अविरल वर्षाका कारण बाढि, पहिरो र डुबानमा परेर दर्जनौको मृत्यु, हजारौ विस्थापित (अहिलेसम्मको सम्पूर्ण विवरणसहित)

काठमाडौं : गत शुक्रबारदेखिको अविरल वर्षाका कारण देशभरका दर्जनौ व्यक्तिको मृत्यु भइसकेको छ भने दर्जनौ वेपत्ता भएका छन् । कतिपको बाढि र पहिरोमा परेर ज्यान गएको छ भने कतिपय डुबेर मरेका छन् । कयौं विस्थापित भएका छन् । त्यसैगरी विदेशी पर्यटक सहित हजारौंको जीवन कस्टकर बनेको छ । यद्यपी मौसमविद्हरुले सोमबारबाट मौसममा सुधार आउने बताएका छन् । आज दिउसोबाट राजधानीलगायत आसमासका क्षेत्रमा वर्ष रोकिए पनि पश्चिम क्षेत्रमा भने वर्षा जारी छ । मौसमविद्हरुले आइतबारदेखि मनसुन मध्य र पश्चिम तराईमा केन्द्रित भएको बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आइतबार बिहानैदेखि पश्चिमका भैरहवा, नवलपरासी, कपिलवस्तु, दाङ, सुर्खेत, नेपालगञ्ज, बर्दिया, कञ्चनपुरतिर मनसुन केन्द्रित भएको छ । पूर्वी तराईमा मनसुनको असर कमजोर भइसकेको बताइएपनि मध्य र पश्चिम तराईमा भने आज दिनभरिजसो वर्षा हुने विभागले जनाएको छ । अविरल वर्षाका कारण कहाँ–कहाँ के भयाे ?

गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु

लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए । मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएका छन् ।

आधा दर्जन स्थानमा तटबन्ध भत्कियो लालबकैया नदीको बहाव उच्चबिन्दुमा पुगेपछि करुनिया र देवाहीसहित आधा दर्जन स्थानमा तटबन्ध भत्किएको छ । गौर चन्द्रनिगाहपुर सडकखण्डको सखुअवामा समेत बाढीले १० मिटर सडक कटान गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए । शनिबार बाँध भत्किएपछि आएको बाढी देवाही वडा नं. ८ को एक घरमा २०० जना भन्दा बढी स्थानीयलाई अझैसम्म पनि उद्धार गर्न सकिएको छैन । उनीहरुलाई सुरक्षित स्थानमा लैजान अप्ठ्यारो भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । यस्तै परोहा गाउँपालिका स्थित करुनिया गाउँ नजिक रहेको लाल बकैया नदीको पूर्वी बाँध आज दिउसो भत्किदा त्यस भेगको अवस्था पनि कष्टकर बनेको छ । गौर गंगापिपरा सडक खण्डको दुर्गा भगवती गाउँपालिकाको सडक बाढीका कारण गए राति देखिनै अवरुद्ध भएको छ भने मत्सरी, पचरुखी, सरुअठा, गंगापिपरा, भलोहिया, बडहर्वा लगायतका गाउँहरुमा बाढीको पानीबाट एक सय भन्दा बढि घर डुवानमा परेका छन । परोहा गाउँपालिकाकै बसन्तपटी, इनरवारी, इशनाथ गाउँपालिकाको बन्जरहा, औरैया, बैरिया, राजपुर, बौधीमाई, गुजरा, माधवनारायण, गढिमाई, वृन्दाबन, विजयपुर, कटहरिया सहित गरुडा नगरपालिकाको सबै वडा, चन्द्रपुर नपाको केही वडा सबै क्षेत्र डुवानमा परेको छ । गौर चन्द्रनिगाहपुर र पूर्व पश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बाढीका कारण बन्द भएको छ । बाढीमा फसेकाहरुको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको डुंगा सहितका पौडीबाज टोली जिल्लाका विभिन्न स्थानमा पठाइए पनि पर्याप्त भएको छैन । झापा, मोरङ, सुनसरी र सप्तरीमा १७ को मृत्यु, १५ बेपत्ता अविरल वर्षाका कारण पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरीको आधा भाग डुबानमा परेका छन् । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेशकुमार भट्टराईका अनुसार डुबेर तथा बाढीले बगाएर हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । अन्य १५ जना बेपत्ता छन् । विराटनगर विमानस्थल जलमग्न छ । कोशी ब्यारेजमा पानीको सतह पौने तीन लाख क्युसेक पुगेको छ । ब्यारेजमा रातो बत्ती बलिरहेको छ । उक्त ब्यारेजको क्षमता पाँच लाख क्युसेक हो । प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध छ । ल्यान्डलाइन र मोबाइल सेवा पनि अवरुद्ध छन् । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार इटहरीस्थित एक्स्चेन्जका ब्याट्रीहरू डुबानमा परेका कारण ल्यान्डलाइन र मोबाइल सेवा अवरुद्ध हुन पुगेको हो । झापामा कन्काई नदी, झिल्झिले खोला र भद्रपुरको स्थानीय खोलाले बगाएर चार जनाको मृत्यु भइसकेको छ । अन्य ११ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । झापामा शनिबार २२ वर्षयताकै ठूलो वर्षा मापन भयो । कन्काई सिँचाइ आयोजनाको उपकरणले तीन सय ७६ दशमलव पाँच मिलिमिटर मापन गरेको थियो । झापामा ०५२ सालमा दुई सय ७७ दशमलव ८६ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

सौरहा बजार डुबानमा, ७ सय पर्यटक फसे लगातारको बर्षापछि राप्ती नदीमा आएको बाढीले डुबानमा पारेपछि सौरहा घुम्न आएका विभिन्न देशका र आन्तरिकसहित झण्डै ७ सय पर्यटक फसेका छन् । सौरहा अहिले डुबानमा छ । त्यहाँ पर्यटक घुमाउन राखिएका केही सवारी समेत राप्तीमा बगाएको छ । शनिबारदेखि परेको पानी रोकिएको छैन् । राप्तीमा आएको बाढी पसे पछि सौरहाका एक सय बढी होटल डुवानमा परेको हो । क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरेले चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका स्वदेशी तथा बिदेशी गरि झण्डै ७ सय पर्यटक फसेको जनाए । होटल सञ्चालक दामोदर रेग्मीले डुवान पछि पर्यटक बोक्ने दुईवटा जिप बगाएको बताए । शुक्रबार र शनिबार सौरहा घुम्न आउने आन्तरिक पर्यटक धेरै हुन्छन् । उनीहरु समेत डुवानमा फसेका छन् । होटल वाइड लाइफका सञ्चालक शंकर सैंजुले झण्डै ६ फिट भन्दा बढी पानी जमेकाले होटलका पर्यटक आत्तिएको बताए । उनको होटलमा अमेरिकन, चाइनिज, श्रीलंकन, भारतीय र नेपाली गरि ४० जना पर्यटक फसेका छन् । प्रहरी प्रमुख एसपी दिपक थापाले पर्यटकको उद्दारमा जुट्ने बताएका छन् ।

गृहमन्त्री बाढी डुबान प्रभावित क्षेत्रमा गृहमन्त्री जनार्दन शर्मासहितको टोली बाढी र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएको छ । काठमाडौंबाट बिहान बाँकेको नेपालगञ्ज गएको टोली बर्दियाको अवलोकन गरेर पूर्वी जिल्ला प्रस्थान गर्नेछ । यति एयरलाईन्सको प्लेन चार्टर गरेर टोली पश्चिम नेपाल गएको हो । पूर्वतर्फको मौसम खराब भएकाले तत्कालका लागि पश्चिम जिल्लाको अवलोकन गर्न गएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । ‘मौसमले साथ दियो भने पश्चिमबाट सिधै पूर्व प्रस्थान गर्छौं, मिलेन भने काठमाडौं आएर पूर्व जानुपर्ला,’ गृहमन्त्री शर्माका सहयोगी सन्तोष पौडेलले भने । अवलोकन टोलीमा गृहमन्त्री जनार्दन शर्मासहित, सुरक्षा अंगका प्रमुखहरु, स्थानीय नेता तथा सांसदहरु र नेपाल सरकारका केही सचिवहरु छन् । अबिरल वर्षापछिको बाढी र डुबानले देशभरको अवस्था अस्तव्यस्त भएको छ । मौसम खराबीका कारण उद्धार तथा राहत पुर्याअउने काम समेत प्रभावकारी हुन सकेको छैन ।

पूर्व–पश्चिम राजमार्गको दुधौरा पुल भासियो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया– निजगढ सडकको दुधौरा पुल भासिएको छ । आइतबार बिहान पुल भासिएपछि यातायात ठप्प भएको छ । ठूला सवारी बाटोमै रोकिएका छन् । तीन वर्ष अगाडि पनि यो पुल भासिएको थियो । यसैगरी पथलैया हेटौंडा सडकको चुरियामाईमा पहिरो खसेर बाटो पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । निजगढस्थित लालबकैया खोलाको ड्याम जंगलतिर पानी पस्न सुरु भएको छ ।

सबस्टेशनहरु पनि डुबे तीन दिनयताको अविरल वर्षाका कारण पूर्वी तराईमा विद्युत आपुर्ति बन्द भएको छ । विभिन्न स्थानमा सबस्टेशन पानीले डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई ‘ब्ल्याकआउट’ भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्रणाली सञ्चालन विभागका प्रमुख बिष्णुकुमार श्रेष्ठका अनुसार सिरहाको लहानदेखि पुर्वका सबै तराई जिल्लाहरुमा अहिले विद्युत आपूर्ति हुनसकेको छैन । पानीको लेभल घटिहालेपनि तत्काल विद्युत आपुर्ति हुनसक्ने स्थिति छैन । यस्ता डुबेका स्बस्टेशनहरु चेकजाँच पछि मात्रै विद्युत सुचारु गरिने श्रेष्ठले बताए । बाढीका कारण केहि स्थानमा ट्रान्समिसन लाइनका पोलहरु पनि ढलेका छन् । जसका कारण पनि पूर्वी तराइमा विद्युत प्रसारण हुन सकेको छैन । श्रेष्ठका अनुसार काबेली करिडोर अन्र्तगतको ट्रान्समिसनलाइन ढलेको छ । पश्चिमको तराई भागमा भने अहिलेसम्म बिद्युत आपुर्ति रोकिएको खबर नआएको श्रेष्ठ बताउँछन् । उनले भने ‘पश्चिम तराईमा अहिलेसम्म विद्युत आपूर्तिको लागि भने समस्या देखिएको छैन ।’ सबस्टेशनहरु डुवानरहित बनेको २ दिनपछि मात्रै त्यस्ता स्थानमा बिद्युत आपूर्ति गर्न मिल्ने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा पनि समस्या आएको छ । हेटौंडा ढल्केबर प्रशारण लाइनमा ठुला रुखहरु ढलेको कारणले पनि उक्त वरपरको क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध आएको छ । पूर्वी चितवनमा पनि विजुली आपूर्ति ठप्प छ ।

मकवानपुरमा एकै परिवारका ६ जनाको मृत्यु मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। आज राति आएको पहिरोले बकैया गाउँपालिका–१० अम्बासबेसीस्थित न्यासुरको घर गोठ बगाएको हो । एकै परिवारका तीन जनाको मृत्यु सुर्खेतमा शुक्रबार राति देखिको अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार पहिरोले घर बगाउँदा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको छ । गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज विहान निकालेको छ ।

पहिरो खस्दा नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ । शनिबार दिउँसो २ बजेपछि वर्षात्सँगै ती ठाउँमा पहिरो खसेको हो । पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो सफा गर्न नसकिएको उनले बताए । ठूला पहिरा नभएकाले पानी रोकिएमा दुईदेखि तीन घण्टामा सडक सफा गरी सवारी सञ्चालनमा ल्याइने यादवले बताउनुभयो । सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । यस्तै, पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा १४ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार सो सडकको फिस्लिङ, कुरिनटार, मजिम्टार, जोगिमारा, बेनीघाटलगायतका १४ स्थानमा पहिरो खसेको छ । शनिबार साँझ ६ बजेपछि ती ठाउँमा पहिरो खसेका हुन् । गएराति २ बजे पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको भएपनि पुनः पहिरो ठाउँठाउँमा खसेपछि सडक अवरुद्ध बनेको झाले बताए ।

प्रधानमन्त्रीको निर्देशन यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन् । शनिबारसाँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बालुवाटारमा बोलाएर देउवाले ढुवानमा परेका क्षेत्रमा तदारुकताका साथ उद्दार कार्य हघि बढाउन आफैं उपस्थित हुन निर्देशन दिएका हुन् । ‘बाढीले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ उनले भने ‘तपाईहरु अव काठमाडौं बस्ने होइन, प्रभावित क्षेत्र पुग्नुहोस् । उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’ उनले बाढीका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उच्च सतर्कता उपनाउन पनि निर्देशन दिको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बाढी पीडितहरुको उद्दार, राहत र स्थानान्तरणमा जुनसुकै सहयोग गर्न सरकार तयार रहेको भन्दै उनले उद्दारमा नागरिक समाजको पनि सहयोग लिन आग्रह गरे । बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढि प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको तथ्यांक पेश गरेका थिए । मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्ने कार्य अघि बढाउन नसकिएको उनले बताए । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना फिल्डमा खटिइसकेको तर, उद्दार टोली तयारी अवस्थामा रहेपनि मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिएको बताएका छन् ।

नेपालको आग्रह टेरेन भारतले गृहमन्त्री जनार्दन शर्माले सप्तकोशीको बाँधका सबै ढोका खोल्न भारतीय पक्षलाई अनुरोध गरेपनि भारतले कानमा तेल हालेर बसेको छ । ‘मैले परराष्ट्रमन्त्रीमार्फत् कोशीका सबै ढोका खोल्न भनेको छु । भारतीय राजदूतसँग पनि कुराकानी भएको जानकारी मलाई छ, त्यतातर्फ पनि प्रयत्न जारी राखेका छौं,’ मन्त्री शर्माले भने । सप्तकोशीमा पानीको बहाव उच्च छ र सबै ५६ वटै ढोका खोल्न भारतीय पक्षलाई भनिएको छ । बाँध नेपालमा भए पनि त्यसको ढोका खोल्न भारतको अनुमति लिनुपर्ने समझदारी छ । हिजै गृहमन्त्रीले आग्रह गरेको भएपनि आजसम्म सबै ढोका खोलिएको छैन । गण्डक नहर भासिन सक्ने भन्दै पानी बन्द गरियो नवलपरासीतर्फ आउने गण्डक नहर भासिने खतरा बढेको भन्दै पानी बन्द गरिएको छ । प्रतापपुर गाउँपालिका–८ सुरजपुराको एक किलोमिटर उतरतर्फ ४२ आरडीमा नहरको भासिन लागेको खबर आएपछि आइतबार बिहान साढे सात बजेदेखि पानी बन्द गरेको हो । यसले सुरजपुरामा रहेको १५ मेगावाट उत्पादन क्षमताको गण्डक जलविद्युत गृह ठप्प भएको छ । नहर बन्द गरिएपछि नारायणी नदीको ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । यसले नारायणी नदीमा पानीको बहाब बढ्न थालेको जलस्तर मापन केन्द्र वाल्मिकिनगरले जनाएको छ ।

नवलपरासीमा ४० घण्टादेखि यातायात अबरुद्ध दाउन्नेमा सडक भासिएका कारण अबरुद्ध रहेको यातायात खुलाउन सकिएको छैन । लगातारको बर्षा नरोकिएका कारण सडक भासिएको स्थानमा वैकल्पिक मार्ग बनाउन नसक्दा यातायात सञ्चालनमा आउन नसकेको हो । दाउन्नेको दर्जनौं स्थानमा पहिरो खसेर राजमार्ग अबरुद्ध भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत बर्दघाटतर्फ दाउन्नेको एस मोडदेखि केहि पूर्वतर्फ पक्की सडक २५ मिटर तल खसेको छ । सडक भासिएको स्थानमा वैकल्पिक सडक (डाइभर्सन) बनाउन गरिएको प्रयास लगाताको वर्षातका कारण सम्भव भएको छैन । पहिरो हटाउन र डाइभर्सन बनाउन गएको डोजरले वर्षादका कारण काम गर्न सकेको छैन । लगातारको वर्षादका कारण उक्त खण्डमा यातायात सञ्चालन हुन नसक्दा पश्चिमवाट पूर्वतर्फ हिडेका यात्रुबहाक वस बुटवल पोखरा हुदै राजधानी काठमाडौंतर्फ जाने गरेका छन् । झापा, मोरङ, वीरगन्ज जाने यात्रुबहाक बस भने अलपत्र परेका छन् । दाउन्नेको पहाडमा गाडीमा अलपत्र यात्रुहरु चाउचाउ र बिस्कुटका भरमा दिन काटेका छन् । यात्रु जाममा परेको अवस्थामा चाउचाउ , बिस्कुट र मिनरलवाटरको आफूखुसी मुल्य असुलेको गुनासो यात्रुहरुको छ । पश्चिमबाट महेन्द्र राजमार्ग हुँदै पूर्व हिडेका गाडीलाई प्रहरीले बुटवलमै रोकेको छ भने पूर्ववाट पश्चिम तर्फ हीडेका गाडीलाई दुम्किवासमा रोकेको छ । जिल्ला प्रहरीले राजमार्गमा बैकल्पिक सडक नबनाइएसम्म पोखराको बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित