एनआरएनएको निर्वाचनमा उम्मेदवारी दिन गुरुङमाथि दबाब

trilok gurung

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा हुन गइरहेको नवौं महाधिवेशनमा नेतृत्व तहका लागि यतिखेर राम्रा उम्मेदवारहरुको खोजी शुरु भएको छ । अक्टोबरमा हुने निर्वाचनमा कतिपयले उम्मेदवारी घोषणा गरिसकेका छन् भने कतिपय योग्य र क्षमतावान उम्मेदवारहरु चुप लागेर बस्दा एनआरएनएका सदस्यहरुमा एक खालको अन्यौल पनि छाएको छ ।

बाहिर प्रचारमा आउन नचाहने तर, राम्रो काम गरेर सँधै सबैको मन जित्न सफल पूर्व आइसिसी सल्लाहकार यमकुमार गुरुङ (त्रिलोक)को चर्चा यतिखेर शिखरमा पुगेको छ ।

राम्रो नेतृत्व र काम गर्ने व्यक्तिहरुको टिम बनेमा गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिने संभावना देखिएको छ । यद्यपी गुरुङले उम्मेदवारी दिने निर्णय भने गरिसकेका छैनन् ।

एनआरएनएको अभियानमा लामो समयदेखि सक्रियपूर्वक लाग्दै आएका गुरुङ राम्रो नेतृत्व र नेतृत्व तहमा काम गर्न सक्ने व्यक्तिहरुको समूह बनेको खण्डमा मात्र उम्मेदवारी दिने मनसायमा पुगेको एनआरएनएका एक अधिकारी बताउँछन् ।

गुरुङ जुन देश पुग्छन्, त्यहाँ एनआरएनएमा काम गर्ने व्यक्तिको अभाव भएको भन्दै नेतृत्व तहमा आउन उनलाइ प्रतिनिधिहरूले नै दबाब र सुझाव दिइरहेका हुन्छन् । जसका कारण पनि उनी राम्रो समूह बनेको खण्डमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने सोचमा छन् ।

एनआरएनएमा शेष घले नेतृत्वमा भएका धेरै राम्रा कामलाई अगाडि बढाउन आवश्यक भए पनि पूरा हुन नसकेकोप्रति गुरुङ चिन्ता व्यक्त गर्छन् । घलेले गोरखाको लाप्राङमा बनाउन लागेको नमूना वस्तीमा यतिखेर राम्रोसँग काम हुन सकिरहेको छैन ।

उक्त प्रोजेक्टप्रति चिन्ता व्यक्त गर्दै गुरुङ भन्छन्–‘लाप्राक एउटा एनआरएनएको नमूना प्रोजेक्ट हो । यसलाई हामी मिलेर समयमै निर्माण सम्पन्न गर्न सकेनौ भने हाम्रोमात्र होइन एनआरएनए संस्थाप्रति नै सरकार र जनताले हेर्ने दृष्टिकोण नकारात्मक हुनसक्छ ।’

त्यसो त इटाली सम्मेलनमा गुरुङ पुग्दा धेरैले उनलाई तपाई जस्तो व्यक्ति एनआरएनएमा आवश्यक छ भन्दै नेतृत्वमा आउन दबाब दिएका थिए ।

एनआरएनएको भिजन २०२० एण्ड वियोण्ड, एनआरएनए नागरिकताको कार्यान्वयन, विदेशबाट १० अर्ब लगानी भित्र्याउनेजस्ता महत्वपूर्ण कार्यलाई अगाडि बढाउन आवश्यक रहेको गुरुङको बताउँछन् ।

तर, त्यति ठूलो कामका लागि तपाई किन नेतृत्वमा नआउने भन्ने माइन्यूज नेपालको प्रश्नमा गुरुङ भन्छन्–‘हो, मलाई धेरैतिरबाट यहि प्रश्न आइरहेको छ । यदि योग्यहरुको राम्रो समूह बनेर मलाई प्रस्ताव आयो भने अवश्य पनि म उम्मेदवारी दिने छु । तर, अहिले सोचिसकेको भने छैन ।’

एनआरएनएमा सक्षम, इमान्दार र योगदान गरेको व्यक्तिको आवश्यक रहेको भन्दै गुरुङ राम्रा र काम गर्न सक्ने व्यक्तिहरु नेतृत्व तहमा आउनुपर्ने धारणा राख्छन् ।

एनआरएनए हङकङको दुई पटक अध्यक्ष हुँदै एसिया प्यासिफिकको संयोजक, आइसिसी सल्लाहकारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका गुरुङले एनआरएनएको लाप्राक प्रोजेक्टमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

trilok gurung rahat

गुरुङले लाप्राकमा नमूना वस्ती निर्माणमा आफै ९ पटकसम्म पुगेर स्वयंसेवकको भूमिका निर्वाह मात्र गरेनन्, १५ लाख रुपैयाँ सहयोग समेत गरे ।

त्यसैगरी एशिया क्षेत्रबाट पनि २५ लाख रकम उठाएर लाप्राक पुर्याएका थिए । त्यस्तै सप्तरीमा बाढि पीडितका लागि स्वयंसेवक भएका काम गरी गुरुङले ११ लाख रकम वितरण गरेका थिए ।

त्यतिमात्र होइन् समाजसेवी गुरुङले भारतको अघोषित नाकावन्दीका बेला जनकपुर अस्पताललाई ७ लाख बराबरको औषधी प्रदान गरेका थिए । गुरुङले एनआरएनए चाइना र हङकङसँग सहकार्य गरी नेपालमा ब्लड ट्रान्समिसन(रक्त प्रशारण) ब्याग प्रदान गरेर उदाहरणीय काम गरेका थिए ।

गुरुङले पछिल्लो समय नेपालमा स्याउ फार्म, बायोग्यासदेखि सोलारसम्म लगानी गरेका छन् ।

गोर्खा एकता इन्टरनेशनल ग्रुपमार्फत् हङकङ र मकाउमा निर्माण तथा सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका गुरुङ जब मुलुकलाई संकट पर्छ, त्यतिबेला पीडितसमक्ष पुगेर उनीहरुको पीडालाई राहत प्रदान गरी उनीहरुको घाउमा मलम लगाउन तत्पर भइहाल्छन् ।

उनको यो कामले एनआरएनएको गरिमालाई मात्रै बढाएको छैन, नेपालमा बैदेशिक लगानी भित्राएर नेपालको आर्थिक बृदिदर बढ्नमा सयोग पुगिरहेको छ ।

त्यसो त गुरुङले विभिन्न व्यवसायहरुमार्फत नेपाललाई विश्व सामु चिनाउन समेत सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित