प्रधानमन्त्रीले सिंगापुरबाट चलाएको क्याबिनेट बैठकप्रति थापा, शर्मा र रावलको आपत्ति

pm singapor

  काठमाडौं । नेपालको इतिहासमा नै पहिलो पटक भदौ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट भिडिओ कन्फेरेन्सबाट मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सञ्चालन गरे ।

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोग गर्दै मन्त्रिपरिषद बैठकमा ‘भर्चुअल’ (अभौतिक) रुपमा सहभागी भएका हुन् ।

तर, प्रधानमन्त्रीले चलाएको उक्त क्याबिनेट बैठकप्रति विभिन्न टिका टिप्पण शुरु भएको छ । प्रविधिको प्रयोग गर्नु एकदमै राम्रो पक्ष हो तर, अहिले त्यसको विश्वासनियतामाथि प्रश्न उठाइएको छ ।

भदौ ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीले सोमबारको क्याबिनेट बैठक भिडिओ कन्फेरेन्समार्फत् उतैबाट चलाएका थिए। प्रधानमन्त्रीले विदेशबाट क्याबिनेट बैठक चलाएको यो पहिलो पटक हो।

अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकबाट कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा पनि भिडिओ कन्फेरेन्सबाट मन्त्रिपरिषदको बैठक बस्न सक्ने निर्णय गरिएको थियो।

यद्यपी अहिले भने प्रधानमन्त्रीले विदेशी भूमिबाट क्याबिनेट बैठक चलाउँदा एकातिर गलत नजिर स्थापना हुने र अर्कातिर देशका महत्वपूर्ण निर्णय चुहावट हुने भन्दै आलोचना भएको हो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भोलि सभामुखले संसद र प्रधानन्यायाधीशले अदालत विदेशबाट चलाए भने के गर्ने भन्दै प्रश्न गरेका छन्।

उनले ट्वीट गर्दै भनेका छन्–‘सरकारमा कम्युनिष्ट पार्टी छ, अलग कुरा। तर सरकार त हामी सबै नेपालीको हो। कार्यसम्पादन नियमावली संशोधन गरेर आज कार्यपालिकाको बैठक विदेशबाट चलाइएको नजिर आधार मानेर भोलि सभामुखले संसद र प्रधानन्यायाधीशले अदालत विदेशबाटै चलाउने कर्म गरे देशलाई त्यो पाच्य होला ?’ प्रधानमन्त्री शीघ्र स्वास्थ्यलाभ गरेर स्वदेश फर्कनुहोस्, जनताले दिएको म्यान्डेट बमोजिम पूरा अवधि सरकार चलाउनुहोस्। तर, विदेशबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्न मिल्ने गलत परम्परा नबसाउनुहोस्। विनम्र ढंगले गम्भीर विमति।’

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले भिडिओ कन्फेरेन्सबाट मन्त्रिपरिषद बैठक चलाउनु वाहियात र देखावटी भएको बताएका छन्।

थापाले ट्वीटरमा लेखेका छन्–‘न देशमा आपतकाल छ, न तत्काल बितिहाल्ने काम छ। सरकारप्रति जनताको वितृष्णा बढ्दै छ। यस्तो अवस्थामा किन यस्तो वाहियात र देखावटी तामझाममा उपचाररत प्रमलाई प्रोत्साहित गरिन्छ ?’

त्यसो त विपक्षीमात्र होइन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले पनि प्रधानमन्त्रीले विदेशबाट क्याबिनेट बैठक चलाउन नमिल्ने बताएका छन्।

नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रविधि छ भन्दैमा सार्वभौमसत्ता सम्पन्न मुलुकको मन्त्रिपरिषद बैठक विदेशबाट सञ्चालन गर्न नमिल्ने तर्क गरेका छन्।

‘साधारणतया कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्री या राष्ट्रपतिले विदेशमा रहँदा त्यहाँबाट आफ्नो देशको भौगोलिक क्षेत्राधिकारभन्दा बाहिर रहेर मन्त्रिपरिपद बैठक सञ्चालन गरेको मलाई आजसम्म थाहा छैन,’ कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा रावलले भनेका छन्, ‘मन्त्रिपरिषदका निर्णयहरू भनेका राष्ट्रिय गोप्यतासँग सम्बन्धित पनि हुन्छन्, जबसम्म सरकारले कुनै विषयलाई सार्वजनिक गर्नुपर्छ भन्ने कुरा ठान्दैन तबसम्म ती कुराहरू सार्वजनिक जानकारीमा आउँदैनन्।’

भिडिओ कन्फेरेन्सबाट मन्त्रिपरिषद बैठक गर्ने प्रवृत्ति गलत भएको रावलले बताए। जसलाई कार्यवाहक प्रधानमन्त्री बनाइन्छ उसैले मन्त्रिपरिषद बैठक सञ्चालन गर्नुपर्ने रावलको तर्क छ।

प्रधानमन्त्रीका सूचना, प्रविधि सल्लाहकार अस्गर अलीले भिडिओ कन्फेरेन्सबाट गरिएको मन्त्रिपरिषद बैठक सुरक्षित भएको दाबी गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्–‘सूचना पूर्णतः सुरक्षित रहन्छ,’ सामान्य सुरक्षा कवचमा बसेर मन्त्रिपरिषद जस्तो अत्यन्त संवेदनशील बैठक गर्न कोही नेपालीले आँट गर्न सक्दैन। यसलाई सामान्य स्काइप कल, फेसबुक लाइभ, युट्युब स्ट्रिमिङजस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ।’

प्रतिक्रिया

सम्बन्धित