प्रहरी र सेनाकै नक्कली कागजात बनाउने तीन जना पक्राउ

documents

  काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नेपाली सेना र प्रहरीको नक्कली कागजात बनाउने तीन जनालाई पक्राउ गरेको छ ।

सिआईवीले प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

सिआईबीका अनुसार पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेका छन् ।

सुर्खेती र दवाडी फोटो स्टुडियो सञ्चालक हुन् । सुर्खेतीले सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो सञ्चालन गर्छन् भने दवाडीले बसुन्धरामा दुवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गरेका छन् । उनीहरुलाई फोटो स्टुडियोबाट नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

सुर्खेतीको साथबाट प्रहरीले सशस्त्र प्रहरी बलको विशेष कार्यदल गण हलचोकको स्पेसल टाक फोर्स, सुरक्षा तालिम, तालिम, हतियार तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको ४ वटा प्रमाणपत्र बरामद गरेको छ ।

त्यस्तै जोरपाटीको चामुन्डा माविको मार्कसिट, रिदी माविको चारित्रिक प्रमाणपत्र अस्फोडेल पब्लिक स्कुल, माइलस्टोन इन्टरनेशनल कलेजको शैक्षिक प्रमाणपत्र विभिन्न व्यक्तिको राहदानी नेपाली सेनाको सिफारिसपत्र बरामद गरेको छ ।

त्यसैगरी दवाडीको साथबाट पुलिस रिपोर्ट, प्लस टुको ट्रान्सकिप्ट, माइग्रेसन सर्टिफिकेट, शान्ति विद्यागृह विद्या गृह उच्च मावि लैनचौरको खाली सर्टिफिकेट बरामद गरेको छ ।

हाल सामाखुशी बस्ने ओखलढुंगाका तोलांगीलाई प्रहरीले गोंगबु टाउन प्लानिङबाट पक्राउ गरेको हो । उनको साथबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र कालिमाटीको सिफारिस पत्र, महानगरीय प्रहरी वृत्तको खाली लेटरप्याड, जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी भएको नागरिकता, तनहुँबाट जारी भएको नागरिकता, आन्तरिक राजस्व कार्यालयको स्थायी लेखा नम्बरको प्रमाणपत्र बरामद गरेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित