चितवन पुगेर पार्टीका गतिविधिप्रति यसरी आक्रोश पोखे प्रचण्डले

prachanda chitwan

   चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र क्यान्सरको लक्षण देखा परेको भन्दै पार्टीका गतिविधिहरु प्रति असन्तोष प्रकट गरेका छन् ।

जिल्ला कार्य समिति चितवनले आज भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष दाहालले भने–‘पार्टीमा क्यान्सर नै नलागेको तर धुलो मैलो बढेको, ग्याष्ट्रिक र अलिअलि अल्सर लाइसकेको छ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरे । देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको उनको भनाई थियो ।

त्यस्ता प्रतिगामीहरुलाई पार्टीभित्रकै केही तत्वहरुले जान–अञ्जानमा साथ दिएको बताउँदै उनले भने–‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन् । धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहँदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।’

अध्यक्ष दाहालको यो भनाईले रवि लामिछाने समर्थकको आन्दोलन, ज्ञानेन्द्र शाहीको अभियान र कुटपिट तथा निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा समर्थक उम्मेदवार पराजयतर्फ संकेत गरेको बुझिन्छ ।

आत्महत्याहत्या दुरुत्साहन मुद्दामा रवि लामिछाने पक्राउ परेपछि भएका प्रदर्शनमा अध्यक्ष दाहाल विरुद्ध भाषण र नारावाजी भए । त्यसै गरी ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको विरोधमा भन्दै गरेका कार्यक्रममा पनि दाहाल लक्षित टिप्पणी हुने गर्छ । जिल्लाको पेशागत संगठनको निर्वाचनमा नेकपा निकट व्यक्तिहरु पराजितसमेत भएका छन् ।

उनले हालै हुने गरेका चुनावमा कम्युनिष्ट पार्टीका मान्छेहरु आपसमा मिलेको नदेखिएको बताए । केही समयअघि निर्माण व्यवसायी संघ चितवनको कार्य समितिको निर्वाचनमा दाहालका आफन्त अध्यक्ष पदमा उठेका थिए । संघमा नेकपा समर्थकको बाहुल्य रहे पनि नेकपाले अध्यक्ष पद जित्न सकेन ।

उनले भने–‘मैले आज भोलि भएका चुनावको कुरा गर्दै छु । मिलेको देख्या छैन । बरु एकले अर्कालाई कसरी टाट्नोमा पार्ने, कसरी एकले अर्कालाई तेजोबध गर्ने भने जस्तो देखिन्छ ।’

उनले चीनका राष्ट्रपतिसँग भएको भेटघाटको प्रशंग निकाल्दै भने–‘सीले आफ्नो पार्टीमा करोडौं पार्टी सदस्यहरु भएको र सवैले पार्टीको निर्णय शिरोपर गर्छन भन्नु भयो । उहाँले कतै हामीलाई आलोचना गरेको पो हो कि झै लाग्यो । हाम्रोमा त पार्टीको अनुशासनभन्दा पनि गुटको अनुशान मान्ने प्रवृत्ति हावी छ ।’ पार्टीमा क्यान्सर नै नलागेको हुँदा सुधारको सम्भावना भने रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित