ओलीसँग खटपट भएपछि दिल्लीको शरणमा यादव

upendraa

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपट परेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक नयाँदिल्ली पुगेका छन् । मन्त्री यादव अचानक नयाँदिल्ली पुगेपछि अनेक थरी अड्कलबाजी हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयको औषधी व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी दिल्ली गएका हुन् ।

 सो कार्यक्रममा उपसचिवस्तरको अधिकारी जाँदा पनि हुने भएकोले उपप्रधानमन्त्री समेत रहेका मन्त्री यादव किन गए होलान् भन्ने चर्चा सर्वत्र चलेको छ । उक्त कार्यक्रमको अवधि तीन दिनमात्र रहने भएपनि यादव एक सातासम्म नयाँदिल्लीमै रहने बताइएको छ ।

 उनको भ्रमणलाई राजनीतिक रुपबाट हेर्न थालिएको छ । मन्त्री यादव यति बेला राजनीतिक रुपमा चुनौतीको चाङमा छन् । पार्टीको हालै सम्पन्न संघीय परिषद् र केन्द्रीय समिति बैठकले सरकारमा रहिरहने वा फिर्ता हुने भन्ने सवालमा निर्णय गर्ने जिम्मेवारी पदाधिकारीहरूलाई नै दिएको छ ।

 पदाधिकारी बैठक नै नबसालेर मन्त्री यादव नयाँदिल्ली पुगेका हुन् । यादव नयाँदिल्लीमा राजनीतिक भेटघाटको प्रयासमा रहेको स्रोतले जनाएको छ । उनले व्यक्तिगत सम्पर्कको आधारमा नयाँदिल्लीमा सत्तारूढ भाजपा नेताहरूसंग भेटघाटको प्रयास गरिरहेका छन् ।

 सत्तारूढ भाजपाका नेताहरू मन्त्री यादवसहित समाजवादी पार्टीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराईप्रति अझै सशंकित भएका छन् । भारतको जम्मू–कश्मीरमा हटाइएको धारा ३७० प्रति नेपालमा सबैभन्दा पहिले विरोध गर्नेमा समाजवादी पार्टी नै थियो । समाजवादीका अध्यक्ष भट्टराईले पटक–पटक ट्वीट गरेर विरोध जनाएका थिए । अहिले भारतले जारी गरेको नक्शामा समाजवादी पार्टीका विद्यार्थी संगठनले सबैभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए ।

 भारतीय दूतावास अगाडि भारतको नक्शा जलाउनेदेखि लिएर मोदीको फोटोमा जुता चप्पलले हानेर विरोध प्रदर्शन गर्ने समाजवादी पार्टी नै रहेको सूचना राखेर लैनचौरले यादवलाई चेतावनी दिएको छ ।

 समाजवादी पार्टीको पछिल्लो गतिविधिबारे अवगत रहेका भाजपाका शीर्ष नेतृत्वले यादवमाथि पटक्कै विश्वास गरेका छैनन् । यस्तै क्रियाकलापबारे सफाई दिन र आफू भारत विरोधी नभएको विश्वास दिलाउन यादव भारत भ्रमणमा गएका हुन् ।

 पछिल्लो पटक समाजवादी पार्टी भारतभन्दा पनि चीन तिर ढल्केको जानकारहरूले बताउँदै आएका छन् । चिनियाँ दूतावासको दबाबमा आफ्ना सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गर्नु र पाकिस्तानी दूतावासद्वारा आयोजित भारत विरोधी कार्यक्रममा आफ्ना केन्द्रीय सदस्य रेखा यादवलाई पठाएर समर्थन गरेको समाचार बाहिरिएपछि भारतीय संस्थापन पक्ष मन्त्री यादवसंग निकै चिढिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित