एअाईजी, डिअाईजी र एसएसपीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एघार जना अतिरिक्त महानिरीक्षकसहितका बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाल प्रहरीको मुख्यालय नक्सालमा शुक्रबार आयोजित विशेष कार्यक्रममा महानिरीक्षक अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षकदेखि निरीक्षकसम्म १ सय ८१ जनालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्, गृहमन्त्रीस्तर तथा सचिवस्तरको साउन १९ गतेको निर्णयअनुसार पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्म एवम् प्रशासन तथा प्राविधिकतर्फ समेतका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ११, प्रहरी नायव महानिरीक्षक १४, प्रहरी वरिष्ठ उपरीक्षक २४, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी उपरीक्षक ३४, प्राविधिक प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ८४, प्राविधिक प्रहरी नायव उपरीक्षक २ र प्राविधिक प्रहरी निरीक्षक १० जना रहेका छन् ।

पदोन्नती हुनेमध्ये प्रहरी नायव महानिरीक्षक १, प्रहरी बरिष्ठ उपरीक्षक २, प्रहरी उपरीक्षक १ र प्रहरी नायव उपरीक्षक ८ जना हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।प्रहरी महानिरीक्षक अर्यालले राष्ट्रपतिबाट २०७२ जेठ १५ देखि २०७३ जेठ १५ गतेसम्म गणतन्त्र दिवसका दिन घोषित बिभूषणहरूमध्ये अलंकार तथा पदक प्राप्त गर्ने १३ जना प्रहरी अधिकृतलाई पनि अलंकार तथा पदक प्रदान गर्नुभएको छ ।अलंकार तथा पदकबाट सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक २, प्रहरी निरीक्षक २, प्रहरी नायव निरीक्षक ४, प्रहरी सहायक निरीक्षक १, प्रहरी हवल्दार १ र प्रहरी जवान २ जना रहेका छन् ।कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले चलायमान संगठनमा हुनुपर्ने नियमित प्रशासनिक कार्यहरू लामो समयदेखि अवरुद्ध भई संगठन र सम्बन्धित सबैले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको बताउनु भएको छ ।उहाँले भन्नुभयो, ‘संगठनलाई चुस्त र प्रभावकारी बनाउन हुनुपर्ने आन्तरिक नियमित प्रक्रियाहरु समयमा नै हुनुपर्ने तथा योग्य, सक्षम र क्षमतावान प्रहरी कर्मचारीहरूले बढुवा तथा पुरस्कार लगायतका उचित सम्मान पाउने कुरालाई सुनिश्चित गर्दै निश्चित कार्यतालिका बनाएर यसलाई प्रणालीको रुपमा स्थापित गर्न सदैव प्रयत्नशील रहनेछु ।’

प्रतिक्रिया

सम्बन्धित