जनप्रतिनिधिहरुलाई दम्भ त्याग्न सांसद बस्नेतको आग्रह

mahesh basnet_1

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् प्रतिनिधिसभा सांसद महेश बस्नेतले स्थानीय तहका जनप्रतिनिधिलाई दम्भ त्यागेर सिर्जनशील बन्न सुझाव दिएका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरले गरेको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै सांसद बस्नेतले संविधानले स्थानीय तहमै कानुन बनाउनेसम्मको अधिकार दिएकाले स्थानीय आवश्यकता र सम्भावनालाई हेरेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

पूर्व उद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले भने–‘तपाईहरु आलोचनात्मक बन्नुस्, गल्ती कमजोरीहरु पत्ता लगाएर सुधार्नेतर्फ केन्द्रित हुनुस् ।’

हामी कसैले पनि आफूले आफूलाई सधैका लागि जनप्रतिनिधि भएको दम्भ गर्नु हुँदैन । ‘स्थानीय विकास आफ्नै लागि हो, पाँच वर्ष पछाडि चप्पल पड्काउने कि ? जुत्ता टल्काउने ? त्यो तपाईको आफ्नै हातमा छ ।’ –सांसद बस्नेतले भने ।

वार्षिक समीक्षा गोष्ठीमा आम्दानी र खर्चको विवरणमात्रै सुन्ने र सुनाउने नगर्न आग्रह गर्दे उनले भने–‘यहाँ कति आम्दानी भयो ? कति खर्च भयो ? भन्ने कुरा मुख्य हैन, कस्ता योजना, कहाँ सञ्चालन भए ? कति गुणस्तरीय काम भयो ? त्यो महत्वपूर्ण हो ।’

सांसद बस्नेतले स्थानीय तहको विकासमा उपयुक्त विधि र नीति आफैँ बनाएर अघि बढ्न र समृद्ध भक्तपुर बनाउन सबै जनप्रतिनिधि र कर्मचारीलाई आव्हान समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित