आज कुशे औँशी, बुवालाई सम्झने दिन

kushe aaunshi

  काठमाडौं । आज भाद्र कृष्ण औँशी अर्थात बुबाको मुख हेर्ने दिन । बाबु जीवित हुने छोरा छोरीले आज मीठामीठा कुरा खान एवं राम्रा कपडा लगाउन दिएर बुबाको मुख हेर्छन् भने नहुनेहरुले बुबाको नाममा श्रद्ध गर्ने चलन छ ।

आजको दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ।

पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ।

यही विश्वासमा देशका विभिन्न भागबाट आएका भक्तजनको बिहीबारदेखि भीड लागेको मन्दिरका पुजारी भट्टले बताए। कति भक्तजन बिहीबार बेलुकी नै मन्दिर परिसरमै आई बसेका थिए।

दिवङ्गत भइसकेका पिताले भाद्र कृष्ण औँशीका दिन सन्तानबाट जल एवं सिदादानको आशा गरी बसेका हुन्छन् भन्ने शास्त्रीय वचनअनुसार आजको दिन श्राद्ध गर्ने परम्परा शुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

त्यसैगरी वाग्मतीको किनारमा रहेको पशुपतिनाथ मन्दिर, शङ्खमूल, टेकुलगायत स्थलमा पनि दिवङ्गत पिताका नाममा श्रद्धा भक्तिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ।

उपत्यका बाहिर बेत्रावतीस्थित उत्तरगया, देवघाट, त्रिवेणी, रिडी इन्द्रावती किनारस्थित स्फटकिश्वर महादेव मन्दिर क्षेत्रलगायत स्थानमा पनि भक्तजनको भीड लागेको छ।

त्यसैगरी आज वर्षभर देव एवं पितृकार्यमा प्रयोग गरिने कुश घर घरमा भित्र्याइन्छ। ब्राह्मण पुरोहितले कुश छेदन गरी जजमानको घर घरमा पुर्‍याउने परम्परा छ। यसैले आजको दिनलाई कुशे औँशी पनि भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित