छोराको राजीनामासँगै आमा बनिन् अध्यक्ष

soniya

  काठमाडौं । भारतीय कांग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेर उनकी आमा सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चुनेको छ । यसअघि सोनिया गान्धीपछि राहुल अध्यक्ष चुनिएका थिए ।

लोकसभा चुनाव २०१९ मा कांग्रेस पराजित भएपछि राहुलले नैतिकताको आधारमा पार्टीमा राजीनामा बुझाएका थिए । तर, तत्काल उनको राजीनामा अस्वीकृत गरिएको थियो ।

शनिबार बसेको कांग्रेस कार्यसमितिको बैठकले राहुलको राजीनामा स्वीकृत गर्दै फेरि सोनियालाई नै अन्तरिम अध्यक्ष चुनेको कांग्रेस नेता गुलाम नबी आजादलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सोनिया भारतीय कांग्रेसमा सबैभन्दा लामो समयसम्म अध्यक्ष बनेकी नेतृ हुन् । अर्को अध्यक्ष नचुनिएसम्म अब पार्टीको नेतृत्व सोनियाले नै गर्नेछिन् ।

कार्यसमितिको बैठकमा नेताहरुले राहुललाई राजीनामा पत्र फिर्ता लिन भनेका थिए, तर राहुलले नमानेको समाचारमा उल्लेख छ । उनले राजीनामा पत्रमा अरूको जवाफदेहिता खोज्नुअघि आफू जवाफदेही हुन आवश्यक रहेको बताएका छन् ।

सन् २०१४ को चुनावमा कांग्रेस पराजित हुँदा पनि राहुल गान्धी नै पार्टी अध्यक्ष थिए । त्यतिबेला ५४३ सिटमध्ये कंग्रेसले जम्मा ४४ सिट जितेको थियो । यस वर्ष उसले ५२ सिट ल्याएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित