सुपर ग्यास उद्योगमा भीषण आगलागी, २ जनाको मृत्यु, दमकल समेत जल्यो

काठमाडौं : वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भीषण आगोलागि हुँदा अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने आगो निभाउन गएको दमकल समेत जलेको छ । बिहान ६ बजेदेखि भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागी भएसँगै त्यहाँ पुगेको विरगन्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गरेको थियो । प्रहरीका अनुसार आगलागीमा परी २ जनाको ज्यानसमेत गएको छ। यद्यपी उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन। आगो निभाउन दमकलका कर्मचारीहरु मधुसुदन मिश्र, यादवप्रसाद अधिकारी गएको बुझिएको छ । चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल पनि घाइते छन् । उनीहरुको उपचार भइरहेको छ । आगलागी नियन्त्रण गर्नका लागि वीरगन्जमा रहेको भारतीय महावाणीज्य दूतावासको कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी)को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै छ । पर्साका एसपी गणेश रेग्मीका अनुसार बुलेटबाट ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाइएको छ । जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराइरहेको छ । अहिले त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली त्यहाँ पुगेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ नजिकै जान सक्ने अवस्था छैन र समय समयमा विष्फोट पनि भइरहेको छ । सात वर्ष पहिले सुरु भएको उद्योग अवुलेश अन्सारीको हो। अवुलेश वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक पनि हुन्।

 

प्रतिक्रिया

सम्बन्धित