ओली विदेशमा भएका बेला नेकपामा थपिए ४ केन्द्रीय सदस्य

nekapa

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको सोमबार बसेको बैठकले चार जनालाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सांसद देवेन्द्र पौडेल, पूर्वसभासद् कल्पना धमला, पूर्वमन्त्री पदम राई र पूर्वसभासद किरण राईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

नेकपा मुख्यालय धुम्बाराहीमा बसेको बैठकबाट केन्द्रीय सदस्यमा मनोनित सांसद देवेन्द्र पौडेल तत्कालीन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार हुन् ।

धमला दुई महिनाअघि मात्र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकीकरण भएपछि नेकपामा प्रवेश गरेकी थिइन् ।


पूर्वराज्यमन्त्री पद्म राई र पूर्वसभासद किरण राई दुवै जना प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यबाट राजीनामा दिएर नेकपामा प्रवेश गरेका थिए ।

समाजवादी पार्टी छाडी नेकपामा आएका पराजुली र धमलालाई असार २१ गते अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए।

बैठकले राष्ट्रिय सुरक्षा विभागको प्रमुखमा कानूनमन्त्री भानुभक्त ढकाललाई चयन गर्नुका साथै अन्य सात वटा विभागको इन्चार्ज र सहइन्चार्ज तथा अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी हेरफेर गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा ने क पाका अर्का अध्यक्ष प्रचण्डले पहिलोपटक बैठक डाकेका हुन्।

बैठकमा प्रधानमन्त्री ओलीबाहेक ८ जना सचिवालय सदस्य उपस्थित भए। यसअघि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो। पार्टी एकतापछि धुम्बाहाराहीमा गत मंसिरमा एक पटक स्थायी समितिको बैठक बसेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित