डिस्चार्ज गर्ने भनिएपनि प्रधानमन्त्रीको आज पुनः डायलाइसिस गर्ने तयारी

kp sharma oli_1

  काठमाडौं । गोप्य रुपमा बुधबार राती धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा डायलाइसिस गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पुनः अर्को पटक डायलाइसिस गर्ने तयारी भइरहेको बुझिएको छ ।

सामान्य स्वास्थ्य चेकजाँचका लागि भनेर बुधबार अस्पताल पुर्याइएको भए पनि प्रधानमन्त्री ओलीलाई बुधबार आईसीयूमा राखेर गोप्य रूपमा पहिलो डायलाइसिस गरिएको थियो । तर, यसबारे अस्पताल र बालुवाटारले सूचना लुकाउँदै आएको छ ।

बुधबारको डायलाइसिसबाट अपेक्षित सुधार नदेखिएको भन्दै आज अस्पतामा भर्ना गरेर पुनः डायलाइसिस गर्ने तयारी भइरहेको अस्पताल स्रोतको दावी छ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचारप्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो।

विज्ञप्तिमा भनिएको छ,‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ। सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ ।’

तर, आज पुनः प्रधानमन्त्री ओलीलाई भर्ना गरेर डायलाइसिस गर्नु पर्ने अवस्था देखिएपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी नगराइएको भन्दै चौतर्फी रुपमा विरोध शुरु भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित