एनआरएनए मध्यपूर्वको संयोजकमा गुरुङ निर्विरोध हुँदै, उप संयोजकमा गोर्खाली र अर्याल

prabin gurung

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वका का लागि आज निर्वाचन हुँदै छ । अध्यक्षका प्रत्यासी एवम् वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले गैरआवासीय नेपाली संघको नेतृत्वका समूह नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको बौद्ध टुसालमा रहेको होटल ह्यातमा हुन लागेको निर्वाचनमा दुबै पक्ष यतिबेला भोट माग्न र सहमति खोज्न व्यस्त रहेका छन् ।

यसैबीच एनआरएनए मध्यपूर्वको संयोजकमा भने लगभग सहमति जुटिसकेको छ । संयोजकमा प्रविण गुरुङ र मनोज श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी दिए पनि आज उनीहरुबीच सहमति भएको हो । गोर्खालीले संयोजकमा गुरुङलाई सघाउने निर्णय लिएपछि गुरुङ निर्विरोध जस्तै बनेका छन् ।

त्यसैगरी मध्यपूर्व उपसंयोजकमा पनि गोर्खाली र जोन अर्याल निर्विरोध जस्तै बनेका छन् । गोर्खालीले गुरुङसँग हातेमालो गरेपछि गुरुङले पनि साथ दिन प्रतिवद्धता जनाइसकेका छन् ।

सहमतिका साथ अगाडि बढ्दा उम्मेदवार र सदस्यहरुमा समेत ‘पोजेटिभ म्यासेज’ जाने भन्दै गुरुङ र गोर्खालीले सहमति गरेको जनाएका छन् ।

यता, लोकतान्त्रिक समावेशी प्यानल बनाएका आचार्यको टिमबाट अमेरिकाका डा. केशव पौडेल, अस्ट्रेलियाका मन केसी, अमेरिकाकी रविना थापा र मध्यपूर्वबाट नरेन्द्र भाटले उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।

बेल्जियमकी जानकी गुरुङले महासचिवमा प्रतिस्पर्धा गर्ने भएकी छिन्। कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिने छन्। उनी अहिलेको कार्यसमितिका सहकोषाध्यक्ष हुन्।

अध्यक्षका उम्मेदवार पन्तले उपाध्यक्षमा अमेरिकाका सोनाम शेर्पा, अस्ट्रेलियाका धर्मराज अधिकारी, रुसकी सपिलाराज भण्डारी, अर्जुनकुमार श्रेष्ठ र रुसकै बद्री केसीलाई अघि सारेका छन्। पन्तले महासचिवमा बेलायतका डा. हेमराज शर्मालाई अघि सारेका छन्।

तर, शर्माले आफ्नो उम्मेदवारी स्वतन्त्र भनेका छन्। उनको टिमबाट ओमानका क्षेत्री डिबी क्षेत्रीले पनि उम्मेदवारी घोषणा गरेका थिए। तर, उनले आफ्नो उम्मेदवार स्थगित गरेको बताएका छन्।

कोषाध्यक्षमा पन्तको टिमबाट जापानका महेश श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन्। अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत, मध्यपूर्व र युरोपबाट आएका प्रतिनिधिहरु मात्रै होइन, यस पटक पूर्व केन्द्रीय अध्यक्षहरुले पनि आफ्ना उम्मेदवार अघि सारेका छन्।

पूर्वअध्यक्ष जीवा लामिछानेले अध्यक्षमा कुमार पन्तलाई समर्थन गरेका छन्। अध्यक्षका प्रत्यासी आचार्यलाई पूर्वअध्यक्षहरु देवमान हिराचन र शेष घलेको साथ छ। वर्तमान अध्यक्ष भवन भट्टको समर्थन पनि आचार्यलाई नै रहेको छ।

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा.उपेन्द्र महतोले भने राजनीतिक दलहरुको हस्तक्षेप भएको उल्लेख गर्दै सम्मेलन नै बहिस्कार गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित