​एपीसी नै खरिद गर्न नसकेपछि प्रहरीको मिसन गुम्यो

काठमाडौं । आम्र्ड पुलिस क्यारियर(एपीसी) लगायतका आवश्यक बन्दोबस्तीका सामान खरिद गर्न नसक्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीको १/१ वटा एफपीयू शान्ति मिसन गुम्ने भएको छ । राष्ट्रसंघले दुवै प्रहरीलाई १/१ वटा एफपीयू मिसन दिने र त्यसका लागि आवश्यक एक तिहाई सामग्री खरिदका लागि निर्देशन दिएको थियो । राष्ट्रसंघीय टिम मंसिरमा सामानहरु निरीक्षणका लागि आएको थियो । तर पर्याप्त समान खरिद गर्न नसकेपछि उनीहरुले मिसन दिन आनाकानी गरेका हुन् । दुबै प्रहरीले एपीसी खरिद सहमित माग्दै गृह मन्त्रालयमा गत वर्ष नै स्वीकृति मागेको थियो । तर गृहले सहमति नदिंदा खरिद प्रक्रिया अघि लम्बिएको हो । सोही कारण दुवै प्रहरीले नयाँ एफपीयु पाउने सम्भावना टरेको छ । दुवै प्रहरीले एपीसी बाहेक गाडी लगायत अन्य बन्दोबस्तीका सामग्री खरिद गरेका थिए । गत वर्ष भदौको दोस्रो साता नेपालमा भ्रमणमा आएका राष्ट्रसंघका उपमहासचिव अतुल खरेले नेपाललाई दुई वटा एफपीयू मिसन दिन लागेको जानकारी गराएका थिए । त्यसभन्दा अघि नै राष्ट्रसंघले एक तिहाई सामग्री खरिदका लागि निर्देशन दिएको थियो । सुरुमा राष्ट्रसंघले मिसनका लागि आवश्यक सबै सामग्री खरिद गर्न निर्देशन दिएपछि सबै सामान किन्न कठिन हुने बताए पनि एक तिहाई किन्न निर्देशन दिइएको थियो । तर एफपीयू मिसनका लागि आवश्यक एपीसी नै खरिद गर्न नसकेपछि प्रहरीको महत्वपूर्ण अवसर गुमेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको २/२ वटा एफपीयू मिसन छन् । नेपाल प्रहरीको हाइटी र सुडान तथा सशस्त्र प्रहरीको दक्षिण सुडानमा २ वटा एफपीयू मिसन छन् । एक एफपीयू मिसनमा करिब एक सय ४० प्रहरी जाने गर्दछन् । एक वर्ष उक्त मिसनमा काम गर्दा १२ देखि १५ लाख रुपैयाँ आम्दानी हुने भएकाले शान्ति मिसन प्रहरी जागिरको आकर्षक अवसर बन्दै आएको छ । दृष्‍टिमा खबर छ

प्रतिक्रिया

सम्बन्धित