नेकपाका कार्यकर्ताहरूबीच पोलापोल र जुहारी

nekapan

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ ।

पार्टी मिल्दा छ महिनाभित्र सांगठानिक एकीकरण सम्पन्न गर्ने घोषणा गरिएको थियो । नेकपाले सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश कमिटी जिल्ला इन्चार्ज, सह–इन्चार्ज, जिल्ला कमिटी, जनवर्गीय संगठनले पूर्णता पाए पनि स्थानीय तहको एकता प्रक्रिया अझै अगाडि बढन सकेको छैन् ।

सचिवालयमा स्कुल विभाग पूर्व एमाले या पूर्व माओवादीले लिने भन्ने विवाद चर्किएको छ भने स्थानीय तहमा नेतृत्व लिने विषयमा पनि नेकपाभित्र हानाथाप बढ्दै गएको छ । विभागहरुको जिम्मेवारी बाँडफाँड र नेतृत्वमा मोटामोटी सहमति जुटे पनि स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीचको विवादको कारण आधा महिनादेखि सचिवालय बैठक नै बस्न सकेको छैन ।
एकीकरणको सम्पूर्ण निर्णय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आउनुभएको छ । स्कुल विभागको जिम्मेवारीबारे अध्यक्षद्धयबीच नै कुरा मिल्न नसकेपछि सकस देखिएको छ ।

एकताको बाँकी काम पूरा गर्नका लागि प्रधानमन्त्री ओलीको कार्यव्यस्ता नै प्रमुख कारण मानिदै आएको छ । नेकपाभित्र अध्यक्ष ओली प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको गुट सक्रिय रहदै आएको छ । शीर्ष नेताहरुबीच नै आशंका र अविश्वास बढ्दै गएकाले विभागहरुले पूर्णता पाउन अझै धौधौ देखिन्छ ।


स्थानीय कमिटीलाई पूर्णता दिने अधिकार पाएका जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवहरुले पनि पटक–पटक प्रदेश कार्यालयले दिएको निर्देशनअनुसार काम गर्न सकेका छैनन् । स्थानीय कमिटीलाई गत असार मसान्तभित्र नै पूर्णता दिने निर्देशन दिए पनि जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवहरुले वेवास्ता गर्दै आएका छन् । (नेपाल समाचारपत्र )

 

प्रतिक्रिया

सम्बन्धित