श्री लालीगुराँस सहकारीमा भण्डारीको मनपरी, आफ्नै कम्पनीलाई ऋण दिएर दुई अर्ब अपचलन

surendra bhandari

 काठमाडौं । ललितपुरमा कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीका कर्तुतहरु एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । कुनै समय मिटरव्याजका डन महेश सिंहले अवैध रुपमा असुलेको पैसा भण्डारण गर्ने संस्थाको रुपमा चिनिएको लालीगुराँस सहकारी भण्डारीकै कारण अहिले बद्नाम भइरहेको छ ।

 सिंह र भण्डारीको सम्बन्ध अहिले पनि सुमुधुर रहेको छ । भण्डारीले राज्यका कानुन र नियमन गर्ने निकायलाई नै चुनौती दिंदै आफ्नै स्वामित्वमा रहेको विभिन्न कम्पनीको नाममा करोडौं ऋण निकालेर अपचलन गरेको भेटिएको छ । लालीगुराँसकै ब्रान्ड नेमबाट सञ्चालित कम्पनी, फाउन्डेशन र हस्पिटल मार्फत उनले करोडौं ऋण निकाल्ने गरेको तथ्य फेला परेको हो । भण्डारीकै स्वामित्व रहेका दर्जनभन्दा बढी कम्पनीहरुमा अस्वभाविक ऋण प्रवाह भएको पाइएको छ ।

 स्रोतका अनुसार मास्टर लिस्टमा करोडौं रकमको कर्जा उनकै कम्पनीले सस्तो ब्याजमा लिएको पाइएको छ । लालीगुराँस समुहकै लगानी रहेको, श्री लालीगुराँस एजुकेशन फाउन्डेशन, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टर, लालीगुराँस हस्पिटल प्राली, श्री लालीगुराँस जनस्वास्थ्यलगायत दर्जनौँ कम्पनीमा सहकारीले करोडौं ऋण प्रवाह गरेको छ ।

 स्टेटमेन्ट अनुसार सन् २०१४ डिसेम्बर १० मा श्री लालीगुराँस एजुकेशन फाउन्डेशनको नाममा ४५ लाख रुपैयाँ ऋण प्रबाह भएको देखिन्छ । त्यस्तै सोही दिन सोही एजुकेशन फाउन्डेशनको नाममा एक पटक ५२ लाख र अर्कोपटक ७१ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । एकै दिन सहकारीले फाउन्डेशनको नाममा कुल एक करोड ६८ लाख ऋण प्रवाह गरेको देखिएको छ । सन् २०१५ अक्टोबर ९ मा सोही एजुकेशन फाउन्डेशनको नाममा फेरि अर्को ५० लाख ऋण प्रवाह भएको देखिएको छ ।

 सन् २०१६ अक्टोवर २ मा फाउन्डेशनले ५५ लाख ८ हजार ७ सय १६ रुपैयाँ ऋण लिएको देखिन्छ । २०१७ अप्रिल २० मा फाउन्डेशनकै नाममा दुई पटक गरी २ करोड ८० लाख रुपैयाँ निकालिएको छ । त्यसो त सन् २०१६ जुलाई १५ मा श्री लालीगुराँस प्रोफेशनलको नाममा ४७ लाख रुपैयाँ सहकारीबाट ऋण लिएको देखिन्छ ।

 सहकारीका सिइओ भण्डारी सहितको स्वामित्वमा स्थापना भएको उक्त फाउन्डेशनले नयाँ बानेश्वर स्थित शंखमुलचोकमा लालीगुराँस माबी सञ्चालन गरेको छ । नाफामुखी कलेजमा सर्वसाधरणको लगानी भएको सहकारीबाट करोडौँ रकमलगानी गरेर भण्डारीको समूहले एकतर्फी फाइदालिइरहेको छ ।

 लालीगुराँस अस्पतालको नाममा लुटधन्दा !
  त्यस्तै भण्डारीकै समूहको लगानी रहेको अर्को प्रोजेक्ट हो, लालीगुराँस हस्पिटल प्राली । ललितपुरको सातदोबाटोमा सञ्चालित उक्त अस्पतालको नाममा पनि करोडौं ऋण प्रबाह भएको देखिएको छ ।

 तर, अस्पताल भने जिर्ण अवस्थाको छ । श्री लालुगराँस जनस्वास्थ्य र लालीगुराँस हस्पिटलको नाममा करोडौं ऋण प्रवाह भएको हो । सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारी नै उक्त अस्पतालका अध्यक्ष हुन् । स्टेटमेन्ट अनुसार भण्डारीले लालीगुराँस जनस्वास्थ्यको नाममा सन् २०१६ जुलाई १५ मा चार करोड ९३ लाख रुपैयाँ ऋण निकालेका छन् ।

 त्यस्तै सोही नाममा भण्डारीले सोही मितिमा अर्को ९ करोड ऋण निकालेका छन् । सन् २०१७ मार्च १२ मा लालीगुँरास हस्पिटलको नाममा एक करोड ५० लाख ऋण निकालिएको देखिएको छ । त्यस्तै सोही दिन अर्को पटक १ करोड ४० लाख रकम ऋण निकालेको देखिन्छ । लालीगुराँस हस्पिटलको नाममा सन् २०१७ जुलाई १३ मा अर्को एक करोड रुपैयाँ भण्डारीले निकालेका छन् ।

 सन् २०१७ जुन १३ मा लालीगुराँस हस्पीटलकै नाममा भण्डारीले २० लाख रुपैयाँ ऋण निकालेको देखिन्छ । सन् २०१५ मे २६ मा भण्डारीले हस्पिटलकै नामबाट १५ लाख रुपैयाँ ऋण लिएको स्टेटमेन्टमा देखिन्छ । लालीगुराँस हस्पिटलकै नाममा सन् २०१६ डिसेम्बर १८ मा ५८ लाख रुपैयाँ निकालेको देखिएको छ ।

 त्यस्तै सन् २०१३ अगस्ट २२ मा हस्पिटलकै नाममा ८ लाख १३ हजार २ सय १३ रुपैयाँ ऋण निकालिएको छ । ललितपुरकै भनिमण्डलका कार्यालय रहेको जया लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको काम जग्गा दलाली धन्दा हो । सो कम्पनीका मुख्य लगानीकर्ता नै सुरेन्द्र भण्डारी हुन् । भण्डारीले उक्त कम्पनीको नाममा पनि करोडौं ऋण निकालेका छन् । स्टेटमेन्ट अनुसार सन् २०१५ जुलाई १५ मा उक्त कम्पनीको नाममा लालीगुराँस सहकारीबाट १ करोड ११ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ ।

 त्यसको एक दिनअघि १४ जुलाईमा २० लाख रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । सन् २०१६ मे ६ मा जय श्री लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ प्रालीको नाममा ९५ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरको नाममा लाली गुराँस सहकारीले चितवन जिल्ला खैरहनी नगरपालिका वडा नम्बर ११ मा गाई फार्म सञ्चालन गरेको छ ।

 मुख्य लगानीकर्ता रहेका सहकारीका सुरेन्द्र भण्डारीले यो फार्मलाई सहकारीको दुरुपयोग गर्ने प्रमुख गन्तव्य बनाएका छन् । सन् २०१२ मे ५ मा कृषि प्रोजेक्टको नाममा १५ करोड ९२ लाख ७९ हजार २ सय ८९ रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । तर, १५ करोड लगानीको कुनै भौतिक संरचना वा लगानी भने देखिँदैन । यतिका रकम निकाल्दा ब्याजदर भने शुन्य प्रतिशत उल्लेख छ । त्यस्तै सन् २०१७ जुन २२ मा श्री लालीगुराँस डेरी प्रोसेसनको नाममा ७९ हजार ४ सय ४४ रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ ।

 लालीगुँरास सहकारीकै उच्च अधिकारीले हाइड्रोपावरमा लगानी गरेका छन् । सिन्धुपाल्चोक जिल्ला साविक लार्चा गाविस १ तातोपानीमा निर्माण भएको भैरव कुण्ड हाइड्रोपावरमा सहकारीबाट सन् २०१७ जुन ५ मा ३ करोड ३५ लाख ऋण लगानी भएको देखिएको छ ।

 एक वर्षअघि कै रिपोर्ट अनुसार भण्डारीले आफ्ना कम्पनीको नाममा डेढ अर्बभन्दा बढी रकम हिनामिना गरिसकेका छन् । वर्तमानमा त्यो बढेर २ अर्ब भन्दा माथि पुगेको स्रोतले बतायो । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सहकारी विभाग, सहकारी तथा गरि वीमन्त्रालय, राष्ट्र बैंकलगायत दर्जनौं नियामक निकायमा उजुरी परेपनि भण्डारीमाथि कसैले कारबाही गर्ने आँट गरेका छैनन् । ( यूनाइटेड पोस्ट साप्ताहिक)

 

प्रतिक्रिया

सम्बन्धित