अख्तियारको निर्देशनपछि पद्म नर्सिङमाथि छानविन गर्दै काउन्सिल

CIAA and CTEVT

  यदुनाथ बञ्जारा
पोखरा । सञ्चालकहरुकै बद्मासिका कारण दिन प्रतिदिन धराप बन्दै गएको पद्मनर्सिङ कलेजमा फेरि अर्को लफडा आइपरेको छ । स्वास्थ्य शिक्षाका कार्यक्रम पढाउने पद्मनर्सिङ कलेजको वेथिति दिनानुदिन बढ्दै गएको छ । चिकित्सा शिक्षा सम्वन्धि ऐन जारी भएर कार्यान्वयनमा आइसक्दा पनि उक्त कलेजको विकृति घट्नुको सट्टा बढेर गएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) को आफ्नै मापदण्ड छ ।

नर्सिङ कलेज चलाउन सबैभन्दा पहिला अस्पताल विधि सम्मत चलेको, सम्पूर्ण मापदण्ड पूरा गरी सरकारलाई कर तिरेको, कर चुक्ता प्रमाण पत्र लिएको, अस्पताल भवन भूकम्प प्रतिरोधीलगायतका प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ । तर, यी कुनै पनि प्रकृया पूरा नगरेको अस्पताल पद्म नर्सिङ होमकै नाममा सीटीइभीटीले पिसिएल नर्सिङको भर्ना गर्न कर अफ लिस्टबाट नतिजा पठाएपछि नर्सिङ शिक्षालाई थप विवादित र चलखेलको केन्द्र बनाएको खुल्न आएको छ ।

४ महिना अगाडि नै विक्रीको माइनुट गरेर रिजनल हस्पिटललाई जिम्मा लगाइसकेको भएपनि रिजनलको प्रकृया, पूर्वाधार र वेड अकुपेन्सी नपुग्ने भएपछि रिजनल हस्पिटलका सञ्चालकहरुले सीटीइभीटीका स्तर निर्धारण महाशाखा प्रमुख जिवनारायण काफ्लेसँगको सेटिङमा पुरानै कलेज पद्म नर्सिङ होम स्कूल अफ नर्सिङकै नाममा भर्ना गर्न नतिजा पठाएको थियो । मंसिर ११ गते अपरान्ह सीटीइभीटी गण्डकी प्रदेशको नाममा नतिजा प्रकाशन भएपछि नर्सिङ कलेज सञ्चालन सम्वन्धमा अनियमितताको अर्को रहस्य खुलेको हो ।

एक पछि अर्को गर्दै पद्म नर्सिङ कलेजमा विवाद बढेपछि केही समय अघि मापदण्ड, कानूनी रित प्रकृयालगायत केहि पु¥याउन नसकेको भन्दै कलेजका अल्पमत शेयर सञ्चालकले नचलाउने निर्णयको माइनुट गराएर सञ्चालकमध्यकै एक जगत खड्का (जो रिजनल हस्पिटल चलाउँछन्) लाई विक्री गरेका थिए ।

तर, विडम्वना रिजनल आफै अपुरो मापदण्ड, न्यून वेड अकुपेन्सी ५० शैया मात्रको अस्पताललाई विक्री गर्ने कार्य आफैमा गैह्रकानूनी कार्य सिद्ध हुन पुग्यो । सीटीइभीटीले गत असोज १७ गते रिजनलको नाममा भर्ना अनुमती दिन नसके पनि मिलाएर चलाउने र पैसा कमाउने नीति वमोजिम विक्री भइसकेको निर्णय गरेको पद्म नर्सिङकै नाममा भर्ना प्रकृया अगाडि बढाउन सूचना निकाल्यो ।

विवादको घेरामा रहेको नर्सिङ कलेजलाई विद्यार्थीको भविष्य माथि नै खेलवाड गर्ने गरी भर्ना अनुमती दिन सीटीइभीटीले नर्सिङ काउन्सिलको राय परामर्श समेतलाई लत्याएर एकलौटी निर्णय गरेको छ । पद्म नर्सिङ कलेज खरिदको टुंगो लगाएका रिजनल कलेजका सञ्चालकहरुले कानूनी प्रकृया पूरा गर्न छोडेर राजनीतिक दल, मन्त्रालय धाएर भर्ना अनुमती दिलाइीदन दवाव र प्रभावमा पारेर सीटीइभीटीले गैह्रकानूनी बाटोवाट भर्ना अनुमती र नतिजा समेत पठाएको छ ।

त्यसपछि जसरी पनि नर्सिङ कलेज चलाउने लक्षका साथ सीटीइभीटी र नर्सिङ काउन्सिललाई मनाउन रिजनलले विभिन्न शक्ति केन्द्र धाएर थुप्रै प्रयास ग¥यो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेपछि रिजनल पुनः अर्को समस्यामा फसेको हो ।

अस्पताल स्रोतका अनुसार रिजनल हस्पिटलका सञ्चालकले पिसिएल नर्सिङ प्रथम वर्षमा ११ जनाको भर्ना लिएको तथ्य हामीलाई प्राप्त भएको छ भने दोस्रो र तेस्रो वर्षका विद्यार्थी समेतको भर्ना लिसकेको तर वैंकको खाता भने नखोलिएको बताइएको छ । कलेज प्रशासनले सहकारीमा रोश गुरुङ र जगत खड्काको नाममा खाता खोलेर आर्थिक र लेखा कानून विपरित कारोवार भइरहेको जानकारी आएको छ ।

नर्सिङ कलेजहरु नियमन गर्ने उद्देश्यले सरकारले गठन गरेको नर्सिङ काउन्सिल र कार्यक्रम चलाउने निकाय सीटीइभीटीकीच असमझदारी हुँदा रिजनलले त्यसको प्रत्यक्ष फाइदा उठाइरहेको छ । सीटीइभीटीका स्तर निर्धारण माहाशाखा प्रमुख स्वयम् सदस्य रहने नर्सिङ काउन्सिलको मिति २०७६ भाद्र २५ गते को वैठकको निर्णय समेतलाई चुनौती दिएर सीटीइभीटीले २०७६ असोज १७ गते भर्ना अनुमती र २०७६ मंसिर ११ गते प्रकाशन गरेको विद्यार्थी भर्ना सम्वन्धि नतिजा थप विवादित बनेको हो ।

नेपाल नर्सिङ काउन्सिलले २०७६ असोज २ गते सीटीइभीटीको स्तर निर्धारण महाशाखाका निर्देशकलाई सम्वोधन गरी पठाएको पत्रमा अस्पताल परिवर्तन गर्ने सम्वन्धमा पद्म नर्सिङ होम स्कूल अफ नर्सिङ कलेज नविकरण नगरेको व्यहोरा उल्लेख गर्दै कलेज नविकरण भएपछि मात्र परामर्श दिने २०७६/५/२५ को परिषद् वैठक को निर्णय खुलाएको छ । उक्त पत्रले पनि कलेज नै नविकरण नभएको किटान भएको छ ।

कलेज नै नविकरण नभएको अवस्थामा सीटीइभीटीले के को आधारमा कसरी भर्ना अनुमती र विद्यार्थीको नतिजा निकाल्यो भन्ने विषय थप रहस्यमय बनेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरु नै यसमा मोटो आर्थिक चलखेल भएको आशंका गर्छन् । यस अघि पनि सीटीइभीटीले समयमै छानविन नगर्दा भक्तपुरकै चक्रवती हवी नर्सिङ कलेजका विद्यार्थीहरु एक वर्ष पछि परिक्षा दिनबाट वञ्चित पारिएका थिए त्यसबाट पनि चेत नखुलेको सीटीइभीटीबाट अब विद्यार्थीहरुले के अपेक्षा गर्ने ?

त्यसो त न्यूनतम मापदण्ड पनि पूरा नभएको नर्सिङ कलेजलाई मापदण्ड पूरा भएको प्रतिवेदन दिने, २ प्रतिशत वेड अकुपेन्सी रहेको रिजनल हस्पिटललाई ६३ प्रतिशत अकुपेन्सी छ भनेर प्रतिवेदन दिने नर्सिङ काउन्सिलका वोर्ड सदस्यहरुको स्थलगत नीरिक्षण प्रतिवेदनमा भएको मिलेमतोका बारेमा हामीले समाचार प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले छानविनको लागि सकृयता बढाएको छ ।

अनुगमन नीरिक्षणमा जाने जिम्मेवार वोर्ड सदस्यहरुबाट अस्वभाविक प्रतिवेदन लगाएर हस्पिटल परिवर्तन गर्ने र कलेज विक्री गर्ने योजना बारे समाचार बाहिर आएपछि आयोगले नर्सिङ काउन्सिललाई सत्य तथ्य छानविन गरी कारवाहीको जानकारी दिन निर्देशन दिएसँगै नर्सिङ काउन्सिलका तीन जना बोर्ड सदस्य सकुन्तला प्रजापती, मन्दिरा वन्त र जिता वरालको टोली पोखरा आएर सम्वन्धित सबै पक्षसँग सोधपुछ, अस्पताल र कलेजको स्थलगत नीरिक्षण गरेर दुई दिन पछि काठमाडौं फर्किएको स्रोतको दावी छ ।

पछिल्लो अनुगमन टोलीले लक्ष्मी तामाङ सहितको अघिल्लो नीरिक्षण टोलीले गरेको नीरिक्षणमा उठेका मिलेमतोका प्रश्नका बारेमा पनि जाँचबुझ गरेको स्रोतको भनाई छ । आयोगले नर्सिङ कलेजका सम्वन्धमा उठेका आवाज, आशंका र मिलेमतोलाई चिर्न विशेष सकृयता देखाएको छ । काउन्सिलका वोर्ड सदस्यहरुको कमजोरी र मिलेमतोका कारण नर्सिङ शिक्षामा आर्थिक चलखेल बढेको वारे चिन्ता व्यक्त गरेको छ ।

नर्सिङ काउन्सिलका दिग्गज कहलिएका वोर्ड सदस्यहरु सकुन्तला प्रजापती, जिता वराल र मन्दिरा वन्तको छानविन कार्यदलले पद्म नर्सिङ होम स्कुल अफ नर्सिङको स्वामित्व विवाद, रिजनललाई विक्री गर्ने चलखेल र न्यूनतम मापदण्डलगायतका विषयमा स्वतन्त्र प्रतिवेदन दिन सक्ने अपेक्षा गरिएको छ ।

छानविन टोलीले पद्म नर्सिङ कलेजको नामको भर्ना नै रद्द गर्ने निचोडमा पुग्न सक्ने बुझिएको छ । दोस्रो र तेस्रा वर्षका विद्यार्थीहरुको क्लिनिकल अभ्यासको लागि समेत अन्य अस्पतालको विकल्प खोज्ने अवस्था आउन सक्ने अस्पताल स्रोतको भनाई छ ।

त्यसो त अख्तियारले सुक्ष्म छानविन गरी कारवाही गर्न निर्देशन दिएपछि काउन्सिलले छानविन थालेको छ भने सीटीइभीटी पनि आफ्नो गल्ती ढाकछोप गर्न भर्ना प्रक्रिया नै रद्द गराउन लागि परेको छ । नर्सिङ काउन्सिलले यस अघि नै पद्मनर्सिङ कलेजको शेयर स्वामित्व विवाद नटुंगिएसम्म विद्यार्थी भर्ना र कलेज सञ्चालन अनुमती दिन नसकिने पत्राचर गरिसकेको छ ।

अख्तियार र काउन्सिल नै पछि लागेपछि मापदण्ड पुर्याउन छोडेर कलेज चलाउन खोज्ने रिजनल हस्पिटलका सञ्चालक जगत खड्का, रोश गुरुङ र पोखरा टेक्निकल हेल्थ साइन्स एडेकेमीका सञ्चालन टंक अधिकारीको समूह यतिबेला प्रदेश सरकारसँग रोइलो गर्न पुगेको छ । केही दिन अघि उनीहरुले मुख्यमन्त्री कार्यालयमा र सामाजिक विकास मन्त्रालय पुगेर कलेज चलाउन पाउँ भन्दै रोइलो गरेको समाचार आइसकेका छन् ।

सीटीइभीटी यतिबेला सामाजिक विकास मन्त्रालयले दिएको भर्ना लिन अनुमती दिनु भन्ने आदेश पत्र देखाएर पन्छिने दाउमा लागेको छ । मन्त्रालयले दिएको उक्त पत्र खड्का, गुरुङ र अधिकारीले नै सीटीइभीटी प्रदेश कार्यालयसम्म पु¥याएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको विषयमा मन्त्रालयले हतारमा आदेश दिएर नर्सिङ जस्तो संवेदनशिल प्राविधिक विषयमा मापदण्ड नपु¥याई प्रदेश सरकारले कलेज चलाउने निर्णय दिन मिल्छ ? प्रदेशको स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माको कार्यदलले गरेको छानविन स्वतन्त्र र निस्पक्ष छ ? र पद्मलाई दिएको भर्ना अनुमतीले रिजनलले भर्ना लिएर पैसा उठाउन अनि कर छल्न संकलित विद्यार्थीको भर्ना शुल्क बैंकमा खाता नखोली सहकारीमा राख्न मिल्छ ? भन्ने जस्ता प्रश्नमाथि पनि अख्तियारले भित्रि रुपमा छानविन गरिरहेको बुझिएको छ ।

रिजनल कलेजको मापदण्ड, वेड संख्या विरामीको चाप केहि पनि पुग्दैन । स्वास्थ्य महाशाखालाई पठाएको डाटा भन्दा नक्कली विरामी चाप संख्यालाई मिलेमतोमा सदर गराउने प्रयास अब हुने छानविन पछि स्वतःवाहिरिने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित