अमेरिकामा फेरि बन्दुक आक्रमण हुँदा ५ को मृत्यु, १६ घाइते

america

  काठमाडौं । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ भने दर्जन बढी घाइते भएका छन् ।

एल पासोमा ४ साताअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिमी शहरहरू ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण भएको हो ।

टेक्सासका प्रहरी प्रवक्ताले घटनाको पुष्टि गर्दै गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र अन्य १६ घाइते भएको जनाएका छन् ।

ओडेसाको अस्पतालमा उपचाररत घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुले जनाएअनुसार, २ वर्ष मुनिका बच्चालाई समेत बन्दुकधारीले गोली हानेका छन् । ती बच्चाको अहिले ओडेसाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

ओडेसा नगरका प्रहरीका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले आफ्नो गाडी रोक्ने ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेका थिए ।

प्रहरीले एक संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारेको छ । उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको हो । घटनामा अन्य व्यक्तिको संलग्नता रहे÷नरहेको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे महान्यायाधिवक्ताबाट जानकारी लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआईलगायतले यसबारे अनुसन्धान गरिरहेको लेखेका छन् ।

४ साताअघि मात्रै पनि टेक्सासको एल पासोमा अन्धाधुन्ध गोली प्रहार भएको थियो । जसमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित