर्टको संरचना अन्यौलमा परेको विमानस्थलकै अधिकारीकारीहरु बताउँछन् ।

 असाधरण, अनौठो, नयाँपन र नेपालीपनका साथ जाहाँ नेपालको इतिहास र आधुनिकता झल्किन्छ, त्यसलाई नै प्रधानमन्त्री ओलीले बुटिक एयरपोर्ट भनेका थिए । तर, थुन्सेमा पराल र खेलौना झुन्ड्याएकै   भरमा त्यसलाई बुटिक भन्न मिल्छ त ? अहिले विमानस्थलकै कर्मचारीहरुले यस्तो पो रहेछ बुटिक एयरपोट भन्दै मजाग गरिरहेका छन् ।

 दशौं तहका उपनिर्देशकको दरबन्दी रहेको ठाउँमा सातौं तहका अधिकृतलाई निमित्त दिई जिम्मेवार दिनुमा कतै बुटिकको करोडौं रकममा चलखेल गरी हिमानमिना गर्न लागिएको त होइन भन्ने प्रश्न उठेको छ । हालैमात्र महानिर्देशक भई काम थालनी गरेका नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले समेत यो विषयमा कुनै चासो दिएका छैनन् । प्राधिकरणका निर्देशक प्रदिप अधिकारीको योजनामा महानिर्देशक पोखरेलले सातौ तहका कर्मचारी सापकोटलाई निरन्तरता दिंदै आइरहेको प्राधिकरण स्रोत बताउँछ ।

 subhayatra

 पोखरेललाई महानिर्देशक बनाउन अधिकारीले समेत लविङ गरेका थिए । सापकोटाको पक्षमा लविङ गर्दा आफ्नो खर्च भएको भन्दै अधिकारीले उक्त रकम उठाउन सापकोटालाई नै निरन्तरता दिन पोखरेलसमक्ष दबाब दिइरहेको स्रोतको दावी छ ।

 त्यसो त विमानस्थलमा हाल रहेका टर्मिनलबाट यात्रुले आवत जावत गर्दा विमानस्थल भित्र नै छाता ओढेर हिड्नुपर्ने अवस्था छ । पानी चुहिने समस्याका कारण छाता ओढ्नुपर्ने अवस्था श्रृजना भएको छ । कमिसनकै लागि विमानस्थलको डिपार्चर हलमा रहेको आकर्षक र सुन्दर गोदावरी मार्वललाई जुटको कार्पेटले छोपेर लाखौं खर्च भएको देखाइएको छ ।

 वर्षातको पानी चुहिंदा ति कार्पेटहरु अहिले नै कुहिन थालेका छन् । अन्तिम सुरक्षा जाँचमा रहेका कार्पेटहरुसमेत च्यातिएर हेर्न नहुने अवस्थामा छन् । यस विषयमा विमानस्थलका महाप्रवन्धक क्षेत्रीको ध्यान गएको छैन ।

 त्यसो त क्षेत्री आफै सस्तो र कमसलका सामान र गुडियाहरु झुड्याउन लगाई बुटिक बनाउने नाममा एयपोर्टको संरचनालाई विगारेर लाखौं खर्च गराइरहेका छन् । एक लाख पर्ने मुर्तिलाई पाँच लाख भन्दै कोटेशनका नाममा सातौ तहका सापकोटा, प्राधिकरणका अधिकारी र महाप्रवन्धक क्षेत्रीको मिलेमतोमा कमिसनको खेल रचिएको छ । अध्यागमन तर्फको यात्रु झर्ने लिफ्टबाटै देखिने भगवानका पाँचवटा मुर्तिहरुका नाममा यसरी लाखौं खर्च गरिएको हो । (यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित