ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको श्रद्धापूर्वक पूजा गरी लक्ष्मी पूजा मनाईदैं

laxmi puja

laxmi puja

  काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो महान् पर्व यमपञ्चक अर्थात तिहारको दोस्रो दिन आज आइतबार कुकुर तिहार र लक्ष्मी पूजा परेको छ ।

आज बिहान घरघरमा कुकुरको पूजा गरी साँझ लक्ष्मीपूजा गरिँदै छ। प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट औंसीमा लक्ष्मीपूजा गर्नुपने शास्त्रीय विधान भए पनि यस वर्ष तिथि घटबढका कारण आइतबार साँझ नै लक्ष्मीपूजा गरिने भएको हो।

आज कुकुरको पूजा गरी कुकुरलाई टीकामाला लगाइदिएर मीठामीठा पक्वान्न खुवाउने चलन रहेको छ।

त्यसैगरी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको श्रद्धापूर्वक पूजा गर्नाले वर्षभर लक्ष्मीको बास हुन्छ भन्ने मान्यता रहेको छ।

त्यसैले आज बिहानै घर सफासुग्घर र लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई बोलाइन्छ। विशेषगरी घरका झ्यालढोका, कोठा, ढुकुटी,सँघार, कौसी, अटाली र भर्याङलगायत स्थानमा दीपावली गरिन्छ।

महालक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने ठाउँसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।

पाइलैपिच्छे माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ। दीपावलीपछि पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, जनाइसुपाडी, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।


लक्ष्मीपूजा गरेपछि महिला दिदीबहिनी भेला भई समूहमा भैलो खेल्छन्। कात्तिक कृष्ण चतुर्दशी, औंसी र कात्तिक शुक्ल प्रतिपदाका दिन भगवान् विष्णुबाट स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले मागेर यी तीन दिन राज्य सञ्चालन गरेकाले बलिराजाले पठाएको भन्दै भैलो र देउसी खेली माग्ने चलन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित