अर्वाैंको ठेक्का लिने तर, सम्पन्न नगर्ने रमण कन्स्ट्रक्सन कालो सूचीमा

raman contruction

  काठमाडौं । रमण कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सन कालो सूचीमा परेका छन् । कालो सूचीमा परेसँगै यी दुबै ठेकेदार कम्पनीले तत्काल कुनै पनि ठेक्का लिन पाउने छैनन् ।

सार्वजनिक खरिद अनुमगन कार्यालयले दुई ठूला ठेकेदार कम्पनी पप्पु र रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राखेको हो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी दुई कम्पनी कालोसूचीमा राख्ने निर्णय गरिएको जानकारी गराएको छ।

हुलाकी राजमागर्गमा लिएको जिम्मेवारी पूरा नगरेको भन्दै हुलाकी सडक निर्देशनालयको कालोसूचीमा राख्न सिफारिस गरेको र सोहीअनुसार खरिद अनुमनले रमण–पप्पु जेभी जनकपुर–९ लाई कुनै पनि सार्वजनिक खरिदमा तत्काल सहभागी हुन नपाउनेगरी रोक लगाएको छ।

यसअघि नै कार्यालयले ठेक्का रोक लगाउने भन्दै सूचना जारी गरेको भएपनि अदालतको आदेश ल्याएका कारण रोकिएको थियो । तर, अदालतले साउन १५ गतेको सुनुवाईमा पहिलेको अन्तरकालिन आदेश खारेज गरिदिएपछि रोक लगाउने निर्णय कार्यान्वयन गरेको हो ।

यी कम्पनीहरुलाई सार्वजनिक खरिद नियमावलीको नियम १४१ बमोजिम कालोसूचीमा राख्ने प्रक्रियामा अघि बढाउनका लागि तत्काल कुनै पनि ठेक्कामा भाग लिन रोक लगाइएको कार्यालयले जानकारी दिएको छ ।

कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेसँगै यी दुई कम्पनीले अबको ६ महिनासम्म नयाँ ठेक्कामा भाग लिन पाउने छैनन् भने पूरानाको काममा कुनै बाधा पर्ने छैन ।

६ महिनाभित्र कालोसूचीमा राख्ने निर्णय भएमा तोकिएको समयसम्म यी कम्पनी र व्यक्ती सम्बद्ध अन्य कम्पनी पनि अयोग्य हुने छन्।

त्यसो त धरहरा निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले २ वर्ष पुग्नै लाग्दा पनि १० प्रतिशत पनि काम गर्न सकेको छैन । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको धरहरा पुर्नर्निमाणको काम सुस्त गतिमा अघि बढेपछि ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनमाथि आशंका उब्जिएको छ ।

राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणसँग भएको सम्झौता अनुसार आयोजना सुरु भएको ६ महिनाभित्र धरहराको माथिल्लो बेसमेन्ट र अण्डरग्राउण्ड पार्किङ निर्माण गरिसक्नुपर्ने थियो । त्यस्तै, धरहराको दशौं तलासम्मको स्ट्रक्चरल काम ९ महिनाभित्र सक्नुपर्ने र बाँकी काम सुरु भएको १२ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

तर, काम सुरु भएको एक बर्ष हुनै लाग्यो । धरहराको दुई तला अण्डरग्राउण्ड बेसमेन्टमध्ये एक तलाको काम पनि सकिएको छैन । यसरी सुस्त गतिमा काम अघि बढेको खण्डमा ठेकेदार कम्पनीले धरहरा पुर्नर्निमाणको काम ७ बर्षमा पनि सम्पन्न गर्न नसक्ने प्राधिकरणकै कर्मचारीको दावी छ । जबकी काम गर्न ठेकेदार कम्पनीले ढिला गरेको खण्डमा कारबाही र छिटो गरेको खण्डमा सम्मान गर्न सकिने स्पष्ट प्रावधान छ ।

ठेकेदार कम्पनीले गोश्वारा हुलाक र टक्सार विभागले ठाउँ खाली नगरेकै कारण निर्माण प्रक्रियामा ढिलाई भइरहेको बताउँदै आएको छ । तर, हुलाकका महानिर्देशक वेदप्रसाद भण्डारीले हुलाकको कार्यालय डिल्लीबजारमा सार्ने अन्तिम तयारी भइरहेको बताए । उनले भने,‘अहिले डिल्लीबजार चारखालस्थित नवर्निमित भवनमा कार्यालय सार्नका लागि पार्टेशनलगायतका कामहरु भइरहेका छन् । यो काम भदौसम्म सकिन्छ । असोजबाट हामी त्यहाँ जान्छौं ।’

परामर्शदाता राजुमान मानन्धरले पुर्नर्निमाणको काम ढिलाई भइरहेको स्वीकार गरे । तर उनले विभिन्न कारण निर्माण ब्यवसायीलाई साईट दिन नसकेकाले निर्माणमा ढिलाई भएको बताए । उनले भने,‘यो समस्या समाधान भएपछि काम द्रुत गतिमा अघि बढ्छ ।’

मानन्धर यसअघि पुर्नर्निमाण प्राधिकरणका पूर्वसहसचिव एवम् सम्पदा विभाग प्रमुख थिए । जो अहिले ठेकेदार कम्पनीकै ‘परामर्शदाता’ का रुपमा काम गरिरहेका छन् । प्राधिकरणमा हुँदा उक्त ठेकेदार कम्पनीको डिजाइन हेर्नेदेखि प्रस्ताव पारित गराउनेसम्मको उनको भूमिका थियो । तिनै सहसचिव अवकाशपछि ठेकेदार कम्पनीकै परामर्शदाता भएका छन् । कुन नैतिकताले उनी अहिले उक्त काम गरिरहेका छन् ? गम्भिर प्रश्न उब्जेको छ ।

सरकारले नारायणीको पुल बनाउने ठेक्का पाएको रमण कन्स्ट्रक्सनसँगको सम्झौंता तोडिसकेको छ । कारण थियो, उसले काम समयमा गर्न नसकेको मात्र होइन, पटक–पटक म्याद थप हुँदा पनि काम गरेन । ठेक्का तोडेपछि स्वतः ठेकेदार र कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढ्छ ।

त्यसो त, अर्वौंको काम लिएर बषौंसम्म होल्डमा राख्ने तथा काम सञ्चालनबापत पाइने पेश्की रकम हाता पारेपछि काम नगर्ने यो ठेकेदार कम्पनीको पुरानै रोग हो । कम्पनीले दुई बर्षमा सक्नुपर्ने बहुचर्चित धाप ड्याम्प ६ बर्ष हुनै लाग्दा आधा काम पनि सकेको छैन् । उक्त काम दुई बर्षभित्र सक्नेगरी सम्झौंता भएको थियो ।

सम्झौता अवधि दुईपटक नविकरण भइसक्यो । लगभग ३ बर्षको म्याद थपियो । तर, अहिलेसम्म काम ५० प्रतिशत पनि नसकिएको आयोजनाका कर्मचारीको भनाई छ ।

एडिबी बैंकको ऋण सहयोगमा राजधानीलगायत मुुलुकको विभिन्न ठाउँमा उक्त ठेकेदार कम्पनीले गरिरहेको पानी तथा ढलको काम समेत भद्रोगोल छ । त्यस्तै शहरी विकास अन्तर्गत रानी–विराटनगरको ६ लेनको सडक विस्तारको काम पनि अलपत्र परेको खबर यसअघि नै सार्वजनिक भइसकेको छ ।

काम लिने तर कुनै पनि काम समयमा नगर्ने ठेकेदार कम्पनीलाई फेरि पनि भेरी–बबई डाइभर्सनको दोस्रो प्याकेजको काम सेटिङमा दिने तयारी गरिएको छ । ठेकेदार महतोले आफ्ना छोरामार्फत विभिन्न रेष्टुरामा पनि लगानी सुरु गरेका छन् । बालुवाटारस्थित एक रेष्टुरेन्टमा पनि उनको लगानी रहेको छ ।

त्यसैगरी, ठेकेदार महतोले इन्काउण्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटेको चावहिल क्षेत्रका सहयोगी प्रतिक श्रेष्ठ ‘हवल्दार’ मार्फत क्लब डेजाभुमा पनि लगानी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित