एनबी ग्रुपका माफियासँग मिलेर नेशनल हाइड्रो कब्जा गर्दै ढकाल

काठमाडौं । सञ्चालकहरूबीचको विवाद र विभिन्न लफडामा मुछिदै आएको नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड(एनएचसीएल)मा नयाँ तरंग पैदा हुन लागेको छ । वर्षौंदेखि हाइड्रो माफिया र बैंकिङ कसुरका अभियुक्तको कब्जामा पर्दै आएको एनएचसीएलको व्यवस्थापनको जिम्मा हाथवे समूहले लिन लागेपछि तरंग पैदा भएको हो ।

 चन्द्र ढकालले नेतृत्व गरेको हाथवे कम्पनीको अध्यक्षमा अम्बिकाप्रसाद पौडेल रहेका छन् । मंगलबार साँंझ काठमाडौंमा सम्पन्न ठूला शेयरधनीहरुको भेलामा भूमिगत भनिएका एनबी समूहका लक्ष्मीबहादुर श्रेष्ठलगायतका शेयरधनीले हाथवे समूहका अम्बिकाप्रसाद पौडेललाई कार्यभार सुम्पिने निर्णय गरेका थिए । बैंकिङ कसुरमा मुछिदै आएका श्रेष्ठ र आफूलाई स्वच्छ छविको दावी गर्ने ढकालबीच रहस्यमय साँठगाँठ भएपछि नेशनल हाइड्रोको आठ लाख कित्ता सेयर हाथवे मार्फत ढकालले किनिसकेका छन् भने एनबी इन्स्योरेन्सको पनि उनले सेयर खरिद गरिसकेका छन् ।

 एनबी ग्रुपका माफियाका रुपमा चिनिने लक्ष्मीबहादुर र जीतबहादुर श्रेष्ठले अझै पनि एनबी ग्रुप अन्तर्गतका कम्पनीमा कब्जा जमाउन खोजिरहेको स्रोतको भनाई छ । मंगलबारको भेलामा श्रेष्ठले कम्पनीलाई आफूहरूले राम्ररी सञ्चालन गर्न नसकेको स्वीकार्दै हाथवेलाई व्यवस्थापनको जिम्मा लिइदिन आग्रह गरेपछि पौडेलले नेसनल हाइड्रोपावरलाई यही साउन ३१ गते हुने साधारणसभापछि आफूहरूले ठिक ढंगले चलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

  सो कम्पनीमा सबैभन्दा धेरै शेयर भएको लक्ष्मीबहादुरको समूहले हाथवेले गर्ने व्यवस्थापनमा कुनै बाधा व्यवधान नहुने स्पष्ट पारेका थिए । साधारणसभामा हाथवे समूहलाई सञ्चालकमा निर्वाचित गर्न ५० लाख कित्ताभन्दा बढीको प्रोक्सी पनि सोही कार्यक्रममा संकलन भएको बताइएको छ । त्यस क्रममा पौडेलले हाथवे समूहको पुच्छर समातेर नेसनल हाइड्रोपावरका शेयरधनीले वैतरणी तर्न खोजेको हो भने त्यस्तो हुँदैन तर कम्पनीलाई राम्रो बनाउन सबैले इमानदारिताका साथ लाग्ने हो भने केही गर्न अवश्य सकिन्छ भन्दै हाथवे समूहले व्यवस्थापन लिने घोषणा गरेका थिए । उक्त भेलामा निर्मल प्रधान र नेसनल हाइड्रोका असन्तुष्ट सञ्चालकहरू प्रकाश रजौरे, रामबहादुर तामाङलगायतको सहभागिता थिएन । यूनाइटेड पोष्ट साप्ताहिकबाट ।

 

प्रतिक्रिया

सम्बन्धित