अन्तर्राष्ट्रिय स्तरमा प्रहरीको पहुँच बढाउँदै आईजीपी खनाल

interpolligp

 काठमाडौं । सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षक बनेपछि अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीको प्रभाव बढेको तथ्यहरुले देखाएका छन् । २०७४ चैतको अन्तिममा खनाल आईजीपी बनेपछि नेपाल प्रहरीले नेपाल बाहिर बसेर आपराधिक गतिविधि सञ्चालन गर्ने १७ जना नेपालीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी गरेको छ । जसमध्ये ११ जना सुन तस्करीमा, १ जना बन्यजन्तु अपराध तथा अन्य लागूऔषध तथा मानव बेचविखनमा संलग्न छन् । नेपालका मोष्ट वाण्टेडहरुलाई पछ्याउन र कानुनी दायारामा ल्याउन इन्टरपोल नेशनल सेन्ट्रल ब्यूरो(एनसीबी) ले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
इन्टरपोल ग्लोव म्यागेजिनको तेस्रो संस्करण अक्टोबर, २०१९ मा प्रकाशित लेखमा नेपाल प्रहरीको बढ्दो अन्तर्राष्ट्रिय प्रभावको बारेमा लेखिएको छ । उक्त म्यागजिनमा प्रकाशित भएको आईजीपी सर्वेन्द्र खनालको धारणा यस्तो छ :
  आजको चुनौतिपूर्ण र भूमण्डलीकृत आपराधिक परिवेशमा परम्परागत प्रहरी कारवाही तथा प्रणालीहरु सर्वसाधारण जनताहरुलाई सुरक्षित राख्न पर्याप्त हुने सक्ने अवस्थामा छैनन् । फरार अपराधिहरुलाई कानूनी दायरामा ल्याउन, अन्तर्राष्ट्रिय प्रहरी सहकार्य र समन्वयको महत्व सायदै यति अपरिहार्य भएको थियो होला । विज्ञान र प्रविधिको विकास तथा अन्तराष्ट्रिय सीमामा जुन सहजताका साथ मानिसहरु आवतजावत गर्दछन्, यस प्रगति सँगसँगै साईबर अपराध तथा मानव बेचविखनका फरार अपराधिहरुलाई पछ्याउन ज्यादै चुनौतिपूर्ण बन्दै गएको छ ।

हामीले हालसालै मात्र दुई वटा विशिष्टकृत प्रहरी ईकाईहरु स्थापना गरेका छौं । पहिलो, साईबर अपराध अनुसन्धानको निम्ति र अर्को मानव बेचविखन अनुसन्धानको निम्ति । यी दुई ब्यूरोहरुले हामीलाई अपराध रोकथाम गर्न र अपराधिहरुलाई पछ्याउन ठूलो सहयोग पु-याउनेछन् । यी दुवै ब्यूरोहरु इन्टरपोलले प्रदान गर्ने अन्तर्राष्ट्रिय सहकार्यका उपकरणहरुद्वारा सुशज्जित छन् ।

बढ्दो पहुँच, सशक्त सीमा र सुरक्षित समाज/राष्ट्र/मुलुक
नेपालका मोष्ट वाण्टेड फरार अपराधिहरुलाई पछ्याउन र कानूनी दायरामा ल्याउन काठमाडौं स्थित इन्टरपोल नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले अत्यन्त महत्वपूर्ण भुमिका निर्भाह गर्दछ । विश्व भरका अपराध अनुसन्धानकार्ता निकायहरुलाई नेपाल प्रहरीसँग जोड्ने काम नेपाल प्रहरीको एनसीबीले गर्दछ ।

 एनसीबीको पहुँच इन्टरपोलको आई–२४÷७ नेटवर्क र संजालसम्म विस्तार भएकै कारण हाम्रो प्रति आतकंवाद ईकाइ तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन सेवाले इन्टरपोलको अपराधिक डाटावेश र अभिलेख अध्ययन गरी तत्काल कुनै व्यक्ति फरार अपराधि वा सुरक्षाको दृष्टिकोणबाट खतरा हो वा होईन पत्ता लगाउन सक्दछ ।
गत वर्ष मात्र इन्टरपोल उपकरणको प्रयोग मार्फत एनसीबी नेपालको समन्वयमा सुन तस्करी, वन्यजन्तु अपराध, कर्तव्य ज्यान, जबरजस्ती करणी, मानव बेचविखन, ठगी जस्ता जघन्य अपराधमा संलग्न १० जना फरार अपराधिहरुलाई पक्राउ गर्न सफल भएको छ । राष्ट्रिय सुरक्षालाई सुदृढ गर्नुका साथै, मोष्ट वाण्टेड अपराधिहरुको पक्राउले राष्ट्रिय स्तरमा समेत नेपाल प्रहरीको छवि व्यवसायिक एवं उच्च बन्न पुगेको छ ।

मानव बेचविखनका मास्टरमाईण्ड पक्राउ
parsuram

 एनसीबी बैंङककसँगको सहकार्यमा इन्टरपोलले सन् २०१५ देखि खोज्दै आएको क्षेत्रीय मानव बेचविखन सञ्जालको नेतृत्वसमेत गरेको पर्शुराम गुरुङलाई नेपालको मानव बेचविखन ब्यूरोले पक्राउ गरेको छ । शंकास्पद व्यक्तिलाई थाई अध्यागमनले थाईल्याण्ड–लाओसको सीमामा पर्ने नाखोम पानोम–न्योन्यातमा पहिचान गरी निर्वासित गरे पश्चात् पक्राउ गरिएको थियो । उक्त अपराधिको पक्राउले विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानको सुरुवात समेत ग-यो । जसकारण आउँदो दिनहरुमासमेत अझ बढी पक्राउ तथा अनुसन्धान गरिने अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय सुन तस्कर पक्राउ
benu

 एनसीबी नेपाल र अबुधाबीको एकिकृत अनुसन्धानको फलस्वरुप हालसालै मात्र इन्टरपोल रेडनोटिसमासमेत रहेका सुन तस्करी गर्ने संगठित अपराधमा संलग्न बेनु श्रेष्ठलाई पक्राउ गरिएको छ । श्रेष्ठ सुन तस्करी गर्ने संजालको स्थापनालगायत अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र रकम असुली जस्ता आपराधिक कृयाकलापमा समेत वाण्टेड रहेका थिए ।

 संसारको जुनसुकै कुनामा लुकेर बसे तापनि, बहुराष्ट्रिय अपराध अनुसन्धान तथा फरार अपराधिहरुलाई कानूनी दायरामा ल्याउन इन्टरपोलका उपकरण तथा सेवाहरु कति महत्वपूर्ण हुने गर्दछन् भन्ने यी दुई वटा त साना उदाहरण मात्रै हुन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित