पश्चिम तराई पनि जलमग्न,कहाँ–कहाँ छ अझैँ बाढीको जोखिम ?

काठमाडौं। बाढीपहिरोबाट आइतबार रातिसम्म ६६ जनाको मृत्यु भएको छ । त्यस्तै, ५३ बेपत्ता छन् । आइतबारको थप वर्षाले पश्चिमको नवलपरासी, दाङ, बाँके, बर्दिया र कैलालीमा थप क्षति पुगेको छ । नवलपरासीको अमलटारी र बर्दघाट, महेशपुर, कैलालीको धनगढी र टीकापुर क्षेत्र अत्यधिक प्रभावित भएका छन् । त्यस्तै, दाङका विभिन्न सडक र सुर्खेतबाट कर्णाली जोड्ने सडक पनि अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेकाले मृतक र बेपत्ताको संख्या तथा भौतिक क्षतिको विवरण बढ्न सक्ने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

  बाढीपहिरोमा मृत्यु हुनेका परिवारलाई सरकारले दुई लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पीडितहरूको तत्काल उद्धार र राहत कार्यक्रमलाई प्रभावकारी बनाउन राज्यका सबै निकायलाई निर्देशन दिएको छ । बैठकले प्रभावित क्षेत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर विस्थापितहरूलाई पुनस्र्थापना गर्ने काम अगाडि बढाउने निर्णयसमेत गरेको छ ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई अर्ब १३ करोडभन्दा बढी रकम छ ।

  यो रकम दुई वर्षअघिको भूकम्पपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरूले सरकारलाई दिएको हो । विभिन्न १६ वटा बैंकमा यो रकम थन्किएर बसेको छ । तर, सरकारले तराईका बाढीपीडितको उद्धार र राहतका लागि एक करोड ९८ लाख मात्रै निकासा गरेको छ । गृह मन्त्रालयका अनुसार बाढी प्रभावित जिल्लामा उक्त रकम तत्काल पठाइनेछ । आजको नयाँ पत्रीकामा खबर छ

प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

गृह मन्त्रालयले आइतबार देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई मनसुन अवधिभर जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । मनसुन सक्रिय भएकाले जुनसुकै वेला जस्तोसुकै घटना पनि हुन सक्ने भएकाले जिल्ला नछाडेर सतर्क भएर बस्न सिडिओहरूलाई निर्देशन दिइएको गृह प्रवक्ता सुवेदीले बताए ।

आइतबार साँझसम्म वर्षा

सिमरामा १७३.२ मिलिमिटर दाङमा १६७.४ मिलिमिटर जनकपुर १२२.४ मिलिमिटर नेपालगन्ज ७०.२ मिलिमिटर भैरहवा ६७.६ मिलिमिटर विराटनगर ६४.३ मिलिमिटर काठमाडौं २६.६ मिलिमिटर धनगढी २३ मिलिमिटर

कहाँ–कहाँ छ अझैँ बाढीको जोखिम ?

जल तथा मौसन विज्ञान विभागका हाइड्रोलोजिष्ट विनोद पराजुलीका अनुसार पूर्वी राप्ती, बबई, पश्चिम राप्तीमा पानीको बहाव खतराको सूचकभन्दा माथि रहेको छ । यद्यपि ती नदीमा पनि पानीको सतह क्रमशः घट्दै गएको छ । दाङ, बाँके, बर्दिया, चितवन, मकवानपुर, रौतहट र सर्लाहीमा डुबान कायमै छ ।

चौतर्फी क्षति

बाढीले तराईको ८० प्रतिशत धानखेती डुबानमा

बाढीपहिरोका कारण पूर्वी जिल्लाहरूमा मात्रै २९ करोड रुपैयाँबराबरको कृषिजन्य वस्तुमा क्षति पुगेको छ । कृषि विकास मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार १४ करोडको तरकारी, तीन करोडको माछा र १२ करोडको सञ्चित खाद्यान्न नष्ट भएको छ । बाढीले तराईमा लगाइएको ८० प्रतिशत धानखेती डुबानमा परेको छ । वर्षा जारी नै रहे भित्री मधेस आसपासको थप २० प्रतिशत क्षेत्रफल पनि डुबानमा पर्ने खतरा छ ।

अधिकांश ठाउँमा विद्युत् अवरुद्ध

केही दिनदेखिको निरन्तर वर्षाका कारण पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् प्राधिकरणको प्रसारण लाइन, सबस्टेसन तथा वितरण प्रणालीलगायतका भौतिक संरचनामा क्षति भएका कारण विद्युत् अवरुद्ध भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षा कम हुनासाथ विद्युत् आपूर्ति सुचारु गरिने बताए ।

पशुपक्षीमा पाँच करोड रुपैयाँको क्षति

पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलका अनुसार आइतबार साँझसम्म धादिङ, पर्सा, बारा, ललितपुर, रामेछाप, सर्लाही, मकवानपुर र चितवनमा मात्रै पाँच करोडबराबरको पशुपक्षीको क्षति भएको छ । यो प्रारम्भिक अनुमान मात्रै हो ।

मन्त्री र कांग्रेस सांसदद्वारा एक महिनाको तलब सहयोग

—मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरूको एक महिनाको तलब बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । अहिले प्रधानमन्त्रीसहित २७ मन्त्री छन् ।

—कांग्रेसले पनि आफ्ना सांसदहरूको एक महिनाको तलब बाढीपीडितलाई उपलब्ध गराउने भएको छ । कांग्रेसका २०७ सांसदबाट एक करोड १४ लाख १६ हजार जम्मा हुन्छ ।

एनआरएन अध्यक्षले दिए एक करोड

बाढीपीडितलाई सहयोग जुटाउन गैरआवासीय नेपाली संघले स्थापना गरेको कोषमा अध्यक्ष शेष घलेदम्पतीले एक करोड जम्मा गर्ने घोषणा गरेका छन् । संघको पूर्वअध्यक्ष जीवा लामिछाने र उपाध्यक्ष भवन भट्टले एक–एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्योग वाणिज्य महासंघद्वारा एक करोड घोषणा

उद्योग वाणिज्य महासंघले बाढीपीडितका लागि तत्काललाई १० लाख, औषधि उत्पादक संघको तर्पmबाट ५० लाखबराबरको औषधि, युवा उद्यमी मञ्चले १५ लाख, शंकर ग्रुपले पाँच लाख, बागमती सफाई महाअभियानले १० लाख र अन्य संघसंस्थाले १० लाख सहयोगको घोषणा गरेका छन् ।

बुद्ध एयरद्वारा २५ लाखको कोष

बुद्ध एयरले बाढीपहिरोपीडितलाई सहयोग गर्न २५ लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । उक्त रकमबाट खाद्यान्न, औषधि खरिद गर्ने तथा विभिन्न संघसंस्था र व्यक्ति परिचालन गरी राहत सामग्री पीडितसमक्ष पु¥याउने कम्पनीले जनाएको छ ।

राजमार्गमा डुंगाबाट यात्रा,अधिकांश पुलमा पनि क्षति

—लगातारको वर्षाले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर–बागमती सडकखण्डको लच्का क्षेत्र नदीमा परिणत भएको छ । सडकको पानीमा सवारीसाधन गुड्ने होइन, ट्युब र घरेलु डुंगा तैरिन थालेका छन् । बीचबाटोमै अलपत्र यात्रुहरू तिनमै चढेर बाढीग्रस्त राजमार्ग छिचोलिरहेका छन् । स्थानीय युवाले ट्युब र फेरीमा बाढीग्रस्त क्षेत्र कटाएको प्रतियात्रु दुई सय रुपैयाँ लिने गरेका छन् ।

—बाढीले राजमार्गमा धेरै पुलमा क्षति पुगेको छ । महोत्तरीको रातुखोला पुलको एकापट्टिको पिलर भाँचिएको छ । सप्तरीको बिर्धना पुल, सडक खोला पुल, कठौना पुल खतराको अवस्थामा पुगेका छन् । मोरङको गछिया खोलाको पुल बाढीले भत्काउन लागेको छ । बाराको धन्सार पुलको एप्रोच स्ल्याब र पौराही पुलको पिलर भाँचिएको छ ।

प्रतिक्रिया

सम्बन्धित