डा. केसी मास्क ब्रोकर वा मुखौटा दलाल बन्न लागेका हुन ?

डा. छवि पन्थी/

 डा. गोविन्द केसी यसपटकसम्म एघारवटा आमरण अनशन बसीसकेका छन् । यो अवश्य सजिलो यात्रा होइन र थिएन । उनका माग अधिकाश सही पनि छन् । जनताको भावनासँग जोडिएका छन् । स्वास्थ्य सेवा उनले भनेको दिशामा अगाडि बढ्नु नै उत्तम रहन्छ । ४ बर्षको अन्तरालमा केसीले तोकेका र हुनुपर्छ भनेकाहरु ६ जना डिन र एसिस्टेन्ट डिन भए । उपलब्धी के भए त ? बरु आईओएममा रहेका र भएका अधिकारहरु टियुमा बुझाए । र केहीले राजीनामा दिई डिनको अफिसमा फोटो झुन्डाएर गए । हेक्का राख्नुहोस् त– अब पनि डाक्टर केसीले भनेका मान्छे जुनियर भए पनि सिनियर बनाइदिएर बाँकी रहेका २ जना एसिस्टेन्ट डिनहरु र नर्सिंङ क्याम्पसका चिफ नियुक्ति गरिदियो भने उनले जुस पिउँछन् र भात खान्छन् । यसपालीको उपलब्धी भनेको अब उपरान्त एमबीबीएस, एमडी र एमएस लगाएतका बिषयहरुको प्रवेश परीक्षा योजना अनुसार चिकित्सा शिक्षा आयोगले लिने गर्छ ।

 त्यसैले अहिलेको अनशनले हुने फाईदा नेपालमा चलिरहेका पुराना मेडिकल कलेजहरु छानी–छानी बढी पैसा तिर्ने विद्यार्थीहरुलाई भर्ना गरेर मालामाल हुन्छन्, हुन पाउँछन् र भएका पनि छन् । मेडिकल पढ्न विदेश पठाउने कन्सलटेन्सीहरुले पनि बर्षेनी करोडौं रुपैयाँ कमिसनको रुपमा कमाएका छन् । सक्नेले छोराछोरीलाई डलर तिरेर र नसक्नेले जायजेथा बेचेर ऋण गरेर पढाएकै छन् । यो दुवैको निरन्तरताको द्योतक डा. केसी नै हुन् । किनकी नयाँ कलेज खोल्न उनको अनसन बाधक बनिरहेको छ । उनका माग छन्– जनशक्ति उत्पादन छैन, मेडिकल शिक्षा महँगो भयो, विदेशमा पढेर आएकाहरु फेल हुन्छन्, गरीबका छोरा छोरीले डाक्टर पढ्न पाएनन् । डा. केसीका यी भावना सही छन्, जायज छन् । तर, गरीवका छोराछोरीलाई कठीन प्रतिस्पर्धामा उतार्न के गर्नु पर्छ ?  विद्यालय शिक्षाको गुणस्तरमा सुधार्नु पर्छ कि नाईं ?  गरीवलाई त्यहाँ लगानी गरेर ‘कम्पिटेन्ट’ बनाउनु पर्छ कि नाई ? गुणस्तर र योग्यता नभएकोलाई आरक्षणमा संरक्षित गर्दा योग्य कहाँ जान्छन् ? अब समाधानका लागि के गर्न सकिन्छ भन्ने कुराको लेखाजोखा गरौं ।

   नेपालको अर्थव्यवस्था पब्लिक प्राइभेट पार्टनरशिपको छ । सरकारी क्षेत्रको भन्दा गुणस्तरीय सेवाको लागि निजी क्षेत्रले अरबौं लगानी गरेको छ, त्यो सेवाको नाममा होस् वा ब्यवसायको नाममा । उनले गर्ने आन्दोलन केवल सरकारलाई गलाएर जीवनमरणको धम्की दिई जुस पिउनेमा सिमित छ । समस्या रहेको भनिएको सरोकारवाला निजी क्षेत्रसँग उनले र उनको विज्ञ भनिएको टिमले यो एघार पटकको अनशनसम्म आईपुग्दा कहिँ कतै छलफल गरेन । कहिले कहिले कहाँ को को सँग छलफल गर्यो त ?  कुनै रेकर्ड छैन । ३०–३० बर्ष सेवा गरेका फ्याकल्टीहरुलाई कांग्रेस, एमाले र माओवादीका भरौटे र मेडिकल माफिया भनेर केसी सडकबाट डुक्रिन्छन् भने अर्कोतर्फ केसीका सहयोगीहरु अनशन बस्नु ठीक होइन भन्नेहरुलाई सिधै माफियाको बिल्ला भिराउँछन् ।

 तीनबर्ष पढ्न आएको रेसिडेन्ट विद्यार्थीलाई राम्रोसँग पढ्न नदिई बारम्वार भोकहडताल अनशन गराएर टियुटिएच र आईओएमलाई समाप्त पार्दैछन् । यसै कारण निरन्तर शैक्षिक गुणस्तर न्युन हुँदै गईरहेको ब्यवहारिक रुपमा नै छर्लंङ्ग छ । मागहरु हेर्दा सामान्य जेनेरेटर सारीदिनु पर्यो भन्ने सम्मका छन् । के उनी त्यो कार्य स्वयं गर्न सक्दैनन् रु के तिनी त्यो संस्थामा काम गर्दैनन् ? के सामान्य समस्या समाधानका लागि पनि अनशन नै बस्नु पर्ने हो ? नेपालमा सयौं मेडिकल कलेज खोलिनु पर्छ र खोलिन्छ ।

 नेपाललाई मेडिकल शिक्षाको लागि उत्तम गन्तव्य बनाउने र शैक्षिक पर्यटनको विकास गरी समग्र देशको अर्थव्यवस्था सुधार्नु पर्छ । प्रतिस्पर्धात्मक तरिकाले अति विशिष्ट जनशक्ति उत्पादन गर्नु पर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यतालाई कुल्चिएर बालहठ र सनकमा अगाडि सारिएका दीर्घ कालसम्म असर गर्ने सम्झौता गरेर विश्व ब्यवस्था र लोकतान्त्रिक परिपाटीको खिल्ली उडाउने र बारम्बार सत्याग्रहको औचित्य के हो भन्ने कुराको उपहास गरिनु हुँदैन । डा. केसीका परिकल्पना भावनात्मक रुपमा सुन्दर छन्, यसमा दुईमत छैन । तर, त्यो प्राप्त गर्न उनले अगाडि सारेको प्रेस्किप्सन गलत र हानिकारक छ । ती मागका गन्तब्यमा जान त मेडिकल शिक्षालाई प्रतिस्पर्धात्मक र गुणस्तरीय बनाउनु पर्यो । उनले सुझाएको बाटोबाट मेडिकल शिक्षामा अहिले चलिरहेको लूट निरन्तर हुनेछ । यसअर्थमा केसी नेपाली अर्थब्यवस्था र तीन करोड जनताको ठेकेदार बन्न खोजिरहेका छन् ।

  के उनी मुखौटा दलाल वा मास्क ब्रोकर होईनन् ? स्मरण गराउन चाहेँ– एक्काईसौं शताब्दीसम्म आइपुग्दा स्वास्थ्य अब केवल सेवा मात्र नभएर अर्थोपार्जनको पनि राम्रो ब्यवसाय हो भन्ने कुरालाई डव्लुएचओ सम्मले अंगिकार गर्दै आइरहेको छ । र विश्वभर यही मान्यतालाई आम विद्यार्थी समक्ष अध्ययन अध्यापन गरार्इंदै आएको छ । अधिकार प्राप्तिको नाममा आफ्नो काम, पेशा र कर्तव्य अनि सेता कोट र स्टेथेस्कोपको गरिमालाई अबमूल्यन गरी विरामीलाई सेवा नदिई सडकमा कुर्लने डाक्टर वा स्वास्थ्यकर्मीबाट आम जनताले के आशा राख्न सक्छन् ?  यो अप्ठ्यारो परिस्थितिमा सबैले बुझ्नु पर्ने कुरा के हो भने आम लहड र सनकमा लागेर क्षणिक फाईदामा लुटपटिनु भएन । देशको बृहत्तर हितको लागि हुने कामहरु गरिनु पर्यो ।

  होइन भने राज्यले सक्नुपर्यो आफ्नो कव्जामा राख्न । देशका सबै निजी तथा साझेदारी ब्यबसायिक संस्थाहरुलाई राज्यले खरिद गरिदिनु पर्यो । स्वास्थ्यका मात्र किन ? शिक्षा क्षेत्रका कयौं स्कूलहरु– रातो बंगला युलेन्स लगायतका सबै खरिद गरोस् । राज्यले निजी क्षेत्रको लगानी फिर्ता गरोस्, पंक्तिकारको चुनौती छ, सक्छ ? अत : सेलिब्रिटी डाक्टर केसीले आफ्नो अनशन तोडेर प्रादेशिक संरचनामा बन्न लागेका मेडिकल कलेजहरु निर्माणमा सहयोग गरुन् । आफ्नो विशेषज्ञतालाई उच्चतम प्रयोग गरेर विरामीहरुको सेवा गरुन् । आइओएमको चौतर्फी बातावरण राम्रो बनाउन समावेश होउन् ।

  निरपेक्ष स्वास्थ्य पेशामा मात्र दोष नभएर राजनीतिमै दोष छ भन्ने आत्मसात गरुन् । स्वस्थ्य सेवा मात्र होइन, ब्यवसाय पनि हो भन्ने सिकुन् र समस्या समाधानको लागि सर्वपक्षीय सरोकार वालाहरुसँग घनीभूत छलफल गरुन् । अब उनको यो अनशन अन्तिम भोक हड्ताल बन्न सकोस् । एक्लो बृहस्पतिको सौर्यमण्डलमा त काम हुन्न भन्छन्, अहिलेको समाजमा केसी एक्लो बृहस्पति बन्नु र बनिरहनु हुन्न । यो पेशाका हजारौं विज्ञहरु माफिया र उनी एक्लै भगवान कसरी हुन सक्छन् ?-चक्रपथबाट 

प्रतिक्रिया

सम्बन्धित