डिएसपीलाई खसी नदिंदा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ता रिहाइकाे माग गर्दै तरुण दलद्धारा बाँके बन्द

banke

   नेपालगञ्ज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराउँदा जिल्लाभरको जनजीवन प्रभावित बनेको छ ।

आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा बन्द आह्वान गरेको तरुण दल बाँके जिल्ला समितिका नेता कार्यकर्ताहरुले जिल्लाभर सवारी साधन चल्न दिएका छैनन् । जसका कारण कतिपय यात्रुहरु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् ।

हतियारसहित पक्राउ परेको भनिएका नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहलाई रिहा गर्न माग गर्दै तरुण दलले बन्द आह्वान गरेको हो ।

प्रहरीले उनको साथबाट हतियार बरामद भएको भने पनि तरुण दलले भने त्यो हतियार प्रहरीकै भएको र आफ्ना कार्यकर्ताहरुलाई फसाउने झूठो आरोप लगाइएको दाबी गर्दै आएको छ ।

तरुण दलको नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहसहित राघव शाह, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगरलाई कोहलपुरका डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले यही कात्तिक १४ गते बाँकेको जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते रिसोर्टबाट पक्राउ गरेको थियो ।

रिसोर्टको पूर्वतर्फ पार्किङ गरिराखेको बा १८ च ४२११ नम्बरको कारको बायाँतर्फको सिटमा फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली बरामद भएको दाबी प्रहरीको छ ।

पक्राउ परेका शाहको रिहाइ नहुँदासम्म अनिश्चितकालीन बन्द गर्ने तरुण दल बाँकेले जनाएको छ ।

बन्दले कोहलपुर, नेपालगन्जको चोकहरु प्रभावित भएका छन् । कोहलपुर हुँदै काठमाडौंबाट नेपालगन्ज आउने रात्रीबस चप्परगौडीमा रोकिएका छन् । २० मिनेटको अवधिमा नेपालगञ्ज पुगिने भएपनि काठमाडौंका यात्रु कोहलपुरमै अलमल पर्न बाध्य छन् । चोकचोकमा झन्डा राखेर यातायातमा सञ्चालनमा रोक लगाइएको छ ।

यद्यपी डिएसपी शाहीले दशैको बेला खसी मागेको अडियो सार्वजनिक भइरकेको छ । त्यसैले पनि तरुण दलका नेताहरुले दशैंको बेला खसी नदिएको रिसमा फसाएको आरोप लगाउ“दै आएका छन् ।

सोही अडियो र गाडीभित्र पेस्तोल मिलाउँदै गरेको भिडियो सार्वजनिक भएपछि डिएसपी शाही विवादमा तानिएका छन् । उनीमाथि प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरीले छुट्टा छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित