राष्ट्रपति र प्रधानमन्त्रीसहित शिर्ष नेताहरुसँग चिनियाँ विदेशमन्त्रीको भेटघाट

wang yi 1

  काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका छन्।

विदेशमन्त्रीस्तरीय नेपाल–चीन संयन्त्र बैठकका लागि आइतबार नेपाल आएका विदेशमन्त्री यी आज पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र देउवासँग नक्सालस्थित मेरिअट होटलमा भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको जनाइएको छ ।

आज बिहान भक्तपुर घुमेर फर्किएका वाङले प्रचण्ड र देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। उनले सोमबार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। सोमबार नै दुई देशबीच मन्त्रीस्तरीय औपचारिक छलफल भएको थियो। नेपाल र चीनबीच तीनबुँदे समझदारीमा हस्ताक्षर भएको थियो।

चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको तयारीका लागि विदेशमन्त्रीको भ्रमणलाई लिएको छ।

सोमबार भएका भेटवार्ताहरुमा वाङले ‘राष्ट्रपतिको भ्रमण उपयुक्त समयमा हुने’ बताएका छन् । ‘हामीले यो भ्रमणको उपयुक्त समय हो भनेका छौं’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘राजनीतिक संक्रमण अन्त्य गरेर स्थिरतातर्फ उन्मुख भएको यो समयमा छिमेकी मुलुकहरुबाट हुने भ्रमणले हामीलाई भरोसा पनि मिल्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित