चार दशक शासन गरेका रोबर्ट मुगावेको निधन

mugabe

  काठमाडौं । जिम्बावेमा झन्डै चार दशक शासन गरेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको निधन भएको छ। सिंगापुरमा उपचार गराइरहेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

९५ वर्षीय मुगाव लामो समयदेखि सिंगापुरमा उपचार गराइरहेका थिए। उनलाई के रोग लागेको थियो भन्ने सार्वजनिक गरिएको थिएन। उपचारको क्रममा उनको निधन भएको परिवारले पुष्टि गरेको छ।

मुगावे सन् १९८७ देखि २०१७ सम्म जिम्बावेका राष्ट्रपति बनेका थिए। त्यसअघि सन् १९८० देखि १९८७ सम्म उनी प्रधानमन्त्री थिए।

सन् २०१७ मा भएको सैन्य कूपछि मुगावे सत्ताबाट बाहिरिएका थिए। पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोजेपछि उनको व्यापक आलोचना भएको थियो।

पत्नीलाई उत्तराधिकारीका रूपमा अघि बढाउने मनसुबा देखाएपछि उनको दल जानु–पिएफले मुगावेलाई पार्टी नेतृत्वबाट अपदस्थ गरेको थियो।

सन् १९८० मा जिम्बावे स्वतन्त्र भएदेखि नै शासन गर्दै आएका मुगावे अधोगतिको सुरूआत २०१७ नोभेम्बर ६ मा भएको थियो,त्यतिबेला उनले उपराष्ट्रपति इमरसन मांगाग्वालाई पदच्यूत गरेका थिए।

मुगावे पत्नी ग्रेस सन् २०१४ मा पार्टीको महिला संगठन प्रमुख थिइन्। त्यसै वर्ष डिसेम्बरमा उपराष्ट्रपतिको सिफारिसमा परिन्। त्यसयता उनले आफूलाई राष्ट्रपति दाबेदारका रूपमा प्रस्तुत गर्दै आएकी थिइन्।

विगतमा राष्ट्रपति कार्यालयमा ‘टाइपिस्ट’ को काम गर्ने ग्रेस र मुगावेको विवाह सन् १९९६ मा भएको थियो। यो दुवैको दोस्रो विवाह थियो। उनीहरूका तीन सन्तान छन्।

प्रतिक्रिया

सम्बन्धित