नक्सा परिवर्तन गरेर धरहरा बनाउँदै टेलिकम

काठमाडौं : नेपाल टेलिकमले निर्माणाधिन अवस्थामा रहेको धरहराको सञ्चालन र ब्यवस्थापन गर्ने प्रस्ताव गरेको छ । टेलिकमले २०७२ सालको महाभूकम्पमा ढलेको धरहरा पुनर्निर्माणपछि ३० वर्ष आफूले नै सञ्चालन र ब्यवस्थापन गर्ने प्रस्ताव गरेको हो । झण्डै ८ अर्ब लगानीमा बन्ने धरहराभित्र केही क्षेत्र ब्यवसायिक प्रयोजनमा पनि लगाउन पाउनुपर्ने माग टेलिकमले गरेको छ । धरहरामा घुम्न आउनेहरुबाट शुल्क उठाएर मात्रै सञ्चालन खर्च ब्यवस्थापन नहुने भन्दै टेलिकमले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसामू पुरातात्विक पक्षलाई असर नपर्ने गरी ब्यवसायिक क्षेत्र निर्धारण गर्न प्रस्ताव गरेको हो । यता, पुरातत्व विभागले भने पुरातात्विक महत्वलाई जोड दिंदै धरहरा र आसपासको क्षेत्रको डिजाइन तयार गर्दा ब्यवसायिक प्रयोजनका लागि क्षेत्र निर्धारण गरेको छैन । तरपनि टेलिकमले भने अहिले गोश्वारा हुलाक, टक्सार विभाग लगायतसँग लिइएको जग्गातर्फको थोरै भागलाई ब्यापारिक प्रयोजनमा पनि प्रयोग गर्न प्रस्ताव गरेको हो । साथै उसले ३० वर्षसम्म सञ्चालन र ब्यवस्थापन गरेर फेरि धरहराको सञ्चालनको जिम्मा सरकारलाई नै फिर्ता गर्ने गरी निर्णय हुनुपर्ने अडान राखेको छ । पुनर्निर्माण प्राधिकरणमा सोमबार बसेको बैठकमा टेलिकमको माग बमोजिम एकपटक फेरि नक्सामा समान्य हेरफेर गर्ने सहमति भएको छ । साथै विवादहरु छिटो टुंग्याएर निर्माणमा अघि बढ्न विभाग र टेलिकमको ध्यानाकर्षण गराएको छ । विनाशकारी भूकम्पले भत्किएको धधरहरालाई स्मारकसहित आकर्षक पार्कका रुपमा रुपमा विकास गर्ने गरी नक्सा तयार भइसकेको छ । जसअनुसार भाँचिएको धरहराको ठूटोलाई जस्ताको तस्तै संरक्षण गरिनेछ भने त्यसकै अगाडि नयाँ धरहरा ठड्याइनेछ । पुरातत्व विभागले तयार गरेको नक्सा टेलिकमले पाइसकेको छ । त्यही नक्सामा ब्यापारिक प्रयोजनको क्षेत्र छुट्याएर सामान्य हेरफेर गर्न प्रस्ताव गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । यो विवाद सुल्झिएपछि टेलिकमले धरहरा पुननिर्माणका लागि ग्लोबल टेण्डर गर्नेछ । धरहरा निर्माणका लागि ‘मेरो धरहरा म आफै बनाउँछु’ अभियानमार्फत ९ करोड संकलन गरिएको छ । तर, यो रकम अपुग भएपछि नेपाल टेलिकमले लगानी गर्ने भएको हो ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले धरहराको सञ्चालनको अवधि ३० वर्षको लागि मागिएको भएपनि मन्त्रालयस्तरबाट अन्तिम निर्णय नआएको बताइन् । ‘यो विषयमा निर्णय हुनासाथ निर्माणको प्रक्रिया अघि बढ्छ’ वैद्यले भनिन्,‘यसबारे पर्यटन मन्त्रालय र सञ्चार मन्त्रालयबीच पनि समझदारी बन्नुपर्छ । सबै विषय टुंगिनासाथ निर्माणको थालनी हुन्छ ।’ अहिले ८ रोपनीमा रहेको धरहरा नयाँ संरचनामा बन्दा ४२ रोपनीमा फैलिनेछ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । सरकारले अब धरहरा ११ तलाको बनाउने निश्चित भएको छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुनेछ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सिमित भएको थियो । धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । आकस्मिक अवस्थाका लागि भर्‍याङको पनि ब्यवस्था गरिनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । यो धरहरा बनाउन करीव २ अर्ब ८० करोड देखि ३ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । निर्माण सुरु भएको तीन वर्ष्भित्र धरहरा निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । अहिले धरहराले ओगटेको ७ रोपनी जग्गासहित वैदेशिक हुलाक कार्यालय र टक्सार विभागको ३५ रोपनी जग्गा मिलाएर सुविधायुक्त धरहरा बनाउन लागेको छ । धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ । बेसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुनेछ । धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहराको भित्र हुने अठारौं तलामा मिनी थिएटर बनाइने छ । थिएटर १७ जना क्षमताको हुने छ । जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो देखाइने छ । २ सय ४५ फिट अग्लो धरहराको टपमा सिसाले घेरेको ‘भ्यू डेक’ हुनेछ, जहाँबाट काठमाडौं अवलोकन गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित