देशैभर डेंगु, ६ जनाको मृत्यु, ३१ सयमा संक्रमण

dengu

  काठमाडौं । डेंगुका कारण अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६१ जिल्लाका ३ हजार ९९ जनामा डेंगु पोजिटिभ देखिएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार साँझसम्म काठमाडौंमा २, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक–एक गरी ६ जनाको मृत्यु भएको जानकारी गराएको हो ।

मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक–एक जना रहेका छन् । वैशाख महिनादेखि अहिलेसम्मको तथ्यांक हेर्ने हो भने डेंगुबाट ७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

डेंगुको संक्रमण सबैभन्दा बढी प्रदेश ३ मा २ हजार १० जनामा फैलिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम ३ जनामा डेंगु देखिएको छ ।

जिल्लाका हिसाबले चितवनमा सबैभन्दा बढी एक हजार ३६ जनामा डेंगुको संकमण देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ मा ८ सय ३१, प्रदेश २ मा ३९, प्रदेश ३ मा २०१० जनामा डेंगुको संकमण फैलिएको छ ।

यस्तै, गण्डकी प्रदेशमा ८ सय ९६, प्रदेश ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ गरी ६१ जिल्लाका ३ हजार ८ सय ९९ जनामा डेंगु पोजिटिभ देखिएको महाशाखाले जनाएको छ ।

प्रदेश नं. ३ मा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने साउनदेखि यता २ हजार १० जना नयाँ बिरामी थपिएका छन् ।

त्यस्तै साउनदेखि यता प्रदेश नं. १ मा ८३१, प्रदेश नं.२ मा ३९, गण्डकी प्रदेशमा ८९६, प्रदेश नं. ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ मा डेंगुको संक्रमण देखिएको छ ।

चिकित्सकका अनुसार डेंगुको संक्रमण फैलिएपछि अहिले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षण गर्ने नागरिकको चाप बढ्दै गएको छ ।

के हो डेंगु ?
डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्ने गर्दछ । डेंगु मानिसबाट मानिसमा सिधै सर्दैन ।

यो प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा साना–साना स्थानहरुमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने स्थान, पानी जम्ने टिनका डब्बा, टायर, ड्रमहरु, फूलदानी र गमलालगायतका स्थानमा यसले फुल पार्दछ । वर्षातको आगमनसँगै जताततै पानी जम्न थालेपछि यो रोगको संक्रमण फैलिने गर्दछ ।

यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्।

२० देखि ३० डिग्रिसेल्सियस तापक्रम लामखुट्टेलाई उपयुक्त हुने हुँदा त्यस्तोमा यसले अत्यधिक फूल पार्ने सम्भावना हुने चिकित्सकहरू बताउँछन् ।

लक्षण र बच्ने उपाय
डेंगु लागेपछि देखिने लक्षणमा उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, छालामा रगत जमेको धब्वाहरु देखा पर्ने, नाक, गिँजा र शरीरका अन्य अंगबाट रगत बग्नेलगायतका चिन्ह र लक्षण देखापर्ने चिकित्सकहरु बताउँछन् ।

डेंगु ज्वरोबाट हुनसक्ने जटिलताबाट बच्न तुरुन्त स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य संस्थामा जानुको विकल्प छैन ।

लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो । त्यसका लागि दिउँसोको समयमा अनावश्यक रुपमा नाङ्गो जीउ बाहिर ननिस्कने, जमेको पानीमा यो जातको लामखुट्टले फुल पार्ने भएकाले आफू बस्ने वरिपरी फालिएका खाली बोटल, अलकत्रा तथा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायरलगायतमा पानी जम्न नदिने, पानीट्यांकीमा लामखुट्टे बस्न नदिने, गमलामा पानी जम्न नदिने, भाँडामा पानी जम्न नदिइ घोप्ट्याएर राख्ने, लामखुट्टे टोकाइबाट बच्न मल्हम लगाउन चिकित्सकले सल्लाह दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित