मितलाई अख्तियारको आयुक्त बनाउन महतोको गोप्य मिटिङ

upendra aryal and mahato

 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेका दुई आयुक्त पदमा नियुक्ति खानका लागि पूर्व प्रशासकदेखि पूर्व आईजीपीसम्मको दौडधुप चलेको छ । नवीनकुमार घिमिरे प्रमुख आयुक्तमा नियुक्ति र राजनारायण पाठक भ्रष्टाचार काण्डमा मुछिएर राजीनामा दिएपछि अख्तियारमा २ वटा आयुक्तका पद रिक्त छन् ।

 घिमिरेको पदावधि एक वर्ष भन्दा बढी नभएका कारण पनि अहिले जो पहिला आयुक्त बन्छ उही प्रमुख बन्ने हुँदा चलखेल व्यापक मात्रामा बढेको हो । आयुक्त पदमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको पनि चर्चा छ ।

 यद्यपि उनले गृह मन्त्रालयमा बसेर देखाएको बढी सक्रियताका कारण उनी मुख्यसचिब बन्ने संभावना बढी छ । कर्मचारी वृत्तमा राईले अहिले पनि मुख्य सचिवले गर्नुपर्ने कामहरु गर्दै आएको टिप्पणी हुने गर्दछ ।
आयुक्त पदकै लागि सबैभन्दा बढी भिड्नेमा पूर्व प्रहरी अधिकारीहरु छन् । पूर्व आईजीपी उपेन्द्रकान्त अर्याललाई आयुक्त बनाउनका लागि एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो भिडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा रहेको बेला एनसेलका सतिशलाल आचार्यको समूह र अदालतमा विचौलियाको काम गर्ने दीपक तिमल्सिना नामका दलाल अर्यालको लबिङ गरिरहेका छन् ।

 महतोले अर्याललाई पटक–पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिटिङ गराएको स्रोत वताउँछ ।
महतो र अर्याल मित हुन् । स्रोतका अनुसार अर्याललाई आयुक्त बनाउने विषयमा भदौ ६ गते शुक्रबार बेलुका ९ बजेतिर बालुवाटारमा रहेको एभोगाडो नामक रेष्टुरेन्टमा केही बद्नाम व्यापारीहरुलाई लिएर महतोले अर्यालसँग मिटिङ गराएका थिए ।

 अर्याललाई नै आयुक्त बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले पनि आश्वासन दिएका छन् । महासेठ महतोका बहिनी ज्वाँइसमेत हुन् ।
लोकमानसिंह कार्की अख्तियारको प्रमुख छँदा अर्यालविरुद्ध अकूत सम्पत्तिमा मुद्दा परेको थियो । तर, दीप बस्नेत प्रमुख आयुक्त भएपछि महतोकै पहलमा अर्यालको मुद्दा तामेलीमा राखेर अकूतबाट जोगाइएको थियो ।

 बस्नेतका छोरा कमल, शक्तिकेन्द्रमा विचौलियाको काम गर्ने महतोका एजेन्टका रुपमा चिनिने दीपक तिमल्सिनाको चलखेलका आधारमा अर्यालको मुद्दा तामेलीमा राखिएको थियो ।
अर्यालले सिरहाको आफ्नो बारीको आँप बिक्री गरी सम्पत्ति आर्जन गरेको १३ पन्ने विवरणमा भरेका थिए । उनको सिन्धुलीको दुधौलीमा सयौं रोपनी जमिन रहेको अनुसन्धानका क्रममा खुलेको थियो ।

 अर्यालका छोरा आयुषले डा. गरिबदास ठाकुरका छोरा अनिमेष ठाकुरको हत्या गरेको अभियोग लागे पनि मीत उपेन्द्र महतोले चोलेन्द्रशमशेर राणा प्रधाननन्यायाधीश भएपछि मुद्दा जिताइदिएका थिए । पूर्वमहान्यायाधीवक्ता रमणकुमार श्रेष्ठलाई प्रभावमा पारी उनले सुटुक्क मुद्दा नचल्ने निर्णय गराएका थिए । अनिमेषको हत्याको जाहेरी नलिन तत्कालीन आइजीपी अर्यालले कास्कीका तत्कालिन एसपी हरि पाललाई दबाब दिएर मिलाएका थिए ।

 त्यसैगरी, पूर्व एआईजीद्धय केशरीराज घिमिरे र सुरेन्द्रबहादुर शाह पनि आयुक्त बन्न दौडधुपमा लागेका छन् । नेकपाका अध्यक्ष प्रचण्डका विश्वासपात्र पूर्व एआईजी घिमिरे आर्थिक मामिलामा बद्नाम पात्र हुन् । पूर्वमन्त्री जनार्दन शर्मासँग नजिकको सम्बन्ध रहेका शाहलाई शर्माकै पालामा गृहमन्त्रालयको सल्लाहकारमा नियुक्तसमेत गरिएको थियो । जनार्दन र प्रचण्डबीच राम्रो सम्बन्ध भएका कारण पनि प्रचण्डले शाहलाई नै सिफारिस गर्नसक्ने देखिएको छ ।

 त्यसैगरी अख्तियारकै पूर्वसचिव श्रीधर सापकोटा पनि आयुक्त बन्न लबिङमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेका सापकोटालाई आफू आयुक्त बन्ने अवस्था नदेखिएमा गृहसचिव राइले पनि सहयोग गर्ने राई निकट स्रोत बताउँछ ।

  राई र सापकोटा मिल्ने साथीमात्र नभई अख्तियारमा सँगै काम गरेका सहपाठी समेत हुन् । त्यसैगरी लोकमानसिंह कार्की निकट पूर्व सचिब अर्जुनकुमार कार्की पनि आयुक्त हुने दाउमा सबै शक्ति प्रयोग गरिरहेका छन् ।

 राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट गएको साउन २२ मा अवकाश पाएका उनको अकूत सम्पत्तिका बारेमा अख्तियारले यसअघि छानबिन गरी दीप बस्नेतले नै तामेलीमा हालेका थिए । भर्खरै युवा तथा खेलकुद मन्त्रालयबाट अवकाश पाएका कृष्णप्रसाद देवकोटा र खानेपानी मन्त्रालयबाट बिदा भएका दीपेन्द्रनाथ शर्मा पनि आयुक्त बन्न लबिङमा छन् ।

 उनीहरुले भर्खरै मात्र अबकाश पाएका हुन ।  आयुक्त पदमा नियुक्तिका लागि संबैधानिक परिषद्को बैठक बसी सिफारिस गर्नुपर्ने हुन्छ । र, संसदीय सुनुवाइमा अनुमोदन भएपछि मात्र नियुक्त हुनेछन् । प्रधानमन्त्री ओली स्वदेश फर्किए लगत्तै आयुक्तको नियुक्ति प्रक्रिया शुरु हुने प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित