सागको दशरथ रंगशालामा भव्य समारोहबीच उद्घाटन

sage

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को आइतबार साँझ दशरथ रंगशालामा भव्य समारोहबीच उद्घाटन गरेकी छन् ।
राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो ।
समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताए । उनले भने, ‘यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो ।’

मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्मा, सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले साग प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्व र तयारीबारे जानकारी दिएका थिए ।
समारोहमा सात हजार ५०० को संख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ ।
समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालकोे नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइने कार्यक्रम रहेको छ । मुलुकका सातै प्रदेश पु¥याएर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो ।
काठमाडौं, पोखरा र जनकपुरमा आजदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ । तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने जानकारी दिए ।
सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।
सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलंकाका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित