अनन्तलिङ्गेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न, २३ गते उद्घाटन

anantalingeshworq

  भक्तपुर । भक्तपुरको ऐतिहासिक अनन्तलिङ्गेश्वर महादेव मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । गत २०७२ वैशाख १२ गते गएको महाभूकम्पले क्षति पुगेको मन्दिरको तीन वर्ष तीन महिनापछि निर्माण सम्पन्न भएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा रहेको उक्त मन्दिरको भदौ २३ गते सोमबार उद्घाटन हुने भएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सोमबार विहान ८ः०० मन्दिरको उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यक्रम प्रचारप्रसार उपसमितिका संयोजक रामप्रसाद न्यौपानेले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कार्यक्रम अन्तर्गत एक करोड ६४ लाखको लागतमा पुरातत्व विभागले मन्दिरको पुनर्निर्माण गरेको हो ।

त्यस्तै मन्दिरको दुई तहको तामाको छानो भने ४४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ । उक्त महादेव मन्दिर भगवान शिवको ६४ औं ज्योतिर्लिङ्ग मध्येको एक भएको धार्मिक जनविश्वास रहदै आएको छ ।

न्यौपानेका अनुसार उपप्रधानमन्त्रीबाटै सोही दिन अनन्तलिङ्गेश्वर मन्दिर प्रवेशद्वार निकट रहेको अनन्त झूला तथा झोलुङ्गे पुलको समेत समुद्घाटन गरिने कार्यक्रम रहेको छ ।

उक्त झोलुङ्गे पुल २५ लाख १५ हजार ५ सय २८ को लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । सूर्य्विनायक नगरपालिका वडा नम्बर ४ र ७ को सिमानालाई जोड्ने झोलुङ्गे पुलमा अनन्त झूला निर्माण पश्चात अनन्तलिङ्गेश्वर मन्दिरमा आउने भक्तजनहरुका निम्ति समेत धार्मिक आकर्षण बन्दै गएको छ ।

anantalingeshworq tample

प्रतिक्रिया

सम्बन्धित