मौन अवधि शुरु हुनु अगाडि नेताहरुलाई भ्याइनभ्याई

nirbachan aayog

  काठमाडौं । आउँदो १४ गते हुन लागेको उपनिर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।

त्यसैले मौन अविधको अन्तिम समयसम्म उम्मेद्वारहरु मतदातालाई आफ्नो पक्षमा पार्ने कसरतमा छन्।

बिभिन्न कारणले रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यहाँ २२ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी प्रदेशसभाका लागि भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा क्रमशः १९, १० र १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

आज को कहाँ जाँदैछन् ?
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी दौडधुपमा लागेका छन् । यतिबेला उनलाई भ्याइनभ्याई छ ।

हिलो प्रदेश नम्बर २ पुगेका अध्यक्ष दाहालले चुनाव प्रचारको अन्तिम दिन तीनवटा सभालाई सम्बोधन गर्दैछन्।

बुधबार उनी अन्तिम प्रचारका क्रममा पोखरा, धरान र भक्तपुरका कार्यक्रममा जाँदैछन्। कास्कीमा प्रतिनिधिसभा तथा भक्तपुर प्रदेशसभा र धरानमा उपनगरपालिकामा उपनिर्वाचन हुँदैछ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका कांग्रेसका केही नेताहरुले धरान उपमहानगरको चुनावी सभालाई सम्बोधन गर्नेछन्। देउवा यसअघि कास्की, भक्तपुर, बागलुङ र दाङ पुगिसका छन्।

सत्ता साझेदार दल समाजवादीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार नै दाङ पुगिसकेका छन्। दाङमा समाजवादीको चुनावी सभा हुँदैछ।

त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नेताहरु उपनिर्वाचन हुने जिल्ला दौडमा छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५२ पदमा उपनिर्वाचन हुँदैछ।

त्यसैगरी साझ र विवेकशिल पार्टी पनि चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित