आईजीपी खनालद्धारा काठमाडौं परिसर र अपराध महाशाखाको भवनको शिलान्यास

igp sarbendra khanal

  काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको आ–आफ्नै भवन बन्ने भएका छन् । आज आईजीपी सर्वेन्द्र खनालले काठमाडौं प्रहरीको भद्रकाली र महाशाखाको टेकुमा सुविधानसम्पन्न अत्याधुनिक भवनको शिलान्यास गरेका हुन् ।

२०७२ सालमा गएको भूकम्पबाट हनुमानढोकास्थित कार्यालय भवनमा क्षति पुगेपछि प्रहरीका दुई निकाय टेकुस्थित नेसनल साल्ट ट्रेडिङको जग्गामा सारिएका थिए ।

भूकम्प गएको ४ वर्षसम्म पनि राजधानी काठमाडौंकै प्रहरीहरु पालमुनि बसेर सेवा दिइरहेका छन् । तर, अब भने पालमुनीबाट भोग्नु परेको समस्याको समाधान हुने भएको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले सुविधासम्पन्न भवनबाट महाशाखाले अझै राम्रो काम गर्ने बताए । सरकारले महाशाखालाई हाल बसेकै ठाउँमा १० रोपनी जग्गा उपलब्ध गराएको छ ।

भूकम्प गएयता महाशाखाकै कार्यालय एउटा पार्टी प्यालेसमा पाल टाँगेर भइरहेको थियो । आईजीपी खनालकै पहलमा महाशाखाले मुहार फेर्न लागेको हो । खनाल आफैं पनि महाशाखाको प्रमुख भएर जाँदा सोही कार्यालयमा रहेर काम गरेका थिए ।

हाल प्रहरी बसेको टेकुको जग्गा नेशनल ट्रेडिङले नेपाल आयल निगमलाई बेचिसकेको छ । निगमले पटक–पटक पत्राचार गरेर प्रहरीलाई ठाउँ खाली गर्न आग्रह गर्दै आएको थियो ।

उपत्यकामा हुने जघन्य प्रकृतिका अपराध–अनुसन्धान गर्ने अख्तियारी पाएको महाशाखासँग मुद्दा चलाउने अधिकार छैन भने पक्रउ परेकाहरुलाई पनि काठमाडौं परिसरमै थुनुवा राख्दै आएको छ । तर, अब बन्ने भवनमा भने अत्याधुनिक हिरासत कक्ष पनि हुने प्रमुख थापा बताउँछन् ।

त्यसैगरी नयाँ भवन निर्माण सकिएसँगै महाशाखालाई जघन्य प्रकृतिका अपराधमा मुद्दा चलाउने अख्तियारी दिने समेत तयारी गरिएको बुझिएको छ ।

यता, परिसरलाई भने सरकारले भद्रकालीमा रहेको नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा उपलब्ध गराएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार सोही जग्गामा भवन निर्माण थालिएको हो ।

जग्गा खरिदका लागि सरकारले काठमाडौं प्रहरी परिसरलाई एक अर्ब २० करोड र महशाखालाई ६७ करोड निकासा गरेको थियो ।

त्यसैगरी आजै प्रदर्शनीमार्गमा रहेको नेपाल पुलिस क्लबमा अत्याधुनिक फिटनेश क्लब निर्माणको पनि आईजीपी खनालले शिलान्यास गरेका छन् । जसका लागि महानगरीय प्रहरी घटना सहायता कार्यदल (नगर प्रहरी) को कार्यालयसहित कभड हल, ब्यारेक भवन, टेनिस कोर्ट र जलपान हल भत्काइने भएको छ ।

नयाँ संरचना २ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भवन निर्माणको लागत ३० करोड हुने अनुमान गरिएको छ भने यो आर्थिक वर्षमा १२ करोड रुपैयाँ निकासा भइसकेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित